
शरीर छोएको निहुमा डोम समुदायका आमाछोरीमाथिको कुटपिटको घटना लुकाउन सिराहामा प्रहरी नै लागेको पाईएको छ | लहान नगरपालिका–१८ का ललिता मरिक र उनकी छोरी अमिरकालाई छिमेकी अयोधी सदाय, सकल सदाय र विरोधी महतोले घरमै गएर कुटपिट गरेका थिए |
प्रहरीले दोषीलाई कारबाही गर्नुको सट्टा उल्टै मिलापत्र गर्न दबाब दिएको हो ।
३ फागुनको बिहान स्थानीय मुतनी खोलामा शौच गर्न गएका ललिताका ८ वर्षीय छोरा सुशीलले छिमेकी अशोक सदायलाई छोएको निहुँमा ललिता र अमिरका कुटिएका थिए । अशोक अयोधीका नाति हुन् ।
३ फागुनमै इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिए पनि प्रहरीले मिलापत्र गर्न दबाब दिएको ललिताका श्रीमान् दुःखी मरिकले बताए । प्रहरीले दुईपटकसम्म छलफल आह्वान गरेको, तर पीडकको उपस्थितिविना नै मिलापत्र गर्न दबाब दिएको उनको गुनासो छ । दुवै छलफल असफल भएपछि घटना सार्वजनिक भएको हो ।
कुटपिटबाट आमाछोरी ललिता मरिक र अमिरका मरिक घाइते भएका छन् । ललिताको टाउको, पिठ्युँ, ढाड र कम्मरमा चोट लागेको छ भने अमिरकाको देब्रे हातको दुईवटा औँला फुटेको छ । घाइते पत्नी र छोरीलाई लहानस्थित रामकुमार–उमाप्रसाद स्मारक अस्पतालमा उपचार गरेको दुःखीले बताए ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij