
गण्डकी मेडिकल कलेजका दुई कर्मचारीबाट कास्की जिल्ला अदालतले जनही १७ लाख धरौटी लिएर तारेखमा छाडेको छ । ठगी मुद्दामा पक्राउ परेका दुई कर्मचारीलाई जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले सोमबार कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मासँग उक्त धरौटी मागको आदेश गरेको हो ।
सरकारले तोकेभन्दा बढी रकम असुलेर ठगी गरेको भन्दै कारवाहीको मागसहित विद्यार्थीले कलेज अध्यक्ष खुमा अर्यालसहित पदाधिकारी र कर्मचारी गरी ११ जनाविरुद्ध विभिन्न ५ जाहेरी दिएका थिए।
गण्डकी मेडिकल कलेजका विद्यार्थी र अस्पताल प्रशासनबीच २०७४ माघ १५ मा छलफल भइ चिकित्साशास्त्र अध्ययन संस्थानको नीति, निर्देशन तथा तोकिएको शुल्क लिने र बढी शुल्क लिएको भएमा फिर्ता गर्ने सहमति देखिएको आदेशमा छ।
सरकारले तोकेभन्दा बढी रकम असुलेर ठगी गरेको भन्दै कारवाहीको मागसहित विद्यार्थीले विभिन्न ५ जाहेरी दिएका थिए। ५ मध्ये ४ वटामा खनाल र शर्मालाई विपक्षी बनाइएको छ। जाहेरीमा मुलुकी ऐन र मुलुकी अपराध संहिताअनुसार कारवाही माग दाबी गरिएको थियो। मुलुकी ऐनको ठगी महलको ४ नम्बर अनुसार ५ वर्ष कैद र विगो भराइ बिगो बमोजिम जरिवाना माग गरिएको थियो भने अपराध संहिताको दफा २४९ अनुसार सात वर्षसम्म कैद र ७० हजार रूपैयासम्म जरिवाना मागिएको थियो। जाहेरीमा १ करोड ७३ लाख ५६ हजार ७ सय ८२ रूपैया कुल विगो कायम छ।