मड्रिड । रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ । बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा सेल्टा डि भिगोसँग २–२ को बराबरीमा रोकिएको रियल मड्रिड समग्रमा ४–३ को हारसहित प्रतियोगिताबाट बाहिरिएको हो ।
पहिलो लेगमा सेल्टा डि भिगोले रियल मड्रिडलाई २–१ ले हराएको थियो । अन्तिम चारमा पुग्नका लागि रियल मड्रियलाई जित अनिवार्य थियो भने सेल्टालाई बराबरी मात्रै भए पुग्ने थियो । रियलका लागि ४४ औं मिनेटमा डानिलोले गरेको आत्मघाती गोल निकै महंगो साबित भयो ।
डानिलोको आत्मघाती गोलबाट सेल्टाले पहिलो हाफमा १–० को अग्रता लियो । ६२ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडका लागि बराबरी गोल फर्काए । पाँच मिनेट बाँकी हुँदा घरेलु टोली सेल्टाका लागि ड्यानिएल वासले गोल गर्दै २–१ को अग्रता दिलाए । ९० औं मिनेटमा लुकास वाजक्वेजले रियल मड्रिडका लागि बराबरी गोल त फर्काए तर त्यो जितका लागि पर्याप्त भएन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij