काठमाडौं । सांसदहरूले तत्काल निर्वाचन कानुन बनाई मिति घोषणा गर्न सरकारलाई दबाब दिएका छन् । आगामी एक वर्षभित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गराउनुपर्ने बाध्यात्मक अवस्था रहेको भन्दै सांसदहरूले शुक्रबारको व्यवस्थापिका–संसद् बैठकको विशेष समयमा निर्वाचनको मिति घोषणामा भइरहेको ढिलाइप्रति विरोध जनाएको खबर आजको नयाँ पत्रिकामा छ ।
सत्तापक्ष र विपक्षी दलका सांसदहरूले तत्काल कानुन पारित गराउन र निर्वाचनको कार्यतालिका बनाउन सरकारलाई दबाब दिएका हुन् । सरकार निर्वाचनको विषयमा उदासीन रहेको आरोप उनीहरूले लगाएका छन् ।
– कांग्रेस नेता रामचन्द्र पौडेलले निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए ।
– एमाले सांसद भीम रावलले सरकारले संविधान संशोधनको बेमौसमी बाजा बजाएर निर्वाचनको प्राथमिक विषयलाई भने नजरअन्दाज गरिरहेको आरोप लगाए ।
– माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गरे ।
– राप्रपाका सांसद पर्शुराम तामाङले आफ्नो पार्टी निर्वाचनमा जान हतारिएको भन्दै स्थानीय तहसहितका निर्वाचनहरूको मिति घोषणा गर्न माग गरे ।
– सांसद गंगा चौधरी सत्गौवाले थारूहरूको माग सम्बोधन नगर्ने हो भने अर्काे टीकापुर घटना दोहोरिने चेतावनी दिइन् । चौधरीले टीकापुर घटनाका क्रममा पक्राउ परेका र अभियोग लगाइएका २२ जनालाई आममाफी दिनुपर्ने माग गरिन् ।
भारतको चुनाव गर्न खोजेको हो र ?
नेमकिपा सांसद प्रेम सुवालले भारतीय नागरिकलाई नेपालको मतदाता नामावलीमा समेटेर भारतको चुनाव गर्न खोजिएको आशंका व्यक्त गरे । उनले ४० लाख भारतीयले नेपालको नागरिकता प्राप्त गरेको र त्यही नागरिकताका आधारमा मतदाता नामावलीमा नाम संकलन गरिएको भन्दै विरोध गरे ।
एमाले सांसद भीम रावलले भारतले एयरमार्सल माग गरेकामा संसद् बैठकमा विरोध गरे । उनले एयरमार्सल भारतले माग गरेको हो भने त्यसले मुलुकको राष्ट्रिय सुरक्षामा ठूलो चुनौती थपिएको बताए ।
काठमाडौं । स्वस्फूर्त रूपमा संगठित भएका समाजका प्रबुद्ध व्यक्तिको भेलाले आगामी माघ ७ भित्र तीनवटै तहको निर्वाचन सम्भव रहेको भन्दै सरकार र दललाई दबाब दिने निष्कर्ष निकालेका छन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वमुख्यसचिव विमल कोइराला, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल र नीलकण्ठ उप्रेती, पूर्वन्यायाधीश कृष्णजंग रायमाझी र टोपबहादुर सिंह, पूर्वसचिव कृष्ण पोखरेल, संविधानका जानकार नीलाम्बर आचार्यलगायत व्यक्तिले शुक्रबार राजधानीमा भेला गरी तीनै तहको निर्वाचन नभए संवैधानिक र राजनीतिक संकट निम्तिने भन्दै सरकार र दललाई खबरदारी गरेका छन्।
कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संविधानसभाबाट बनेको संविधान मूल्यवान् भएको उल्लेख गर्दै मुलुकलाई निकास दिनुपर्ने बताए। जनताका स्वामी राजनीतिक दल नभएको तर्क गर्दै श्रेष्ठले भने, ‘दलहरूमाथि धेरै विश्वास गरेका छौं। जनताको स्वामित्वमा लापरबाही गर्न मिल्दैन। जनताले आह्वान गर्ने दिन नआओस्।’ संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएको तर्क गर्दै श्रेष्ठले संविधान धेरै महत्वाकांक्षी र जटिल छ। यसैले मुलुकलाई निकास दिने दायित्व संविधान बनाउनेहरूको काँधमा छ।’
पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले समयका हिसाबले एक वर्ष भए पनि निर्वाचनका दृष्टिकोणले १० महिनामात्र बाँकी रहेको भन्दै सरकार र दललाई दबाब दिने बेला आएको बताए। ‘लगामबिनाका घोडाका रूपमा हामीले जे गरे पनि हुन्छ भन्ने ठानेका पार्टी र सरकारलाई दबाब दिन सकिन्छ’, पोखरेलले भने, ‘पथपथमा खबरदारी नगर्ने हो भने संविधान कार्यान्वयन र निर्वाचन हुने अवस्था देखिँदैन।’ कानुन नबनेको, समय कम रहेको, क्षेत्र निर्धारण आयोग बन्न नसकेको भन्दै पोखरेलले राजनीतिको पाटो नखुली चुनाव हुने ढोका नखुल्ने पनि बताए। दलहरूले संसद्को म्याद थप्ने सोचाइ बनाएको भए त्यो मुलुकका लागि दुर्भाग्य हुने दाबी उनले गरे।
अर्का पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेतीले १० महिनामा रात दिन काम गर्ने हो भने तीनवटै तहको निर्वाचन सम्भव रहेको बताए। स्थानीय तहको नगरी प्रदेशको निर्वाचन गर्न नमिल्ने र प्रदेशपछि मात्र केन्द्रको निर्वाचन गर्नुपर्ने उनले बताए।
स्थानीय तहको निर्वाचन एकै चरणमा गर्नुपर्ने बाध्यता नरहेका कारण सरकारले निर्वाचनको घोषणा गरी वातावरण बनाउनुपर्ने बताए। पूर्वमुख्य सचिव कोइरालाले मुलुक संकटमा परेका बेला बुद्धिजीवीले दबाब दिनुपर्ने बताए। ‘यो संसद्को म्याद थपिँदैन भन्ने कुरा धेरैलाई थाहा छैन’, कोइरालाले भने, ‘संविधान कार्यान्वयन गर्ने भनेकै निर्वाचन हो। समस्या होइन, सबै समाधानतिर लाग्नुपर्छ।’ अधिवक्ता कृष्णमान प्रधानले तोकिएको मितिमा चुनाव नभए मुलुकमा संवैधानिक र राजनीतिक संकट आउने भन्दै दल र सरकार गम्भीर बनी निर्वाचनमा जानुको विकल्प नभएको बताए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij