२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

गुफामा फसेका बालकको उद्धार जारी

गुफामा फसेका बालकको उद्धार जारी

बैंकक । उत्तरी थाइल्यान्डमा करिब दुई सातादेखि गुफामा थुनिएका १२ बालक र एक जना प्रशिक्षकको उद्धार सुरु भएको छ । यो समाचार तयार पार्दासम्म फसेकामध्ये ६ बालकलाई सकुशल उद्धार गरिसकिएको छ ।

लामो समयसम्म गुफामा फसेका बालकलाई नजिकैको शिविरमा लगिएको र उनीहरूको स्वास्थ्य परीक्षण गरिएको उद्धारमा संलग्न समूहका एक सदस्यले नाम गोप्य राख्ने सर्तमा बताए ।

थाइल्यान्ड सरकारले ६ जना बालकको सकुशल उद्धार गरिसकिएको र अन्यलाई छिट्टै बाहिर निकालिने जनाएको छ । थाइल्यान्डको एउटा गुफामा थुनिएका १२ जना बालक र एक जना उनीहरूका प्रशिक्षकसहित १३ जनाको उद्धार कार्य आइतबार बिहान स्थानीय समयअनुसार १० बजेबाट नै सुरु गरिएको थियो ।

उद्धारका लागि १३ जना अन्तर्राष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञलाई परिचालन गरिएको नारोङसाक ओसोटानाकोमका गभर्नर चिआङ रायले जानकारी दिए । उद्धार टोलीमा पाँच जना सेनाको विशेष टोली पनि सहभागी गराइएको उनले बताएका छन् ।

उनीहरूलाई बाहिर निकाल्न करिब १ सय स्थानमा प्वाल पारेर गुफाभित्रको ग्याँस बाहिर फाल्ने र अक्सिजनभित्र पठाउने ‘चिम्नी’ बनाइएको छ । गुफाबाहिरबाट पारिएका ती प्वाल करिब तीन सय मिटर लामो रहेको उद्धार कार्यमा संलग्न एक सदस्यले बताए । गुफामा फसेका बालकहरू ११ देखि १६ वर्षसम्मका रहेका छन् भने उनीहरूका प्रशिक्षक २५ वर्षका छन् ।

उनीहरूलाई अलग अलग समूहमा बाहिर निकालिएको छ । यो अभियान पूरा हुन अब कति समय लाग्छ भन्नेबारे यो समाचार तयार पार्दासम्म स्पष्ट भइसकेको छैन ।

लेफ्टिनेन्ट जनरल कोंगचीप तन्त्रावानितले केही समयपछि थप चार जना बालक बाहिर निकाल्न सकिने जानकारी दिएका छन् । उनले गुफाभित्रै एक बेसक्याम्प बनाएर त्यहाँ बालकहरूलाई राखिएको जानकारी दिए ।

बालकहरू उद्धारको क्रम सुरु भएपछि गुफाभन्दा एक घण्टाको दूरीमा रहेको अस्पतालमा उनीहरूका आफन्तले पर्खिरहेका छन् । शनिबार मिसनबारे अन्तिम टुंगो लगाउँदै स्वास्थ्य अवस्था सबैभन्दा कमजोर भएको बालकको पहिले उद्धार गर्ने निर्णय लिइएको थियो ।

१५ दिनदेखि उत्तरी थाइल्यान्डको एक गुफामा फसेका १२ जना बालक र तिनीहरूका फुटबल प्रशिक्षकलाई गुफामा बढ्दो जलस्तरलाई ध्यानमा राख्दै आइतबार उद्धार गर्न सुरु गरिएको हो । उद्धारमा १३ जना गोताखोरको टोली सहभागी छ । एकएक गरेर सबैलाई बाहिर निकाल्न समय लाग्न सक्ने जनाइएको छ ।

उद्धारकर्मीका अनुसार गुफाभित्र पानी धेरै चिसो छ । बाहिर निस्कनका लाग बालकले केही घण्टा पानीमा तैरनुपर्छ । यस्तो अवस्थामा उनीहरूको शरीर सुन्निन सक्ने र संक्रमण हुन सक्ने खतरा समेत रहेको छ ।

गुफाको मुखबाट करिब ४ किलोमिटरभित्र र पहाडमुनि करिब एक किलोमिटरमा उनीहरू फसेका छन् । सोही ठाउँमा नै उनीहरूका लागि खाना, पानी, औषधि र अक्सिजन पु¥याइएको छ । तर, उनीहरू फसेको स्थानमा गुफाभित्र पानीको बहाव धेरै रहेको बताइएको छ ।

शुक्रबार सो स्थानमा सामान पु¥याउन गएका एक गोताखोर समन गुननको फर्किने क्रममा मृत्यु भएको थियो । यो गुफाको कुल लम्बाइ १ हजार ३१६ मिटर लामो भएको बताइएको छ । थाइल्यान्डमा २२ र २३ जुनमा भारी वर्षा भएपछि गुफामा पानी पसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij