२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कांग्रेसको विरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित, डा. केसी र गंगामायाको जीवन रक्षाको माग

कांग्रेसको विरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित, डा. केसी र गंगामायाको जीवन रक्षाको माग

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधपछि १५ मिनेटका लागि स्थगित भएको छ।

राष्ट्रिय सभाको बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले अनसनरत डा, गोविन्द केसी र गंगामाया अधिकारीको जीवन रक्षाको माग गर्दै यसबारे सरकारले जवाफ दिनुपर्ने माग गरेका थिए।

सरकार संविधान मिचेर अगाडि बढिरहेको आरोप लगाउँदै पाण्डेले सर्वोच्च अदालतले फैसला गरिसकेको अवस्थामा पनि सरकारले कृष्णप्रसाद अधिकारीको हत्यामा दोषीलाई पक्राउ गरी कारबाही नगरेको र गंगामाया अधिकारी धेरै दिनदेखि अनसन बसिरहेको बताए। चिकित्सा शिक्षासम्बन्धी प्रतिस्थापन विधेयकमा धेरै मागहरुलाई सम्बोधन नहुने गरी विधेयक प्रस्तुत गर्न खोजिएकोले डा. गोविन्द केसी जुम्लामा अनसन बसेको बताउँदै उनले भने, ‘सरकार यति संवेदनहीन छ कि डा केसीलाई हिँडडुलसमेत गर्न दिएको छैन।’

उनले भने, ‘नागरिकको मौलिक अधिकारलाई खोस्ने प्रयास गर्छ भने नेपाली जनताले सहँदैन।’ सरकार अधिनायकवादी सोचका साथ अघि बढिरहेको भन्दै यी विषयमा सरकारको जवाफ नआउन्जेल सदनको बैठक अघि बढाउन नदिने बताए।

राष्ट्रिय सभाका अध्यक्षले पटक पटक बस्न आग्रह गर्दा पनि प्रतिपक्षी सांसदहरुले आफ्नो आसनबाट उभिएर विरोध जनाएपछि राष्ट्रिय सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

आज बिहान संसदीय दलको बैठक बसी कांग्रेसले प्राध्यापक डा गोविन्द केसीलाई साथ दिने र उनको मागलाई सरकारले सम्बोधन नगरे सदन ठप्प पार्ने निर्णय गरेको थियो। त्यसैगरी कांग्रेसले चिकित्सा शिक्षा तथा सरकारका निषेधाज्ञा लगायतका विषय र वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको मागबारे पनि सदनमा कुरा उठाउने जनाएको थियो।

यी मागहरुलाई सरकारले सम्बोधन नगरे सरकारविरुद्ध कांग्रेस कडा रुपमा प्रस्तुत हुने र सडक सदन दुबै तताउने कांग्रेसले जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij