
सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । चालू आवभित्र सबै निर्माणका काम सम्पन्न गरी उडान सञ्चालनमा ल्याउने तयारीमा जुटेको सरकारले यस विमानस्थलका लागि चालु आवमा छुट्याइएको बजेट सकिएकाले अर्थ मन्त्रालयले पुनः थप ४ अर्ब बजेट रकामान्तर गरिदिएको हो ।
आयोजना प्रभावित स्थानीयलाई मुआब्जा दिन दुई शीर्षकबाट थप ४ अर्ब रकमान्तर गरिएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले चालू आवको बजेटमा यस आयोजनाको मुआब्जा वितरणका लागि ५ अर्ब छुट्याएको थियो । तर, सो रकम काम थालेको सात महिनामै सकिएपछि आयोजनाले पुनः थप ८ अर्ब माग गर्दै मन्त्रालयमा प्रस्ताव पठाएको थियो । सोही प्रस्तावको आधारमा अहिले अर्थ मन्त्रालयले थप ४ अर्ब रुपैयाँ बजेट रकमान्तर गरिदिएको बताएको छ ।
यस विमानस्थलका लागि दुई वर्षअघिदेखि करिब २८८ बिघा जग्गा अधिग्रहण थालिएकामा गत आर्थिक वर्ष २०७४÷०७५ बाटै मुआब्जा वितरण थालिएको थियो । ७९ बिघा क्षेत्रफलमा फैलिएको साविकको भैरहवा विमानस्थललाई सबै जग्गा अधिग्रहण पछि विमानस्थलको कुल क्षेत्रफल ७१५ बिघा पुग्नेछ ।
हालसम्म यस विमानस्थल निर्माण आयोजना प्रभावितलाई १४ अर्ब रुपैयाँ मुआब्जा वितरण भइसकेको छ । मुआब्जामा मात्रै २३ अर्ब खर्च हुने अनुमान गरिएको छ । विमानस्थलको पहिलो चरणको काम सक्न मात्रै २३ अर्बभन्दा बढी लाग्ने देखिएको छ । दोस्रो चरणमा आयोजना विस्तार गर्दा जग्गा अपुग हुने देखेर अहिले नै अधिग्रहण गर्न लागिएको हो ।
सरकारले चालू आवभित्र नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरिसक्ने बताउँदै आएको छ । जसका कारण पनि विमानस्थल सञ्चालन हुनुअगावै जग्गा मुआब्जा वितरण गरिसक्ने सरकारको तयारी छ । पहिलो चरणको काम सकिएपछि दोस्रो चरणमा विमानस्थलका अन्य भौतिक पूर्वाधार निर्माणका काम सम्पन्न गर्दै जाने भएकाले अहिले यस विमानस्थलको क्षेत्रफल बढाउन सरकारले थप बजेट रकमान्तरण गरिदिएको अर्थ मन्त्रालयले जनाएको छ ।
विमानस्थल सञ्चालनमा आएपछि हाल काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको एयर ट्राफिकको समस्यामा पनि केही सुधार आउने अपेक्षा गरिएको छ ।यो विमानस्थल सञ्चालनमा आउनेबित्तिकै निजी वायुसेवा कम्पनी बुद्ध एयरलायन्सले यहाँबाट छिमेकी मुलुक भारतका विभिन्न गन्तव्यमा र पोखरामा पनि आफ्नो उडान सेवा विस्तार गर्ने योजना सार्वजनिक गरिसकेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij