पानीजहाज संचालनको विषयमा स्थलगत अध्ययनका लागी जल तथा ऊर्जा आयोगका सह सचिव माधव बेल्वासेको नेतृत्वमा असोज १ गते सात सदस्यीय टोली त्यसतर्फ जान लागेको हो। 
भारतले पछिल्लो समय १ सय ६ वटा ‘इनल्यान्ड वाटरवेज’ निर्माणको घोषणा गरेका छ। त्यसमध्ये गंगा नदीमा निर्माणाधि जलमार्ग हो। निर्माण सम्पन्न हुन लागेको यो जलमार्गमा कार्तिक दोस्रो हप्तादेखि भारतीय पानी जहाज सञ्चालनमा आउँदैछन्।
नेपालका ठूला नदीहरु कोशी, गण्डकी र कर्णाली गंगामा नै मिसिन्छन्। त्यसैले, भारतले गंगामा निर्माण गरेको जलमार्ग नेपालले पनि प्रयोग गर्न सक्छ। कोशी र गण्डकी जलमार्गबाट नेपालसम्म पानी जहाज आइपुग्न सक्ने स्थिति छ।
भारतको खुर्सेलाघाट भन्ने ठाउँमा गएर गंगामा नेपालबाट गएको कोशी मिसिन्छ भने गण्डकी चाहिँ हाजिपुरमा गएर मिसिन्छ।
नेपालको योजना गण्डकी र कोशी मिसिने तिनै बिन्दूबाट नेपालतर्फ पानी जहाज सञ्चालन गर्ने भन्ने छ। त्यसका लागि नेपाल-भारतबीचको पारवहन सन्धिमा सडक मार्गका अलावा जलमार्ग प्रयोग सम्बन्धी बुँदा पनि राख्नुपर्ने हुन्छ।
ओलीको भारत भ्रमणका क्रममा नेपाललाई जलमार्ग प्रयोग गर्न दिने सहमतिसँगै पारवहन सम्बन्धी नेपाल-भारतबीचको पारवहन सन्धिमा जलमार्ग सम्बन्धी व्यवस्था समावेश गराउन दुबै देशले आन्तरिक तयारी थालिसकेका छन्।
जलमार्गसमेत प्रयोग गर्न पाउने गरी सन्धिमा परिमार्जन भएलगत्तै पानी जहाज सञ्चालनको प्राविधिक तयारीका लागि नेपाली टोली कोलकता र वाराणसीको स्थलगत अध्ययनका लागि जान लागेको हो।
बेल्वासेका भनाईमा, भारतीयहरुले जलमार्ग कसरी सञ्चालन गर्दैछन्, आफ्नो नेतृत्वमा आगामी हप्ता कोलकता-वाराणसी जाने टोलीले त्यसको विस्तृत अध्ययन गर्नेछ।
गहिराई धेरै भएका कारण पानी जहाज सञ्चालनका लागि कोशी भन्दा गण्डकी अनुकूल भएको नेपाली प्राविधिकहरुको निष्कर्ष छ।कोशी गंगामा मिसिने कुर्सेला घाट नेपाल-भारत सीमाबाट २ सय ३६ टाढा छ। गण्डकी-गंगा मिसिने हाजिपुर चाहिँ करिब तीन सय किमीको दुरीमा छ। भारतले कोशी र गण्डकमा क्रमश चार–चार वटा टर्मिनल बनाउने प्रस्ताव गरेको छ।
भारतले ‘एनडब्लु (नेसनल वाटरवेज) वान’ परियोजना अर्थात् अर्थात् हल्दिया-फरक्का-पटना-इलाहावाद वाटरवेज परियोजना अन्तर्गत हुगली, गंगा र भागिरथी नदीमा जलमार्ग सञ्चालन गर्न लागेको हो। यो परियोजनाको लम्बाई १ हजार ६ सय २० किमी छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij