
मस्को । रसिया विश्वकप २०१८ मा ब्राजिलले बेल्जियमविरुद्ध क्वार्टरफाइनलमा भिडन्त गर्दै छ । विश्व वरीयताको दोस्रो नम्बरमा रहेको ब्राजिलले तेस्रो स्थानमा रहेको बेल्जियमसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
बेल्जियमले जारी विश्वकपमा सर्वाधिक १२ गोल गरेको छ । स्ट्राइकर रामेलु लुकाकु विश्वका छैटौं सर्वाधिक महँगा खेलाडीभित्र पर्छन् । उनले विश्वकपमा ४ गोल गरिसकेका छन् । अन्तिम १६ को खेलमा जापानसँग बेल्जियमले ०–२ ले पछाडि परेको अवस्थालाई उल्ट्याउँदै ३–२ को जित निकाल्न सफल भएको थियो । जस्तो परिस्थितिलाई पनि उल्ट्याउन सक्ने टिमको छवि बनाएको बेल्जियम ब्राजिलका लागि भारी पर्न सक्छ ।
यतिबेला सबैको आँखा ब्राजिलका स्टार खेलाडी नेइमारमाथि रहेको छ । विश्वकपमा सधैं ब्राजिलका फरवार्डतर्फ सबैको ध्यान जाने गर्दछ । चोटबाट मुक्त भएपछि खेलमा फर्केका नेइमारले रसियामा २४ सट प्रहार गरेका छन् । जुन विश्वकपमा एक खेलाडीले लक्ष्यमा प्रहार गरेको सर्वाधिक सट हो । जसबाट दुईवटा गोलसमेत निस्केको छ । अन्तिम १६ मा मेक्सिकोविरुद्धको खेलमा उनले उत्कृष्ट पदर्शन गर्दै १ गोल गरे भने अर्काे गोल गर्न सहयोग गरेका थिए ।
जारी विश्वकपमा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको टिम बाहिरिएसँगै अब त्यो स्टेज नेइमारको नाममा रहेको छ । तर उनी दक्ष भएका कारण चर्चामा रहँदैनन् । उनले मैदानमा खेलका क्रममा नाटकीय प्रवृत्ति देखाएकाले आलोचनासमेत खेपिरहेका छन् ।
पाँचपटकको विजेता ब्राजिलविरुद्ध जित्दै आत्मविश्वासका साथ सेमिफाइनलमा प्रवेश गर्ने लक्ष्यमा बेल्जियम देखिएको छ । यदि ऊ सेमिफाइनल पुग्यो भने दुईपटकको विजेता उरुग्वे र १९९८ को च्याम्पियन फ्रान्समध्ये एकको सामना गर्नेछ । बेल्जियम र ब्राजिलबीच चारपटक प्रतिस्पर्धा भएको छ । जसमा तीनपटक ब्राजिलको पक्षमा नतिजा निस्केको छ भने एकपटक १९६३ मा बेल्जियमबाट पराजित भएको ब्राजिलले त्यसपछि खेलेको सबै खेलमा जित निकालेको छ । सन् २००२ को विश्वकपमा भने ब्राजिलले बेल्जियमलाई २–० ले हराएको थियो ।
प्लेयर्स टु वाच
ब्राजिल: फिलिपे कौटिन्हो
जारी विश्वकपमा नेयमारको छायाँमा परेका खेलाडी हुन्– फिलिपे कौटिन्हो। ब्राजिलले क्वार्टरफाइनलसम्म यात्रा गर्दा उनले आफ्नो टोलीका लागि २ गोल गरिसकेका छन्। स्पेनिस ला लिगा क्लब बार्सिलोनाबाट खेल्ने २६ वर्षीय कौटिन्हो अट्याकिङ मिडफिल्डर र विन्गरको भूमिका निभाउन सिपालु छन्।

सन् २००९ बाट ब्राजिलको क्लब भास्को दी गामाबाट फुटबल करियरको शुरुआत गरेका उनी इन्टर मिलान, इस्पान्योल, लिभरपुल हुँदै बार्सिलोना पुगेका हुन्। गत सिजन बार्सिलोनाबाट १८ खेलमा ८ गोल उनले आफ्नो नाममा लेखाएका थिए। यस्तै ब्राजिलको राष्ट्रिय टिममा सन् २०१० देखि सम्मिलित उनले ४० म्याचमा १२ गोल गरिसकेका छन्। जारी विश्वकपमा उनको पासमा नेयमार र पौलिन्होले गोल गरिसकेका छन्। उनले बेल्जियमविरुद्ध हुने क्वार्टरफाइनलमा पनि अग्रपंक्तिमा नेयमारलाई सघाउने छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij