२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

सुमार्गीको प्रश्न: राष्ट्रको इतिहास किन भयो वेवारिसे

सुमार्गीको प्रश्न: राष्ट्रको इतिहास किन भयो वेवारिसे

अजेयराज सुमार्गी
अक्ष्यक्ष
थाहा अध्ययन प्रतिष्ठान

नेपालमा अहिले सम्म दर्जनौं प्रधानमन्त्री परिवर्तन भइसके । तर मुलुकको अवस्था जहाँको तहीँ नै छ । मुलुकमा प्रधानमन्त्री मात्र परिवर्तन हुने तर एउटाले ल्याएको योजनाको कार्यान्वयन अर्कोले नगर्ने परिपाटीले यसरी कहिले सम्म चल्ला देश ? कसरी देश अघी जाला ? यो प्रश्नलाई वीर बलभद्र कुवँरको प्रसङ्ग सँग जोडेर हेरौं न ।

वलभद्रको वीरताले लाहुरे बन्ने अवसर खुल्याे ः

भीमसेन थापा, बलभद कुवँर, अमरसिंह थापा लगायतका वीरहरुको कारण अहिले हामी वीर गोर्खालीको रुपमा पहिचान बनाउन सकेका हौं । नेपाल अङ्ग्रेज युद्धको २४ बर्षको इतिहासकै कारण हामी अरु पहिचान बनाउन नसके पनि संसारमा वीर गोर्खे लाहुरे भएर बिक्न सक्ने भयौँ । त्यस बेला हामीले पुरुषार्थ देखाएका थियौं । वीरताको पुरुषार्थ । त्यसैकारण उनीहरुमा नेपालीहरुसँग लड्ने होइन, लड्न सकिँदो रहेछन, नेपालीहरुलाई किनेर आफ्नो बनाउन पाउन पाए हुन्थ्यो भन्ने भाव विकास भयो । नेपालीहरुलाई आफ्नै पक्षमा लिएर यिनीहरुलाई आफैं भित्र लडाउन पाए हुन्थ्यो भन्ने सोच उनीहरुमा आयो ।

यसरी शुरु भयो नेपालको अधोगति ः

त्यस समयमा नेपाली फौजलाई आफ्नो पक्षमा ल्याउन सकिने सहज र सरल माध्यम थियो सम्झौता । यसैकारण नेपाल र अङ्गेज बीच सन् १८२२ मा सुगौली सन्धी भयो । त्यहाँबाट नेपालको अधोगति शुरु भएको हो । त्यस समय देखि नेपाल प्रगति पथमा अघी बढ्न सकेन ।
नेपालको राज्य व्यवस्था अचम्मको छ । जनताहरु शोषित भएका छन् । थिचिएका छन् । यो कुरा सबैलाई थाहा छ । तर थाहा हुँदाहुँदै पनि कसैले पनि मुख खोल्दैनन् । त्यसको एउटै कारण छ, त्यो के भने भारतको विरोध गर्ने हो भने अर्को पटक आफ्नो पक्षमा राज्य सत्ता नआउला भन्ने डर । यस्तो अवस्था रहेको कारण हामी निकै बिडम्बनापुर्वक बाँचिरहेका छौं ।

बलभद्रको इतिहास खोतल्ने प्रयाशमा लाग्नु जरुरी ः

अहिलेको यस्तो कठिन परिस्थितिमा वीर बलभद्र कुवँरलाई बोक्नु भनेको असाध्यै दुस्साहसी काम हो । तैपनि तपाईंहरुको (सञ्चार कर्मीहरुको) विश्वास र भरोसामा नेपाली मूलका देहरादूनमा रहेका नेपालीहरुको भलो गर्न देहरादून, आसाम हुँदै टिस्टा सम्म पुगेर त्यहाँको इतिहास खोतल्ने, त्यस क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन पहल गर्ने र नेपाल भारतबीच सहकार्यमा काम अघी बढाउने साहस मैले गरेको छु ।

अहिले कतै हाम्रो मुलुक चिराचिरा त पर्ने होइन भन्ने सम्बन्धमा हामी सबैजना डराइ रहेका छौं । तर यसलाई रोक्नको निम्ति प्रतिरोध कसरी गर्ने ? संरक्षणको दियो कसरी बाल्ने ? संरक्षणको प्रकाश कसरी छर्ने ? भन्ने बारेमा स्पष्ट मार्ग भेटिएको छैन । यद्यपि सानो कोसिस गरौं न, भन्ने किसिमले मेरा बच्चाहरु, हाम्रा बच्चाहरु, अर्थात विद्यालयका विद्यार्थीहरुलाई मेची महाकालीबाट एउटा यात्राको रुपमा कम्तीमा १ पटक देहरादुन जानैपर्ने र त्यो वीरताको गाथालाई आफैंले अनुभुति गर्न सक्ने वातावरण मिलाउन हो भने आगामी दिनमा नेपाललाई कति सुन्दर बनाउन सकिएला ? फरक विचारको होनहार र कर्तव्य परायण वीर योद्धा नेपालमा फेरी पनि जन्माउन सकिएला कि ? यो कुरा देशले बुझ्नु पर्छ कि पर्दैन ?
तर यस्ता आदर्शका कुरा नेपालको अहिलेको सरकारले बुझ्दैन । किनकि यहाँ जस्तो राज्य व्यवस्था र शासन पद्धति आए पनि हामी बोल्दैनौं । जे कुरा भएपनि हामीमा सहन सक्ने सहनशिलता छ । यस्तो सहनशिलता कि भित्र जति नै पीडा भएपनि त्यो पीडा आफूमा नै सीमित होस् । हामी वास्तवमा प्राकृतिक रुपमा नै यस्ता त थिएनौं तर किन यस्ता भयौं त ?
हावाको दोष हो कि ? पानीको दोष पो हो कि ? घामको दोष पो हो कि ? यदि बलभद्रले तापेको हावा, पानी र घाम साथै हामीले पाएको हावा, पानी र घाम त्यही एउटै हो भने अहिले हामीमा आत्मा उत्सर्ग गर्ने हिम्मत किन आइरहेको छैन ? त्यही निष्क्रिय रहेकोे हिम्मत जगाउनको निम्ति हामीले सामाजिक रुपमा यस्तो सञ्जाल खडा गर्नुपर्यो, त्यो सञ्जालले वीर बलभद्र कुवँरले अङ्ग्रेज सँग लडेर वीरताको गाथा लेखाउन सफल भएका छन्, (शत्रु पक्षबाट शिलालेख गर्न सफल भएको ठाऊँ खलङ्गा) हो, त्यही खलङ्गा किल्लामा हरेक विद्यालयका विद्यार्थीहरुलाई १ पटक कम्तीमा १५ दिनको यात्राको प्याकेजमा देहरादुन अनि दुकिल्लामा पुर्याउनै पर्ने वातावरण बनाउने कामको शुरुवात गरौं न । आखिर कसले रोक्ला र ?
तर यो अवस्था कसरी सिर्जना गर्ने भन्ने कुरा निकै महत्वपुर्ण हुन जान्छ । यो कुरा मैले जुन भनिरहेको छु, मेरो मात्र एकल प्रयाशमा सम्भव छैन । यसको निम्ति तपाईं (सञ्चारकर्मी)को महत्वपुर्ण सहयोगको आवश्यकता छ ।
हामीले अङ्ग्रेजहरु सँग २४ बर्षको जुन युद्ध लडेका थियौं, त्यसमा संसारमा नदेखिने चमत्कार भएका छन् । भनिन्छ, जित्नेहरुको मात्र इतिहास लेखिन्छ । तर खलङ्गामा युद्ध किल्लाबाट बाहिरिएका बलभद्रको इतिहास पनि लेखिएको छ । आखिर किन होला ? किनभने ती हरुवा (अङ्ग्रेज)हरुले पनि जित्न सकेनछन् ।
मैले देहरादुनमा बनाइएको स्मारक राम्रो तवरले हेरेँ । सँगै जानुभएका अन्य व्यक्तित्वहरुलाई पनि ठीक तवरले हेर्न भनेको थिएँ कि कतै त्यसको उचाईमा तलमाथि छ कि ? होइन रहेछ, उचाइ एउटै छ । मैले उचाईमा केही फरक पाइन । स्मारक बनाउने क्रममा नेपाली बलभद्र कुवँर र जनरल जिलेस्पी दुवैको उचाई बराबर छ । यसरी हेर्दा पनि ती अङ्ग्रेजहरुले बेइमानी गरेका छैनन् । २०३ बर्ष पहिले कम्पनी खोलेर देश लुट्न आउनेहरुले पनि हाम्रो सम्मानलाई समान हैसियत प्रदान गरेका छन् । साथै बलभद्र कुवँरको अगाडि वीर भन्ने शब्द समेत थपिदिए । त्यस बाहेक उनीहरुले संसार नै जित्ने हिम्मत गरे । किनभने उनीहरु बेइमान थिएनन् । बेइमान त बरु हामी नै हुँदै गएका छौं । हाम्रो इमानमा कालो चोप लागेको छ । त्यसलाई कसरी पखाल्ने ?


त्यो यात्रा हो इतिहास सँग बलभद्र कुवँरलाई जोडेको । हामीले वीर बलभद्रको इतिहास खोतल्ने प्रयाशको शुरुवात गर्ने क्रममा शुरु देखि नै हामी विभिन्न अवरोधहरुसँग जुध्नुपर्छ, हामी माथि हिन्दुस्तान माथि जुध्ने प्रयाश हुने किसिमले आशंकाहरु आउन सक्छन् । अन्य विभिन्न समस्याहरु आउन सक्छन् । जुन हामीले सोचेका पनि छैनौं । हामी त्यसको प्रतिकार गर्नुपर्छ ।
हामी देहरादुनबाट फर्केर आउने क्रममा नयाँ दिल्लीमा हामीले लिएको उद्धेश्यबाट प्रभावित भएर भारतीय उच्च पदस्थ व्यक्तिहरुले हामी माथि निकै ठूलो सम्मान पनि प्रकट गरेका थिए । त्यहाँ मैले भनेको थिएँ कि भारतका प्रहरीहरुले देहरादूनको स्मारकमा पुगेर शपथ खाने प्रचलन बसाल्नु जरुरी छ । नेपाली सुरक्षाकर्मी पनि त्यहीँ गएर शपथ लिने वातावरण बनाऔं न ।
सन् १८१४ नोभेम्बर २७ को मितिमा नेपालीलाई अन्य माध्यमबाट जित्न नसके पछि पानीको स्रोत नै बन्द गरिएको कारण नोभेम्बर ३० तारिखमा किल्ला छोड्न बाध्य हुनुपर्यो ।

नयाँ इतिहासको शुरुवात ः

देहरादूनबाट निस्के पश्चात् पाकिस्तानको लाहोरमा गएर बलभद्र कुवँरले युद्ध गर्नुभयो । यसै समय पश्चात् हामीले नयाँ इतिहास रच्यौं । नेपालीहरु त्यसै समय पश्चात् लाहुरे बन्न पाए । त्यो भन्दा पहिले लाहुरे भनिँदैनथ्यो । यद्यपि अमर सिंह थापा नेपालबाट लाहौर गएका पहिलो व्यक्ति हुन् । उनी ब्रिटीसको बिरुद्ध लडे । त्यो लडाईंले नपुगेर मुस्लिमहरुसँग मुगल राज्यको सहकार्यमा युद्ध भयो । त्यहीँबाट नै मुग्लान जाने क्रमको शुरुवात भएको मानिन्छ । मुग्लानमा लड्दा पनि नेपालीहरु राष्ट्रको स्वाभिमानको निम्ति लडेका थिए । त्यति मात्र होइन त्यो लडाईं सिङ्गो भारतबर्ष जोगाउनको निम्ति लडिएको लडाईं पनि थियो ।
अहिले त्यो किल्लाको क्षेत्र सालका ५०-६० बर्षका रुखहरुको घना जङ्गल बनिसकेको छ । तर हामीले त्यहाँ अहिले किल्ला भेट्टाउन सकेनौं । मकवानपुरगडी र चिसापानीगडीमा किल्ला सुरक्षित छ । तर नालापानीमा भने किल्लाको कुनै नाम निसाना नै रहेनछ । तैपनि अबका दिनमा अभियान शुरु गरौं न त । केही आधारहरुलाई लिएर त्यहाँ एउटा किल्ला बनाऔं । त्यस क्षेत्रलाई अरु गर्न नसकिए पनि भारतको निम्ति पर्यटकीय क्षेत्र बनाउन त सकिन्छ नि । निकै ठूलो महत्व बोकेको यो इतिहास अहिले किन वेवारिसे छ । यसलाई बेबारिसे बन्न दिनु हुँदैन ।
हामीले इतिहास खोतल्दा भारतबाट मात्र सम्भव छैन । लडाईं लड्ने क्रममा बलभद्र कुवँर अफगानिस्तानमा गएर बित्नुभएको हो । यस्तो निकै ठूलो महत्व बोकेको यो इतिहास अहिले किन वेवारिसे भयो ? यस्तो अवस्थामा कलमलाई नै तरवार बनाएर चलाउन सक्ने पत्रकार, साहित्यकारहरु किन शान्त भएर बस्ने ? हामी यस अभयिानमा पनि लागौं । ताकि कुनै बिन्दूमा पुग्दा यो कुरा राज्यले पनि बुझोस् । यसको लागि जनता नै जगाउनु जरुरी छ । जनतालाई जगाउँ । यो अभियानलाई अघी बढाऊँ ।
यसमा जिम्मेवारी नेपाल सरकारको मात्र छैन । हामीले अफगानिस्तान सँग पनि कुरा गर्नुपर्छ । नेपाल र अफगानिस्तान बीचको सम्बन्ध जुन छ, त्यस सम्बन्धको आधारमा बलभद्र कुवँरको अन्त्य भएको ठाऊँमा पनि स्तम्भ खडा गरौं । आधुनिक हतियारको अगाडि खुकुरीबाट भएको युद्धलाई नभुलौं । इतिहास नबिर्सौं । इतिहासलाई अघी बढाउनको निम्ति हामीले नेपालमा पनि कोर टिम बनाउँनेछौं । देहरादुनमा पनि यस बारे छलफल गरेका छौं । समिति बनाउने काम अघी बढाएका छौं ।

अहिले हामी देहरादुन पुग्दा त्यहाँका हाम्रै नेपाली मूलका व्यक्तिहरुले हामीलाई आफ्नै घरको अभिभावकको रुपमा स्वागत सत्कार गरे । ती हाम्रो रगतको नाता भएका नेपाली मूलका बासिन्दाले जुन रुपले हामीलाई लिए, त्यो उनीहरुको भावना पनि बुझ्नुपर्छ । हामीले उनीहरुको मर्ममा समेत चोट पु¥याउनु हुन्न । आफ्नो भूभाग राजनीतिक कारणले अन्तै परेका कारण अहिले नेपाली हुन नपाएका ती त्यहाँका स्थानीयबासीहरु पनि हाम्रै हुन् । उनीहरुले हामीबाट धेरै कुराको अपेक्षा गरेका छन् । के हामी उनीहरुको निम्ति केही गर्नु जरुरी रहँदैन । यस्ता विभिन्न प्रश्नहरुको भारी बोकेर नै हाम्रो यात्रा सम्पन्न भयो ।

भारतसँग लड्दैनौं ः

हाम्रो भारत सँग लड्ने चाहना होइन । तर अहिले पनि नेपाल र भारत बीचको राजनीतिक तथा व्यावसायिक सम्बन्ध राम्रो हुन सकेको छैन । यसैकारण हामीले भारतबाट निकै ठूलो मार खेपिरहेका छौं । हाम्रा सैनिक भर्ती गर्ने काम बाहेक नेपालको हितको निम्ति भारतबाट कुनै ठूलो सहयोग भएको छैन । यस्तो अवस्थामा अबका दिनमा २ देशको सम्बन्धलाई नयाँ रुपले अघी लैजानु जरुरी छ ।
भारतका हरेक राष्ट्रिय स्वाधिनताका आन्दोलनमा पनि नेपाली सुरक्षाकर्मीले निकै ठूलो सहयोग पुर्याएका छन् । सोही योगदानको कदर भारतले पनि गर्नुपर्छ । सम्भव भए सम्म नेपाल र भारत एकआपसमा सँगसँगै अघी बढ्नुपर्छ । तर कुन हद सम्म सँगै हुने भन्ने कुरा पनि रहन्छ । तर हाम्रो देश नै भारतलाई सुम्पेर सँगै हिँड्ने काम भने कदापि गर्न सकिँदैन । राष्ट्रिय स्वाधिनताको मामिलामा हामीले सम्झौता गर्न सक्दैनौं ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij