२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

मोदी–दाहाल वार्ता, ‘हिमालको पानी संसारभर’

मोदी–दाहाल वार्ता, ‘हिमालको पानी संसारभर’


काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको हिमालमा बग्ने पानीलाई विश्वभर पुर्याउन सहकार्य गर्न चासो देखाएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पमल दाहालको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले एभरेष्टको पानीलाई मिनरल वाटरको रुपमा विश्वभरी लैजान सहकार्य गर्ने विषयमा जोड दिएका हुन् ।

दाहालको नीजि सचिवालयका अनुसार मोदी र दाहालबीच एभरेष्टको पानीलाई मिनरल वाटरको रुपमा विश्वभरी लैजान सहकार्य गर्ने बारेमा छलफल भएको हो ।

भेटमा मोदीले धार्मिक पर्यटनामा जोड दिएका थिए । दाहालले भने यसअघिका सम्झौताको कार्यान्वयन र दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने विषयलाई प्राथमिकता दिएका थिए । धार्मिक पर्यटनका लागि नेपाल र भारतमा भएका शक्ति पीठहरुको एक बृहत्तर सर्किट बनाउने विषयमा छलफल भएको दाहालको नीजि सचिवालयले जनाएको छ ।

करिब एक घण्टा भएको भेटमा पछिल्लो समयमा भएका दुई प्रधानमन्त्रीका भ्रमणहरु, बिम्स्टेक सम्मेलन, दुई देशका आपसी हित र विकास निर्माणको सम्भावनाबारे छलफल भएको थियो । भारतीय पक्षले दुइ पक्षीय छलफललाई निक्कै महत्वपूर्ण भएको जनाएको छ । भारतीय प्रेस इन्फरमेशन ब्यूरोले प्रधानमन्त्री मोदी र अध्यक्ष दाहालबीच यसअघिका सम्झौताहरुको विषयमा छलफल भएको र नेपाल–भारत सम्बन्धलाई दरिलो बनाउने विषयमा छलफल केन्द्रित रहेको जनाएको छ ।

दुई पक्षबीचको छलफलमा नेपालमा हाइड्रो इनर्जीको विकास, हुलाकी मार्गको निर्माण, रेलवे निर्माण, जलमार्ग, कृषिमा आधारित उद्योग र पर्यटन क्षेत्रको विकासको बिषयमा छलफल भएको थियो ।

दाहालले मोदीसँगको भेटमा नेपाल भारत सीमामा रहेका समस्याहरुको समाधाका लागि ध्यानाकर्षण गराएका थिए । दुई पक्षबीच सीमा क्षेत्रमा भन्सारहरुको स्तरउन्नतीको बिषयमा छलफल भएको थियो ।

दुई देशको आपसी हित कसरी सुदृढ गर्ने भन्ने बिषयमा छलफल सकारात्मक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको भन्दै दाहाललको सचिवालयले दुई पक्षले पछिल्लो चरणमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको सन्दर्भमा भएका सकारात्मक समझदारीहरु र सहमतिहरुलाई प्रभावकारी रुपले कार्यान्वयन गर्ने बारेमा छलफल भएको जनाएको छ ।

अध्यक्ष दाहाल प्रधानमन्त्री भएको बेला भएका सहमतिहरुमा कास्की जिल्लामा पोलिटेक्निकल इस्टिच्युट स्थापनामा भारत सरकारले सहयोग गर्ने भन्ने बिषयमा पनि गम्भीर रुपमा छलफल भएको थियो । ‘समग्रमा दुई देशको आपसी सम्बन्धलाई नयाँ उचाईमा उठाउने प्रतिबद्धता र संकल्पको साथ छलफल टुंगिएको छ ।’ दाहालको नीजि सचिवालयले राजधानीसँग भन्यो ।

प्रधानमन्त्री मोदीसँगको भेटअघि अध्यक्ष दाहालले भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग पनि भेटवार्ता भएको थियो । भेटमा कम्युनिष्ट पार्टीहरुको एकतासँग सम्बन्धित र दुई तिहाईको सरकार बनेपछि नेपाल भारत सम्बन्धमा भएका विकासका विषयमा छलफल भएको थियो ।

दाहालले भारतीय काँग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री मनमोहन सिंहसँग पनि शनिबार नै भेट गरेका थिए । भेटमा मनमोहन सिंह प्रधानमन्त्री भएको बेलामा भएका समझदारी, छलफल र नेपालमा शान्ति प्रक्रियालाई अगाडि बढाउन उनको नेतृत्वको सरकारबाट भएको सहयोगप्रति अध्यक्ष दाहालले धन्यवाद दिएका थिए ।

नेता सिंहले पनि नेपालमा शान्ति प्रक्रिया र संविधान निर्माण भै सकेपछि देश विकास निर्माणतर्फ बढेको भन्दै खुसी व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij