२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

पुलवामा विस्फोट गराउने समूहलाई कालोसूचीमा राख्न चीनले अस्वीकृत गरेको भन्दै भारतको असन्तुष्टि

पुलवामा विस्फोट गराउने समूहलाई कालोसूचीमा राख्न चीनले अस्वीकृत गरेको भन्दै भारतको असन्तुष्टि


एजेन्सी । भारतले पाकिस्तानमा आश्रय लिइरहेको लडाकू समूहका नेता मसूद अजहर र उनले नेतृत्व गरेको जैस–ए–मोहम्मद समूहलाई कालोसूचीमा राख्ने राष्ट्रसंघको प्रस्तावलाई चीनले अस्वीकृत गरेको भन्दै ‘निराशा’ व्यक्त गरेको छ।

यही समूहले फेब्रुअरी १४ मा भारत नियन्त्रित काश्मिरको पुलवामा विस्फोट गराउँदा ४० जना भारतीय सिपाहीको मृत्यु भएको थियो। यो घटना काश्मिरी व्यक्तिले गरेको बताइए पनि पाकिस्तानमा आश्रय लिएको जैस–ए–मोहम्मदले घटनाको जिम्मेवारी लिएको थियो।

उक्त घटनालगत्तै दुबै मुलुकबीच एकअर्काविरूद्ध हवाई आक्रमण र लाइन अफ कन्ट्रोल वारपार गोलाबारी भएको थियो।

काश्मिरको विवादलाई लिएर विगतमा दुई पटक भिषण युद्ध गरिसकेका यी दुई आणविक अस्त्र सम्पन्न मुलुकबीच अर्को युद्ध भड्किने खतरा बढेको थियो।

चीनले बुधबार बेलायत, फ्रान्स र संयुक्तराज्य अमेरिकाले मसूद अजहरलाई राष्ट्रसंघीय कालोसूचीमा राख्न अघि बढाएको प्रस्तावलाई स्थगन गरिदिएको थियो। मसूदमाथि विश्वव्यापी यात्रामा प्रतिबन्ध, सम्पत्ति रोक्का र हातहतियारमाथि प्रतिबन्ध लगाउने उक्त प्रस्तावमा उल्लेख थियो।

पाकिस्तानलाई आर्थिक, राजनीतिक तथा सामरिक मद्दत गरिरहेको चीनले अजहर माथिको प्रतिबन्धको प्रस्तावमाथि अध्ययन गर्न समय आवश्यक रहेको जनाएको थियो। चीनको उक्त अनुरोधसँगै प्रस्ताव करिब ९ महिनापछि धकेलिएको छ।

चीनको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चीनको कदमबाट भारत निराश भएको जनाएको छ। मन्त्रालयले भारतीय नागरिकमाथि नृशंश आक्रमणमा संलग्न आतङ्कवादी नेताहरूलाई कानुनी कठघरामा ल्याउन सबै सम्भाव्य उपायहरू खुलै राख्ने पनि स्पष्ट गरेको छ।

चीनले राष्ट्रसंघीय प्रतिबन्धसम्बन्धी समितिमा विगतका तीन वटा प्रयत्नलाई अवरूद्ध गरिसकेको छ। जैस–ए–मोहम्मदलाई सन् २००१ मै राष्ट्रसंघीय आतङ्कवादी सूचीमा राखिएको छ।

चीनको उक्त निर्णयप्रति भारतीय अखबार एवं अरु सञ्चार माध्यमले तिखो व्यङ्ग्य गरेका छन्। (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij