
नेपालले आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा तेस्रो जित निकालेको छ | टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६२ रन बनाएको थियो।
६३ रनको लक्ष्य पछ्याएको नेपालले ९ बल बाँकी छँदै ६ विकेट गुमाएर पुरा गर्यो।
नेपालका लागि अप्सरी बेगमले सर्वाधिक २४ रन बनाइन्। ३५ बल खेलेकी उनले ३ चौका प्रहार गरेकी थिइन्। यस्तै सरिता मगरले १६ रनमा नटआउट रहिन्। बाँकी कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।
हङकङलाई सानो स्कोरमा समेट्न नेरी थापाले ६ विकेट लिईन् । सरिता राना मगरको नाममा २ विकेट रह्यो ।
यो जितसँगै नेपाल अंक तालिकाको चौथो स्थानमा यथावत छ। नेपालले ४ खेलबाट ६ अंक जोडेको छ भने समान खेलबाट आयोजक थाइल्याण्ड ८ अंकसहित शीर्ष स्थानमा छ। यस्तै एक खेल बढी खेलेको युएई पनि समान ८ अंकसहित दोस्रो स्थानमा छ। ५ खेल खेल्दै ६ अंक जोडेको चीन नेपालसँग रनरेटमा अघि हुँदै तेस्रो स्थानमा यथावत छ। अंकविहीन हङकङ पुछारबाट दोस्रोमा तथा कुवेत पुछारमा रहेका छन्।
बिहिबार भएको खेलमा नेपाल थाईल्याण्डसँग ५७ रनले पराजित भएको थियो। त्यसअघि आफ्नो पहिलो खेलमा मलेसियालाई ३४ रनले हराएको थियो । नेपालले दोस्रो खेलमा युएईलाई ७ विकेटले हराएको थियो।
राउण्ड रोबिनको आधारमा जारी छनोटको शीर्ष एक टोलीले ग्लोबल क्वालिफायर्समा स्थान बनाउने छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij