मुलुकमा विद्यमान सामाजिक, भाषिक तथा जातीय विविधतालाई कसरी सम्बोधन गर्ने ? भन्ने मुद्दामा सहमति जुट्न नसकेका कारण संविधान कार्यान्वयन प्रक्रिया अलमलमा परेको छ । सरसर्ती हेर्दा यो जटिलता दोस्रो जनआन्दोलनपछि उत्पन्न भएको जस्तो देखिए पनि मुलुकको राजनीति २००७ सालको क्रान्तिपछि यसै विषयको सेरोफेरोमा अलमलिएको पाइन्छ । तेस्रो विश्वका अधिकांश मुलुकहरूले २००७ सालको सेरोफेरोमै स्वतन्त्रता प्राप्त गरेका हुन् । कुनै मुलुकले उपनिवेशबाट स्वतन्त्रता प्राप्त गरे भने कुनै मुलुकले जहानियाँ शासनबाट स्वतन्त्रता प्राप्त गरेका थिए । जसमध्ये उत्तरको छिमेकी मुलुक चीनले जहानियाँ राजतन्त्रबाट, दक्षिणको छिमेकी मुलुक भारतले अंग्रेजको उपनिवेशबाट र नेपालले जहानियाँ राणा शासनबाट सँगसँगै छुटकरा पाएका हुन् ।
हामी र हाम्रा दुई छिमेकी मुलुक आधुनिक राजनीतिमा प्रवेश गरेको सँगसँगै जस्तो हो । राजतन्त्रको पतनपछि चीनमा केही समय सनयात्सेनको नेतृत्वमा प्रजातान्त्रिक शासन व्यवस्था अघि बढ्यो भने सन् १९४९ देखि माओत्सेतुङको नेतृत्वमा कम्युनिस्ट शासन व्यवस्था अघि बढ्यो । यसैगरी, छिमेकी मुलुक भारतले महात्मा गान्धीको नेतृत्वमा सन् १९४७ मा स्वतन्त्रता प्राप्त ग¥यो । त्यसबेलादेखि भारतमा लोकतान्त्रिक शासन व्यवस्था कायम रहँदै आएको छ । यस्तै, चीनमा सन् १९४९ देखि एकदलीय कम्युनिस्ट शासन व्यवस्था कायम रहँदै आएको छ । लोकतान्त्रिक शासन व्यवस्था र कम्युनिस्ट शासन व्यवस्था भनेको एक अर्काका विपरीत हुन् । तर कम्युनिस्ट शासन व्यवस्थाअन्तर्गत चीनले र लोकतान्त्रिक शासन व्यवस्थाअन्तर्गत भारतले हासिल गरेको आर्थिक उन्नति तथा प्रगति उत्साहजनक रूपमा अघि बढिरहेको छ ।
यतिबेला चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुकका रूपमा स्थापित भएको छ र महाशक्ति बन्नका लागि संयुक्त राज्य अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ । यसैगरी, छिमेकी राष्ट्र भारत विश्वको सातौं ठूलो अर्थतन्त्रका रूपमा स्थापित भएको छ । अब एक दुई वर्षमै तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुकका रूपमा भारत स्थापित हुने अनुमान गरिएको छ । मुलुकको आर्थिक उन्नति र प्रगतिका लागि राजनीतिक व्यवस्स्था साध्य नभएर साधन मात्रै हो भन्ने कुराको पुष्टि हाम्रै छिमेकी मुलुक चीन र भारतले गरिरहेका छन् । तर हामीले भने २००७ सालदेखि यताको करिब सात दशकको यो महŒवपूर्ण समय कस्तो खालको शासन व्यवस्था अपनाएर अघि बढ्ने भन्ने द्वन्द्वमै खेर फालेका छौं ।
राजनीतिक मुद्दाको ठाउँ जातीय मुद्दाले लिन थालेको छ । विडम्वना नै भन्नुपर्छ, जुन जाति तथा समुदाय अल्पसंख्यामा छन्, तिनै जाति तथा समुदायका अगुवा भन्नेहरूले जातीय नारा उठाएका छन् । यदि जातीय आधारमा राजनीति विभक्त भयो भने थोरै जनसंख्या भएको जातिले लाभ प्राप्त गर्ला कि धेरै जनसंख्या भएको जातिले लाभ प्राप्त गर्ला ?
कस्तो खालको शासन व्यवस्था स्थापना गर्ने भन्ने लडाइँमा हामी ६५ वर्ष भौंतारिइसकेका छौं । अझै कति वर्ष भौतारिनुपर्ने हो ? त्यसको ठेगान नभएको पुष्टि वर्तमान राजनीतिक तरलताले गरेको छ । चीन र भारत जस्ता ठूला मुलुकसँग तुलना नगर्दा पनि यो ६५ वर्षको अवधिमा हामीजस्तै साना मुलुक विकासका दृष्टिले सगरमाथाको चुचुरोमा पुगेका छन् भने हामी फेदीमै रुमलिरहेका छौं ।
१९५०–५३ को उत्तर कोरिया र दक्षिण कोरियाबीचको लडाइँमा २० लाख जनता गुमाएको दक्षिण कोरिया आज विश्वको १३औं ठूलो आर्थिक महाशक्ति बनेको छ । प्रतिव्यक्ति आय २२ हजार अमेरिकी डलर छ, जबकि नेपालीको प्रतिव्यक्ति आय सात सय मात्र छ । आजभन्दा करिब ४० वर्षअघि दक्षिण कोरियालाई नेपालले सहयोगस्वरूप चामल पठाएको इतिहास हामीसँग छ । नेपालको कृषि प्रविधि कोरियाले भिœयाएको थियो । जबकि कोरियामा धान पाक्न नौ महिना लाग्छ, हामीकहाँ तीन महिनामा धान पाक्छ । खेतीयोग्य जमिन कोरियामा भन्दा नेपालमा बढी छ, जनसंख्या नेपालमा भन्दा कोरियामा धेरै छ । तर कोरियाबाट खाद्यान्न सहयोग लिने अवस्थामा हामी पुगिसकेका छौं । उद्योगधन्दा तथा भौतिक विकासको सन्दर्भमा यतिबेला नेपाल र कोरियाबीच तुलना गर्ने हो भने आङ सिरिंग हुन्छ ।
कोरिया मात्रै होइन, केही दशकअघिसम्म सिंगापुर, मलेसिया, थाइल्यान्डलगायतका मुलुक नेपालभन्दा धेरै पछाडि थिए, तर ती मुलुकले विकासका हरेक आयाममा नेपाललाई धेरै नै पछाडि पारिसकेका छन् । तीन दशकअघि आर्थिक मन्दीका कारण दक्षिण कोरियाले जनतासँग हारगुहार मागेको थियो । जनताले आफूसँग भएको सुन, लगाएको गहना बैंकमा लाइन लागेर देशलाई दिए । र, मुलुक बचाए । हामी राज्यलाई दिने होइन, दोहन गर्न उच्च पद खोजिरहेका छौं । जबसम्म इमान्दारिता र श्रमप्रति विश्वास गर्ने अवस्था निर्माण हँुदैन, तबसम्म नेपालको समृद्धि काल्पनिक मात्र हुनेछन् भन्ने कुरा हाम्रा व्यवहारले देखाएकै छ ।
नेपालजस्तै भूपरिवेष्ठित अर्को मुलुक स्वीजरल्यान्ड हो । विकासका दृष्टिले सपनाको मुलुक भने पनि हुन्छ । विभिन्न जातजाति, भाषाभाषीबाट बनेको मुलुक स्वीजरल्यान्डको जनसंख्या लगभग एक करोड मात्र छ । विकासका लागि समुद्र नै आवस्यक छ भन्ने कुरा स्वीजरल्यान्डले गलत सावित गरेकै छ । र, सम्पन्नता भोगिरहेको सम्पन्न मुलुक ग्रिस यतिबेला आर्थिक मन्दीको चपेटामा छ । कुशल व्यवस्थापनको अभाव भयो भने कस्तोसम्म हुन्छ भन्ने कुरा ग्रिस मात्र होइन, अफ्रिकी मुलुक कंगो हेरे पनि पुग्छ । रिसोर्सका दृष्टिले संसारको नवौं नम्बरमा आउने यो देश मगन्ते बनेको उदाहरण हाम्रैसामु छ । प्रसिद्ध गणितिज्ञ पाइथगोरस, दार्शनिक प्लेटो, एरिस्टोटल जस्ता संसार प्रसिद्ध व्यक्तित्व जन्माएको ग्रिसका कर्मचारी हामीकहाँजस्तै यतिबेला हाजिर गरिदिएबापत राज्यबाट तलब लिन्छन्, जनताको काम गर्नु परे घुस माग्छन् ।
यही परिवेश, उन्नति, अवन्नतिका बीच हामी अझै कस्तो खालको राजनीतिक प्रणाली अपनाउने ? भन्ने विषयमा द्वन्द्व गरिरहेका छौं । यो द्वन्द्व छिट्टै व्यवस्थापन हुने संकेत देखिएको छैन । लोकतान्त्रिक शासन व्यवस्थाको पक्षमा कम्युनिस्टहरू समेत जुट्नुलाई सकारात्मक पक्ष मान्नु पर्छ । लोकतन्त्रले मात्रै असन्तुष्टि सम्बोधन हुँदैन, मुलुकमा रहेका हरेक तहतप्काले अपनत्व महसुस गर्ने विधि संविधानमा समावेश गर्नुपर्छ भन्ने अवधारणा जनआन्दोलन २०६२–२०६३ पछि अवलम्बन गरियो । मुलुकमा विद्यमान जातीय, भाषिक, सामाजिक विविधतालाई सम्बोधन गर्न समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चितता संविधानमार्फत गरियो । तर असन्तुष्टि अझै सेलाएको छैन । राजनीतिक मुद्दाको ठाउँ जातीय मुद्दाले लिन थालेको छ । विडम्बना नै भन्नुपर्छ, जुन जाति तथा समुदाय अल्पसंख्यामा छन्, तिनै जाति तथा समुदायका अगुवा भन्नेहरूले जातीय नारा उठाएका छन् । यदि जातीय आधारमा राजनीति विभक्त भयो भने थोरै जनसंख्या भएको जातिले लाभ प्राप्त गर्ला कि धेरै जनसंख्या भएको जातिले लाभ प्राप्त गर्ला ? निश्चय नै धेरै जनसंख्या भएको जातिले लाभ प्राप्त गर्छ । मुलुकमा खस जातिको जनसंख्या ३५ प्रतिशत छ, त्यसपछिको दोस्रो ठूलो जनसंख्या रहेको मगर जातिको ८ प्रतिशत छ । जातीय आधारमा राजनीतिक ध्रुवीकरण भयो भने के हुन्छ ? भन्ने उदाहरण यही तथ्यांक काफी छ । तर अल्पसंख्यक जातजातिभित्र एनजीओ, आईएनजीओ प्रवेश गरी जातीय नारा उरालिरहेका छन् । उनीहरूले यस्तो नारा किन उरालिरहेका छन् ? भन्ने सन्दर्भमा २०३३ सालमा राष्ट्रिय मेलमिलाप नीति लिएर फर्केका बीपी कोइराला र ऋषिकेश शाहबीचको छोटो संवाद यहाँनिर प्रासंगिक हुन्छ ।
बीपी – हिजोआज के गर्दै हुनुहुन्छ शाहजी ?
ऋषिकेश – तपाईले जस्तै मैले पनि राजालाई कमजोर पार्ने अभियान सुरु गर्दैछु ।
बीपी – कसरी कमजोर पार्दै हुनुहुन्छ राजालाई ?
ऋषिकेश – हाम्रो मुलुकमा मधेसी, जनजाति अन्यायमा परेका छन्, उनीहरू असन्तुष्ट छन्, त्यो असन्तुष्टिलाई राजाविरुद्ध आन्दोलनका रूपमा प्रकट गराउनका लागि संगठित गर्दैछु ।
बीपी – यस्तो अभियानले जातीय द्वन्द्व उत्पन्न हुँदैन ?
ऋषिकेश – जातीय द्वन्द्व उत्पन्न गराएरै राजालाई कमजोर बनाउने मेरो अभियान हो ।
बीपी – यदि कुनै शत्रु राष्ट्रले नेपालको सार्वभौमिकतालाई कमजोर बनाउन खोज्यो भने कुन विधि प्रयोग गर्ला ?
ऋषिकेश – निरुत्तर ।
बीपी – नेपालको सार्वभौमिकतालाई कमजोर गराउन शत्रु राष्ट्रले जुन विधि प्रयोग गर्छन्, त्यही विधि तपाईले प्रयोग गर्दै हुनुहुन्छ, किन ?
ऋषिकेश – बीपीबाबु, आज म अलि हतारमा छु, अहिले जान्छु, यसबारे पछि विस्तृतमा कुरा गरौंला ।
बीपीसँग निरुत्तर भएर फर्केका शाहले कालान्तरमा आफ्ना चेला डा.बाबुराम भट्टराईलाई माओवादीमा पठाएर ‘जनयुद्ध’ मार्फत यो फर्मुला प्रयोगमा ल्याए । यतिबेला मुुलुकले जे पीडा भोग्नुपरेको छ, त्यसको मुख्य जड भनेकै यही हो । माओवादीबाट आफ्नो मिसन पूरा गरेर फिर्ता भएका भट्टराई कुनै हातलमा पनि संविधान कार्यान्वयन हुन नदिने अभियानमा छन् । उनीमार्फत जुन जाति तथा समुदायलाई उचालिएको छ, त्यसको प्रतिउत्तरमा नेकपा एमालेले त्यो भन्दा ठूलो जनसंख्या भएको जाति तथा समुदायलाई प्रयोग गरेको छ । जसका कारण मुलुकको राजनीति जटिलतातर्फ धकेलिएको हो । समय छँदै सचेत बन्नु वेश ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij