२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

नवनिर्वाचित राष्ट्रपति ट्रम्पको कडा आलोचना, २६ सिनेटरले शपथ ग्रहण बहिस्कार गर्ने

नवनिर्वाचित राष्ट्रपति ट्रम्पको कडा आलोचना, २६ सिनेटरले शपथ ग्रहण बहिस्कार गर्ने

वासिंगटन । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको युरोपमा कडा आलोचना भएको छ । ट्रम्पले बेलायती र जर्मन पत्रिकालाई अन्तवार्ता दिँदै बेलायतले युरोपेली संघ त्याग गर्ने बारे गरेको पूर्वनिर्णयको प्रशंसा गर्दै अन्य देशले पनि त्यसैगरी बिस्तारै युरोपेली संघ त्याग गर्दै जाने बताएका थिए । उनले बेलायतले ईयू छाडेपछि अमेरिकासँग व्यापारिक साझेदारीमा नयाँ आयाम थप्न सकिने उनको विश्वास थियो ।
यसैगरी ट्रम्पले जर्मन चान्सलर एन्जेला मर्केलको शरणार्थीलाई बास दिने निर्णयको पनि आलोचना गरेका थिए । उनले मर्केलले ठूलो संख्यामा शरणार्थीलाई जर्मन प्रवेश गर्न दिएपनि सुरक्षा चुनौती खडा भएको बताएका थिए ।

ट्रम्पका दुवै भनाईप्रति युरोपेली शक्ति राष्ट्र जर्मनी र फ्रान्सले कडा आलोचना गरेका हुन् । तत्कालै प्रतिक्रिया व्यक्त गर्दैै जर्मन चान्सलर मर्केलले युरोपेलीहरुको भाग्य आफ्नै हातमा रहेको बताएकी छन् । युरोपेली बलियो एकता नै ट्रम्पलाई गतिलो जबाफ हुने पनि उनको भनाई थियो ।

यस्तै ट्रम्पले ब्यक्त गरेका ब्रेक्जिट बारेको प्रतिक्रियास्वरुप चान्सलर मर्केल र फ्रान्सका राष्ट्रपति फ्रास्वाँ होल्याण्डेले युरोप आफ्नो मूल्यमान्यताबाट निर्देशित हुने भन्दै आफ्नो मार्ग तय गर्न बाहिरिया उपदेशको आवश्यकता नरहेको टिप्पणी गरेका छन् ।

यसैबीच, आगामी शुक्रबार हुने अमेरिकी राष्ट्रपतिको औपचारिक सपथ ग्रहण कार्यक्रम २६ जना सिनेटरहरुले बहिस्कार गर्ने भएका छन् । यसअघि नै एक दर्जभन्दा बढी सिनेटरहरुले शपथ ग्रहण समारोह बहिस्कार गर्ने घोषणा गरेका थिए ।
अमेरिकाको ५३८ सदस्य संख्या रहेको कंग्रेसमा रिपब्लिकन पार्टीको बहुमत रहेको छ । दुई दिनअघि अमेरिकी नागरिक आन्दोलनका अगुवा, डेमोक्रेटिक पार्टीका सम्मानित सदस्य जोन लुइसले नवनिर्वाचित ट्रम्प वैधानिक राष्ट्रपति नभएको धारणा राखेपछि ट्रम्पले उनको चर्को आलोचना गर्दै सिंगो डेमोक्रेटिक पार्टीमाथि गाली बर्साएपछि सिनेटरहरु ट्रम्पको शपथ ग्रहण समारोहमा सहभागी नहुने भएका हुन् ।

गत नोभेम्बर ८ मा भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनलाई हराउँदै ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनलाई ५३८ मध्ये ३ सय ४ इलेक्टोरल भोट प्राप्त भएको थियो भने हिलारीको पक्षमा २२७ इलेक्टोरल भोट मात्रै आएको थियो ।

कुल भोटको बहुमत भने हिलारीलाई गएको थियो । उनले ट्रम्पले भन्दा करिब ३० लाख बढि मत पाएपनि इलेक्टोरल भोटका आधारमा पछि परेकी थिइन् । ट्रम्पको शपथ ग्रहण समारोहमा हिलारीले भने सहभागिता जनाउने बताइएको छ ।

रिपब्लिकन पार्टीबाटै राष्ट्रपति बनेका जर्ज डब्लु बुस ट्रम्पका कट्टर आलोचक रहेपनि शपथ ग्रहण कार्यक्रममा भने सहभागी हुनेछन् । हिलारीका पति पूर्वराष्ट्रपति बिल क्लिन्टन पनि सहभागी हुने बताएको छ ।

अमेरिकी राष्ट्रपतिको निर्वाचन प्रचार देखि नै विवादास्पद अभिव्यक्तिका कारण चर्चामा रहँदै आएका ट्रम्पका कतिपय क्रियाकलापलाई अमेरिकी स्वयमले विरोध गर्दै आएका छन् भने राष्ट्रपतिमा निर्वाचित भएलगत्तै उनका विरुद्धमा अमेरिकामा हजारौंले प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij