सुनसरी चतराधाममा यही चैत २३ गतेदेखि सुरु हुने ‘दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेला’को तयारी तीव्र पारिएको छ। प्रदेश १ सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीलाई जिम्मेवारी दिई मेलाको काम तीव्र पारिएको हो। महाकुम्भ मेलाका लागि आवश्यक तयारी गर्न प्रदेश सरकारले मन्त्री कार्कीलाई जिम्मेवारी तोकेर खटाइसकेको छ। शास्त्रीय प्रमाणका आधारमा हुन लागेको उक्त मेला एक महिनासम्म चल्नेछ।
मेलाका लागि अब एक साता मात्र बाँकी रहेकाले तीव्र रूपमा तयारी गर्ने मन्त्री कार्कीले बताए। ‘योजना बनाएर फटाफट काम गर्नुपर्ने अवस्था छ, पैसाको चिन्ता गर्नुपर्दैन,’ उनले भने, ‘सबैभन्दा महत्वपूर्ण प्रचारप्रसारलाई प्राथमिकतामा राखेर काम थालिनेछ।’ उनले प्रदेशका सबै स्थानीय तहलाई प्रदेश सरकारले नै सर्कुलर गरेर पोस्टर तथा होर्डिङ बोर्डसँगै अन्य प्रचारका काम गर्न लगाउने बताए। ‘स्वदेशी भक्तजनबाहेक विदेशी भक्तजनलाई आकर्षित गर्न पनि भारतीय सीमा क्षेत्रमा प्रचारात्मक कार्य तीव्र पारिनेछ,’ मन्त्री कार्कीले भने, ‘प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरेर कामलाई अघि बढाउनेछ।’ उनका अनुसार प्रदेश सरकारले अन्य ६ वटा प्रदेश सरकारका मुख्यमन्त्रीसँग पनि सहयोग गर्न आग्रह गरिसकेको छ। आजको नागरिक दैनिकबाट |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij