
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले आफ्नै सरकारको कार्यशैलीको आलोचना गरेका छन् ।
विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा शुक्रबार काठमाडौंमा गरिएको कार्यक्रममा उनले ‘नुन चोर्नेलाई थुन्ने र सुन चोर्नेलाई छाड्ने’ सरकारको व्यवहार आफूलाई चित्त नबुझेको बताए ।
उनले सरकारले कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने पनि बताए । उपभोक्ताको अधिकार संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको भन्दै मन्त्री यादवले उपभोक्ताको हितलाई ध्यानमा राखेर सरकारले नियमित बजार अनुगमनको व्यवस्था मिलाएको जानकारी दिए ।
उनले आफ्नो अधिकार संरक्षणका लागि उपभोक्ता आफैं जागरुक हुनुपर्नेमा पनि जोड दिए ।
उनले आफूले खरिद गर्ने सामानको मूल्य, गुणस्तर र परिमाण उचित भए-नभएको हेर्नपनि आग्रह गरे । मन्त्री यादवले उपभोक्ताको अधिकार कटौती भए सरकारले उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गर्ने स्पस्ट पारे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij