
यहि महिनाको अन्तिमबाट सुरु हुने भारतको चुनावको पूर्व सन्ध्यामा भारतीय प्रधानमन्त्रीले फेरी अर्को ‘स्टन्ट’लाई निरन्तरता दिएका छन् | अगिल्लो चुनावताका सन् २०१४ मा चियावालाबाट प्रख्यात नरेन्द्र दामोदार दास मोदी (नरेन्द्र मोदीले) यसपटक फेरी फेरी ‘चौकीदार’अभियान चलाएका छन् | उनले आफ्नो ट्वीटर एकाउन्ट नै ‘चौकीदार नरेन्द्र मोदी’ बनाएका छन |
मोदीसँग भारतीय जनता पार्टीका नेताहरुले पनि आफूलाई चौकिदार लेख्न थालेका छन् । भाजपाका राष्ट्रिय अध्यक्ष अमित शाहले ट्विटर ह्यान्डलमा आफ्नो नाम ‘चौकीदार अमित शाह’ राख्दै भनेका छन्, ‘जसले स्वच्छतालाई संस्कार बनायो, उही चौकीदार हो ।’
यसअगाडि लोकसभा चुनावलाई मध्यनजर गरेर भाजपाले चुनाव प्रचारलाई गति दिने क्रममा ‘मै भी चौकीदार’ अभियान सुरु गरेको थियो । प्रधानमन्त्री मोदीले शनिबार आफ्नो ट्विटर ह्यान्डलमा एउटा भिडियो जारी गर्दै यो अभियानको सुरुवात गरेका थिए । उनले ३ मिनेट ४५ सेकेन्डको भिडियोसहितको ट्विटमा भनेका छन्, ‘तपाईंको यो चौकिदार राष्ट्रको सेवामा बलियोसँग उभिएको छ, तर म एक्लो छैन ।’
मोदीले भनेका छन् कि भारतको प्रगतिको लागि कठिन परिश्रम गरिरहेका सबै व्यक्ति चौकिदार हुन् । उनले विगतदेखि नै आफूलाई चौकीदार भन्ने गरेका छन् ।
मोदी भन्ने गर्छन्, ‘म देशको यस्तो चौकीदार हुँ जसले भ्रष्टाचारलाई अनुमति दिँदैन र आफूले पनि भ्रष्टाचार गर्दैन ।’
मोदीको यस भनाइलाई व्यंग्य गर्दा आम आदमी पार्टीकी एक सांसदले गत साता नेपालीलाई समेत मुछेर स्टाटस लेखेकी थिइन् ।
‘हामीलाई देश हाँक्ने नेता चाहिएको हो, चौकिदार त हामी नेपालबाटै ल्याउन सक्छौं,’ उनले ट्विटरमा लेखेकी थिइन् । यसमा नेपालीहरुले तीव्र आलोचना गरेपछि उनले सो ट्विट हटाएकी थिइन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij