२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

काठमाडौं उपत्यकामा फोहर उठ्न थाल्यो

काठमाडौं उपत्यकामा फोहर उठ्न थाल्यो


काठमाडौँ । एक महिनादेखि काठमाडौँ उपत्यकामा थुप्रिएको फोहर उठ्न थालेको छ। काठमाडौँ महानगरपालिकाका सहप्रवक्ता नवराज ढकालले लामो समयदेखि उठ्न नसकेको फोहर एकै दिनमा व्यवस्थापन गर्न समस्या भए पनि फोहर उठाउने कार्य शुरु भएको जानकारी दिए।

यसअघि नियमितरुपमा फोहर व्यवस्थापन गर्दै आएको नुवाकोटस्थित सिसडोल भरिएर फोहर राख्ने स्थानको अभाव भएपछि फोहर उठ्न सकेको थिएन। सिसडोलसम्म पुग्ने बाटो बर्खाको कारण बिग्रिएको र मर्मतको काम भइरहेकाले पनि फोहरको नियमित व्यवस्थापन गर्न समस्या भएको थियो।

अहिले सिसडोलमा तत्कालको लागि फोहोर व्यवस्थापनको प्रबन्ध मिलाइएको छ भने बाटो पनि मर्मत गरिएकाले फोहर उठ्न थालेको हो। भित्री केही गल्लीमा बाँकी भए पनि, बाहिरी मुख्य शहर सबै स्थानको फोहरको व्यवस्थापन गर्ने कार्य शुरु भइसकेको महानगरपालिकाले जनाएको छ। ढकालले अहिले धेरै पानी नपरेकाले बाटो मर्मतको काम सकेर फोहर लाने काम भएको तर फेरी ठूलो पानी पर्यो भने पुनः फोहर व्यवस्थापनमा समस्या आउन सक्ने बताए।

नियमित रूपमा फोहर संकलन कार्य शुरु भए पनि लामो समय रोकिएको फोहर व्यवस्थापनको लागि समय लाग्ने भएकाले आ-आफ्ना घरबाट निस्केको फोहर अन्यत्र नफाली हाललाई घरमा नै व्यवस्थापन गर्न महानगरपालिकाले आग्रह गरेको छ। महानगरपालिकाले घरमा नै फोहरको गाडी आउने जनाएको छ ।

हरेक दिन कामपाबाट दैनिक ५०० मेट्रिक टन र काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। महानगरपालिकाले फोहर व्यवस्थापन स्थानको व्यवस्थापन, केन्द्र सरकारले गर्नुपर्ने भन्दै आएको छ भने केन्द्र सरकारले स्थानीय समस्या स्थानीय तहबाट नै समाधान हुनुपर्ने धारणा राख्दै आएको छ ।

काठमाडौँ महानगरपालिकाले आजभन्दा १२ वर्षअघि नै दुई वर्षका लागि फोहर व्यवस्थापन गर्न सिसडोललाई लिएको थियो। सम्झौताभन्दा लामो समयसम्म निरन्तर फोहर थुपार्दै आएकाले आफूहरूको दैनिक कामकाजमा समस्या भएको भन्दै सिसडोलका स्थानीय बासिन्दाले यस स्थानमा तत्काल फोहर व्यवस्थापनको काम अन्त्य गर्न कामपालाई आग्रह गरेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij