
अंकारा । टर्कीमा सन् २०१६ मा भएको असफल ‘कू’ पछि लगाइएको संकटकाल सरकारले हटाउन लागेको जनाएको छ । सो समयमा राष्ट्रपति रिसेप तैयप एर्दोगानको आदेशमा कुनै सुनुवाइ बिना असफल ‘कू’ गरेको आरोपमा दशौं हजार मानिसहरू पक्राउ परेका थिए ।
पक्राउ पर्नेमा सेना, प्रहरी, निजामती कर्मचारी, पत्रकार, शिक्षकलगायत विभिन्न पेशा र व्यवसायमा संलग्न नागरिकहरु रहेका थिए । हजारौंलाई जागीरहरू निलम्बन गरिएको थियो र त्यसमा कैयौं न्यायाधीशहरू पनि परेका थिए ।
देशमा मानवअधिकारलाई नै कुण्ठित बनाएको संकटकाल हटाउँदैमा मात्रै त्यसले राजनीतिक उतारचढावलाई साम्य नहुने एमनेष्टि इन्टरनेशनलले टिप्पणी गरेको छ । यो महिनाको शुरुमा राष्ट्रपति एर्दोगानले पुनः पाँच वर्षे कार्यकालका लागि थप शक्तिसहित शपथ लिएका थिए ।
यद्यपि विपक्षी उम्मेदवारहरु आफूहरुले चुनाव जिते पहिलो काम देशबाट संकटकाल हटाउने बताउँदै आएको थियो । संकटकाल लागू भएयता टर्कीमा एक लाख सात हजारभन्दा बढी मानिसलाई सरकारी सेवाबाट हटाइएको थियो । सरकारी र गैरसरकारी संस्थाहरुका अनुसार ५० हजारभन्दा बढी मानिसलाई सुनुवाइ जारी रहँदा नै जेलमा हालिएको थियो ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीका राष्ट्रपति एर्दोगानलाई आफ्ना अमेरिकी क्रिश्चियन धर्मगुरु रिहा गर्नका लागि ट्वीटरमार्फत आग्रह गरेका छन् । टर्कीले अमेरिकी सम्मानित क्रिश्चियन धर्मगुरु एन्ड्र्यु ब्रनसनलाई जेलबाट रिहा गरेको छैन । उनलाई आतंककारीको आरोप लगाउँदै जेलमा राखिएको थियो ।
उनका परिवारजनले उनलाई कुरेर बसेको र उनलाई बिना कारण जेलमा राख्न नहुने ट्रम्पले बताएका छन् । ब्रनसन कुनै गलत काम नगरेको र परिवारलाई उनको आवश्यकता रहेको भन्दै तत्काल रिहा गर्न ट्रम्पले आग्रह गरेका हुन् । रिहा हुनका लागि ब्रनसनले तीन पटकसम्म अदालतलाई दिएको अनुरोधपत्र अस्वीकार गरिएको छ ।
टर्कीले असफल सैनिक विद्रोह गराउन इस्लामिक धार्मिक नेताद्वारा नेतृत्व गरिएको फेतुल्लाहसी आतंककारी संगठन (एफइटिओ) को संलग्नता रहेका आरोप लगाउँदै आएको छ । अमेरिकामा स्वघोषित निर्वासनमा रहनुभएका धार्मिक नेता फेतुल्लाह गुलेनमाथि आधिकारिक पक्राउ आदेश जारी गरेको थियो ।
टर्कीको राजधानी इस्तानबुलमा अवस्थित एक अदालतले गुलेनलाई पक्राउ आदेश दिएको थियो । सरकारले धार्मिक नेता गुलेनलाई असफल सैनिक विद्रोहमा संलग्न रहेको बताइरहँदा गुलेन र उनी सम्बद्ध धार्मिक संगठनहरूले सो असफल ‘कू’ प्रयासमा आफूहरूको कुनै संलग्नता नरहेको जनाउँदै आएका थिए ।
गुलेन र उनका समर्थकले आफूहरू शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने दाबी गर्दै आएका छन् । टर्कीमा जारी जथाभावी पक्राउ र ‘कू’ को प्रयासको आरोपमा जागीरबाट बर्खास्त गर्ने सरकारी कारबाहीपछि तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामालगायत विश्वका शक्तिशाली राष्ट्रहरुले टर्कीका सबै पक्षलाई विधिको शासनको पालना गर्न आग्रहसमेत गरिएको थियो । प्रजातन्त्रको मूल्य मान्यतालाई टर्कीले पनि पालना गर्नुपर्ने शक्तिशाली राष्ट्रहरुको भनाइ थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij