काठमाडौ । नेपालको जनसङ्ख्यालाई चाहिनेभन्दा वार्षिक सात हजार बढी स्टाफ नर्स उत्पादन हुने गरेका छन् ।
उत्पादन भएका नर्सको व्यवस्थापन गर्न नसक्दा स्वयम्सेवक ‘भोलेन्टियर’, रोजगारी र पेसागत सुरक्षालगायतका विभिन्न समस्या देखिँदै आएको गुनासो बढेको छ ।
स्वास्थ्यमन्त्री गगनकुमार थापाले नर्सका विद्यमान अवस्थाका बारेमा सुधार गर्न एक महिनाअघि वीर अस्पतालका प्रमुख अस्पताल नर्सिङ प्रशासक, नर्सिङ निर्देशक प्रा गोमादेवी निरौला श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेकी छन् ।
संयोजक श्रेष्ठले हालसम्म कति नर्स सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत छन् भन्ने तथ्याङ्क मन्त्रालयसँग पनि नहुँदा काममा समस्या परेको अनुभव सुनाइन् ।
“वार्षिक रुपमा ११७ नर्सिङ कलेजबाट सात हजार ६१० जना नयाँ नर्स उत्पादन भइरहेका छन्”, उनले भनिन्, ”तर उनीहरुको रोजगारी र व्यवस्थापन हुन नसक्दा गम्भीर समस्या देखा परेको छ ।”
उनले सरकारले आफूले बनाएको मापदण्डअनुसार सबै अस्पतालमा दरबन्दीअनुसार नर्स नियुक्त गर्ने हो भने एक तिहाइ नर्सको व्यवस्थापन गर्न सकिने बताइन् ।
नेपाल नर्सिङ परिषद्मा हालसम्म ६७ हजार ९०५ नर्स तथा अनमी दर्ता भएका छन् भने सरकारी स्वास्थ्य सेवामा २० हजार ४२३ जना मासिका, अनमी र नर्स कार्यरत रहेको २०७१ को स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
निजी अस्पतालमा कति नर्स छन् भन्ने यकिन तथ्याङ्क छैन । तर सन् २०१३ को नेपाल स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रम (एनएचएसएसपी) को तथ्याङ्कअनुसार तीन हजार ६८३ नर्स निजी अस्पतालमा कार्यरत रहेका छन् । उक्त सङ्ख्या बढी नै रहेको निर्देशक श्रेष्ठको भनाइ छ ।
नेपाल नर्सिङ सङ्घका सचिव राजकुमारी ज्ञवाली नर्सको आवश्यकता अत्यधिक हुँदाहुँदै पनि सरकारले राम्रो व्यवस्थापन गर्न नसक्दा बेरोजगारी समस्या बढेको बताउँछिन् ।
नर्सको पेसागत हकहित र सुरक्षाका लागि आवाज उठाउन २०१८ माघ १५ गते सङ्घको स्थापना भएको थियो । सोही समयदेखि नै नेपालले नर्सिङ दिवस मनाउँदै आएको छ ।
नर्स अभ्यस्त भएर नै काम गर्न दर्ता प्रमाणपत्र पाउने हुनाले भोलेन्टियर हटाउनुपर्ने, अध्ययन बिदा पाउनुपर्ने, वृत्तिविकासमा पनि सरकारले पर्याप्त सहयोग गर्नुपर्ने सचिव ज्ञवालीको माग छ ।
‘‘एउटा प्रमाण पत्र तहको नर्स तयार भइसक्दा छ लाख बढी रकम खर्च हुन्छ । सजिलै जागिर पाइन्न”, यस्तै स्टाफ नर्स रोशनी शर्मा भन्छिन्, ”भोलेन्टियर कति समय गर्ने भन्ने कुरा कतै उल्लेख छैन । अस्पतालमा भोलेन्टियर गरिरह्यो, वर्षौं बित्छ तर अस्पतालले रोजगारी दिने विषयमा सोच्दैन ।”
सङ्घले नर्सलाई परेका समस्याका बारेमा वकालत पनि गर्दै आएको छ । नर्सको बढ्दै गरेको सङ्ख्यालाई सरकारले व्यवस्थापन गर्न सकेमा बेरोजगारी र यसबाट उब्जाएका समस्या हल हुने सङ्घको भनाइ छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij