
भारतमा झण्डै १५ वर्ष काम गरी फर्किएका दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ का ३० वर्षीय धनसिंह धामीको स्वास्थ्य परीक्षण गर्दा कालाजार भेटिएको दार्चुला जिल्ला अस्पतालले जनाएको छ ।
भारतको हिमाञ्चल प्रदेशको होटलमा काम गर्दै आउनुभएका धामी गत साउन महीनामा घर फर्किनुभएको थियो । शुरुमा कमलपित्तको लक्षण देखिएकाले घरमै बसेर वैद्यको सहयोगमा उपचार गराउँदै आउनुभएका उहाँको सो रोग निको नभएपछि जिल्ला अस्पतालमा उपचार गराउन आउँदा कालाजार भएको पाइएको चिकित्सक अनिल बडालले जानकारी दिनुभयो ।
रगत परीक्षण गर्दा कालाजार भएको प्रमाणित भएकाले उहाँलाई जिल्ला अस्पतालले औषधि दिएर थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी जान भनेको जनाइएको थियो ।
हिमाञ्चलमा कुक भएर काम गरेँ, धनसिंहधामीले भन्नुभयो, “भट्टामा तन्दुरी हाल्थे, स्वास्थ्यको ख्याल गरिएन् । आफू १५ वर्षको उमेर हुँदादेखि हिमाञ्चलमा बस्दै आएको र अहिले घर फर्किदा ज्वरो आउने र कमलपित्त हुनेजस्ता लक्षण देखिएको थियो ।”
गतवर्ष कालाजारका बढी बिरामी भेटिएका कारण क्षेत्रीय स्वास्थ्य निर्देशनालयले आवश्यक सामग्री उपलब्ध गराएको थियो । यो वर्ष अहिलेसम्म औषधिलगायत किट्स नपाइएको प्रयोगशालाका दीपक विष्टले बताउनुभयो ।
गतवर्ष महाकाली नगरपालिकाकै चार जनामा यो रोग देखा परेकामा एक जनाको ज्यान गएको थियो । कालाजार भेटिएपछि गतवर्ष क्षेत्रीय स्वास्थ्य निर्देशनालयको टोलीले जिल्लाका शङ्कास्पद व्यक्तिमा जाँच गरेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij