२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

पाकिस्तान निर्वाचन

इमरान खान: पाँच क्षेत्रमध्ये दुईमा विजयी, तीनमा अग्रता

इमरान खान: पाँच क्षेत्रमध्ये दुईमा विजयी, तीनमा अग्रता

खानकी पूर्वपत्नी भन्छिन्: 'मेरो छोराको बुवा प्रधानमन्त्री पक्का'

काठमाडौं । पाकिस्तानका चर्चित क्रिकेट खेलाडी इमरान खान पाकिस्तानका प्रधानमन्त्री बन्ने संघारमा रहेका छन्। प्रारम्भिक मतपरिणामका अनुसार इमरान खानको पाकिस्तान तेहरीक ए इन्साफ (पीटीआई) ले यसपटकको आम निर्वाचनमा अत्याधिक सिट जित्दै सरकार बनाउनेछ।

पाँच क्षेत्रबाट निर्वाचनमा खडा भएका इमरान खान दुर्इ स्थानमा विजयी भइसकेका छन् भने बांकी ३ स्थानमा पनि उनी अरु प्रतिस्पर्धी भन्दा अगाडी नै छन्।

१९९२ मा पाकिस्तानले क्रिकेट विश्वकप जित्दा पाकिस्तानी टोलीको कप्तान थिए इमरान खान। १९९६ मा पाकिस्तान तेहरीक ए इन्साफ पार्टी स्थापना गरेका खान धेरै समयसम्म छायाँमा परेका थिए। २००२ मा भएको आमनिर्वाचनमा तेहरीक ए इन्साफबाट विजयी हुनेमा उनी एक मात्रै थिए।

२००८ को निर्वाचन बहिस्कार गरेका उनको पार्टी २०१३ मा भएको निर्वाचनमा भने दोस्रो भएको थियो। सेनाले अप्रत्यक्ष रुपमा सहयोग गरेको आरोप लागेका खान यसपटक नयाँ पाकिस्तान बनाउने उद्देश्यका साथ राजनीतिक मैदानमा उत्रेका थिए। सबै परिस्थिति अनुकुल रहे उनी भावी प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ।

तर उनको पार्टीले सरकार गठनका लागि भने आवश्यक बहमत ल्याउनेमा भने प्रश्न रहेको छ। प्रत्यक्ष निर्वाचन मार्फत २७२ सिटका लागि भएको मतदानमा इमरानको पार्टीले १०७ देखि १२० सिट जित्ने अनुमान गरिएको छ। हालसम्म सार्वजनिक भएका नतिजा मध्य ११९ सिटमा तेहरीक ए इन्साफले अग्रता लिएको छ। उनलार्इ पूर्व प्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिग (नवाज) ले ६८ सिटमा अग्रता कायम गर्दै पछयाउँदै छ। बहुमतका लागि १३७ सिटको आवश्यक्ता पर्दछ।

२०१३ मा सत्तामा आएको पाकिस्तान मुस्लिम लिग (नवाज) ले निर्वाचनमा सेनाले इमरान खानको पार्टीलार्इ जिताउनका लागि धाँधली गरेको भन्दै परिणाम अस्विकार गर्ने बताएपश्चात अन्यौल सिर्जना भएको छ। उनीहरु कै विरोधका कारण मत परिणाम आउन ढिला भएको बताइएको छ।

तर पाकिस्तानको निर्वाचन आयोगले भने परिणाम सार्वजनिक गर्न प्रयोग हुँदै आएको सफ्टवेयरमा समस्या आएकाले परिणाम आउन ढिला भएको बताएको छ।

यता पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता सेहबाज शरिफले धेरै मतगणना स्थलबाट आफ्ना प्रतिनिधीलार्इ बाहिर निकालेको भन्दै आफ्नो पार्टीले निर्वाचन परिणामलार्इ पूर्ण रुपले अस्विकार गर्ने बताए। उनले लाखौं जनताले दिएको म्यान्डेटको अपमान गरेको र पाकिस्तानको प्रजातान्त्रिक प्रक्रियालार्इ असफल बनाउन लागेको आरोप लगाए।

पाकिस्तान तेहरीक ए इन्साफ बाहेक प्राय सबै पार्टीहरुले मतगणनास्थलबाट आफ्नो प्रतिनिधीलार्इ बाहिर निकालेको आरोप लगाएका छन्। पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) को नेतृत्व गरेका बिलाबल भुट्टोले मतगणनास्थलबाट आफ्नो पार्टी प्रतिनिधीलार्इ बाहिर निकाल्ने कार्य अपमानजनक र माफी गर्न लायक नभएको टिप्पणी गरेका छन्।

तर पीटीआइका नेता असद उमरले भने पाकिस्तान विकासको पथमा अगाडी बढिसकेको अवस्थामा भारत प्रति सहानुभूति राख्ने तत्वहरुले यस्तो आरोप लगाएको बताए।

बन्ला त प्रधानमन्त्री ?
पाकिस्तानालार्इ पहिलो पटक विश्वकप जिताउने कप्तान इमरान खानका फ्यानहरुले त उनलार्इ ‘प्रधानमन्त्री इमरान खान’ भनेर बोलाउन शुरु गरिसकेका छन्। तीन पटक विवाह गरेकी इमरानकी पहिलो श्रीमती जेमिमा गोल्डस्मिथले ट्विटरबाट उनलार्इ शुभकामना दिइसकेकी छिन्।

उनले २२ वर्षसम्म धेरै अपमान, कष्ट र त्याग पश्चात मेरो छोराको बुबा पाकिस्तानको भावी प्रधानमन्त्री बन्नेछन् भनेर लेखेकी छिन्। पाकिस्तान तेहरीक ए इन्साफका नेता, कार्यकर्ता, प्रशंसकहरुले खुसीयाली मनाउन शुरु गरिसकेका छन्।

विपक्षीहरुको विरोधको बाबजुद यसपटक जनमत इमरान खानको पक्षमा रहेको स्पष्ट छ। सेनाको सहयोग र विश्वासकाबिच निर्वाचनमा सफल भएको आरोप लाग्दालाग्दै पनि क्रिकेटमा सफल मानिएका खेलाडी खानले कुनै अवरोध नआए राजनीतिमा दोस्रो इनिङ शुरु गर्ने लगभग पक्का छ।

तर उनको अगाडी विपक्षीलार्इ साथमा लिँदै शक्तिशाली मानिएको सेनालार्इ विश्वासमा राख्नु पर्ने चुनौती रहेको छ। यसका साथै ऋणमा रहेको पाकिस्तानको अर्थतन्त्रलार्इ सुधार्ने, भारतसँगको शत्रुतापूर्ण सम्बन्धलार्इ सन्तुलनमा राख्नु र आफनै राष्ट्रमा रहेको अलगावादी समूहलार्इ शान्त राख्नु उनका लागि थप चुनौती हुन्।

क्रिकेट पिचमा विपक्षीलार्इ पराजित गर्न रणनीति बनाउन माहिर इमरान खानले प्रधानमन्त्री भएको खण्डमा पाकितानलार्इ सफल प्रजातान्त्रिक राष्ट्र बनाउन सकनेमा धेरै पाकिस्तानी आशावादी छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij