
लामो समय परेको हिउदे झरी र हिमपातले बाजुराको उत्तरपूर्वी क्षेत्रमा सवारी साधन नचल्दा दैनिक उपभोग्य बस्तुको अभाव भएको छ ।
बाजुराको सदरमुकाम मार्तडीदेखि उत्तरपूर्वी क्षेत्र कोल्टीसम्मको सडक खण्डमा पर्ने पोरखे क्षेत्रमा हिउँ जमेको र बाटो हिलाम्य हुँदा यातायातका साधान ओहोर–दोहार गर्न सकिरहेका छैनन् ।
गएको माघ ७ देखि हालसम्म १४ पटक भन्दा बढी समय परेको हिमपात संगैको झरीले सडक हिलाम्य हुँदा सवारी साधनहरु चल्न नसक्दा दैनिक उपभोग्य वस्तु खाना पकाउने एपीजी ग्याँस, दाल, चामल, तरकारी, डिजेल पेट्रोल, खाने तेल लगायतका सामग्रीको अभाव भएको र मूल्य समेत बृद्धि भएको स्थानिय उपभोक्ताले बताउने गरेका छन ।
हवाई यातायातबाट सामान ल्याउदा महंगो पर्ने र सडक यातायात सञ्चालनमा नहुँदा समस्या भइरहेको ब्यापारी सर्वदेव बोगटीले बताए । उनले भने, ‘दुई वटा नगरपालिकाको विचमा पर्ने मार्तडी–कोल्टी सडक खण्डको ४३ किलोमिटर सडक निमार्णमा दुवै नगरपालिकाले कुनै चासो दिएका छैनन, यसले गर्दा बाजुरा सहित हुम्ला र मुगुका स्थानियलाई समेत सास्ती भैरहेको छ ।’
हिलाम्य सडकका कारण सात दिनदेखि ट्याक्टरहरु पोरखेको जंगलमा फसेको र त्यही खाना पकाई खानु पर्ने अवस्था आएको ब्यापारी राजबहादुर कार्कीले गुनासो गरे । ‘यहाँ चामलको हाहाकार भै रहेको छ, उता ट्याक्टर विच जंगलमा फसेका छन्’, कार्कीले भने ।
अवरुद्ध सडकका कारण हाल बाजुराको कोल्टी बजारमा खाना पकाउने एलपीजी ग्याँस भरेको मात्र २२ देखि २५ सयसम्म पर्ने गरेको छ । पहिले सो ग्याँस १७ सय ५० मा पाउँथ्यो । त्यस्तै चालमको मूल्य करिव २ सय भन्दा बढी रुपैयाले बढेको छ भने तेल, तरकारी समेत किनेर खान सकिने अवस्था नभएको स्थानिय नन्दबहादुर भण्डारीले बताएका छन् । उनले तेल नआउदा बाटो निमार्णको काम समेत प्रभावित भएको र यसले कोल्टी पिलुचौर सडकको ट्याक खोल्नमा समस्या भै रहेको बताएका हुन् ।
उत्तरपूर्वी क्षेत्रमा दैनिक उपभोग्य बस्तुको अभाव भएपछि सामानको मूल्य आकाशियको आम उपभोक्ताको गुनासो छ । सवारी साधानहरु सहज रूपमा चल्न नसक्दा यात्रुहरुले समेत जिल्ला सदरमुकाम मार्तडी पुग्न दिनभरी हिडनु पर्ने बाध्यतामा छन । बाटोमा ट्याक्टर फसेर हैरान भएको छ, कसरी सामान ल्याउने ब्यापारी बोगटीले बताए ।
बाजुराको बडीमालिका नगरपालिका र बुढीनन्दा नगरपालिकाको क्षेत्रमा पर्ने सो सडकको स्तरोन्नतीमा कुनै निकायको ध्यान नगएकाले पनि स्थानियले सास्ती खेप्नु परेको गुनासो गरेका छन् । बाजुरासहित हुम्ला र मुगुका स्थानियको समेत मुख्य मार्गको रुपमा रहेको सो सडक समयमै स्तरोन्नती गर्न स्थानियले माग समेत गरेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij