
कोरोना भाइरसको कारण अहिले मुलुकले लकडाउनको समस्या सामना गरिरहेको छ । यस्तो अवस्थामा पनि सेवाग्राहीहरुलाई सम्भव भएसम्म उत्कृष्ट सेवा प्रवाहमा लागिपरेका छन् केही संस्थाहरु । वित्तीय क्षेत्र मार्फत आफ्ना सदस्यहरुलाई उत्कृष्ट सेवा प्रवाह गर्ने कार्यमा हाम्रो सगरमाथा बहुउद्धेश्यीय सहकारी संस्था निकै सफल देखिएको छ । विषम परिस्थितिमा आर्थिक अभावले पार्न सक्ने कठिनतालाई लक्षित गरी यस संस्थाले अहिले घरदैलो सेवा सञ्चालन गरिरहेको छ ।
लकडाउनको अवधिमा आफूहरुले विषम परिस्थितिको कारण सेवाग्राहीलाई परेको समस्यालाई लक्षित गरी अहिले सम्म करिब ९ सय घरमा पुगेर प्रति सदस्य ५ हजार रकम सम्म उपलब्ध गराई सेवा प्रवाह गरिरहेको र यो कार्यक्रमलाई लकडाउन अवधिभर निरन्तरता दिने संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपीनाथ घिमिरेले सेतोघर डट कम सँगको कुराकानीमा बताउनुभएको छ ।
हाल कुपण्डोलमा मुख्य कार्यालय रहेको र १९ ओटा सेवा केन्द्र सहित ठूलो सदस्य सञ्जाल भएको यस सहकारीले उपलब्ध गराएको प्रभावकारी घरदैलो सेवाको कारण सेवाग्राहीहरु निकै खुसी छन् । विषम परिस्थितिलाई लक्षित गरी सेवा प्रवाहलाई परिष्कृत रुपमा सञ्चालनमा ल्याइएको बताइएको छ ।
यसरी सेवा प्रवाह गर्दा सदस्यहरुलाई अत्यावश्यक वस्तु खरिद र आकस्मिक स्वास्थ्य उपचारमा ठूलो राहत मिलेको छ । यसको अलावा सहकारीले आवश्यक पर्ने रकम सम्पर्क व्यक्तिमार्फत घरमै पुर्याउने व्यवस्था समेत मिलाएको छ । यसको अलावा संस्थाले प्रविधिको प्रगोगलाई समेत जोड दिँदै सेवा प्रवाह गरिरहेको समेत बताएको छ ।
कार्यालयमा सेवा लिनको लागि सेवाग्राहीको भीड बढ्न सक्ने र यसबाट सहजै सङ्क्रमण फैलिन सक्ने कुरालाई लक्षित गरी आफूहरुले घरदैलो सेवा प्रवाह गरेको घिमिरे बताउनुहुन्छ । 
यसको अलावा संस्थाले कोरोनाबाट बच्नको लागि सदस्यहरुलाई सचेत एवं सुरक्षित रहँदै सरसफाइमा ध्यान दिन समेत विशेष आग्रह गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपीनाथ घिमिरे यस संस्थाका सदस्यहरुको अलावा सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै सबैलाई आफ्नो मनोवल उच्च राख्दै घरमै बसेर गर्न सकिने कार्यहरुमा निरन्तरता दिन आग्रह गर्नुहुन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij