
एजेन्सी । रसिया जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा ब्राजिलले बेल्जियमविरुद्ध गोल फर्काएको छ । ब्राजिलको लागि रेनाटो अगुष्टोले गोल गर्दै खेल २–१ गोलको स्थितिमा पुर्याएका हुन् ।
रेनाटो अगुष्टोले खेलको खेलको ७६औं मिनेटमा गोल गर्दै २–१ गोलको स्थितिमा पुर्याए । यसअघि पहिलो हाफमा बेल्जियमले २–० गोलको अग्रता बनाएको थियो । बेल्जियमले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै दोब्बर अग्रता बनाउन सफल भएको थियो ।
बेल्जियमका लागि केभिन डे ब्रुयनीले गोल गर्दै दोब्बर अग्रतामा पुर्याएका थिए । केभिनले खेलको ३१औं मिनेटमा गोल गर्दै २–० गोलको अग्रतामा पुर्याए । उनले निकै सुन्दर गोल गरेका थिए ।
यसअघि कर्नर किकलाई बचाउने क्रममा ब्राजिलका मिडफिल्डर फर्नान्डिन्होले आत्मघाती गोल गर्न पुगेका थिए । खेलको १३ औं मिनेटमा नै बेल्जियमले अग्रता बनाएको थियो । बेल्जियमले प्रहार गरेको कर्नर किक ब्राजिलका फर्नान्डिन्होले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए ।
ब्राजिलले सुरुवाती समयमै एकपछि अर्को गोल गर्ने राम्रो अवसर खेर फालेको थियो । पटक पटक ब्राजिलले प्रहार गरेको बल बेल्जियमका डिफेन्डर र गोलकिपरले विफल बनाई दिए ।
बेल्जियम र ब्राजिलबीचको विजेताले फाइनल प्रवेशका लागि सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्ने छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij