
काठमाडौँ । बर्दियाको बबई नदी र नारायणी नदीमा खतराको तह पार गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान ११ बजे बबईको चेपाङमा नदीले खतराको तय पार गरेको हो ।
५.५ मिटर चेतावनीको तहभन्दा नदी समाचार तयार पार्दा ६.१ मिटरको खतराको तहमा रहेको छ ।
त्यस्तै, नारायणी नदीको रिउ खेला बन्कट्टा क्षेत्रमा खतराको तह पारेको छ । चेतावनीको तह ३ मिटर रहेकोमा यो ३.५ मिटर खतराको तहमा रहेको छ ।
कर्णाली नदीको चसापानी स्टेसनमा पछिल्लो २४ घण्टामा १८१.८ मिलिमिटर वर्षा भएको मापन भएको छ । त्यहाँ पनि खतराको चेतवानी जल तथा मौसम विज्ञान विभागले जारी गरेको छ ।
बबई नदीको रानी जरुवा, गुलरिया, घोराही, पदमपुर लगायत विभिन्न स्थानमा २१३ मिलिमिटरसम्म वर्षा भएको छ ।
पश्चिम राप्तीको लमहीमा खतराको संकेत देखाइएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा २०१ मिलिमिटर वर्षा भएको छ ।
विभागले भनेको छ,
बबई नदी, पच्चिम राप्ती जलाधारको धेरैजसो स्थानहरूमा तथा कर्णाली नदी जलाधारको चिसापानी र आसपास भारी बर्षा मापन भईरहेको छ । नदीको तटिय क्षेत्रमा जलसतह बढ्ने क्रम जारी छ, उच्च सतर्कता अपनाउनुहोला ।
-विरल वर्षाका कारण चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित तोपेखोला भन्ने स्थानमा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । बिहानभरि ठाउँठाउँमा खसेको पहिरोका कारण प्रभावित भएको उक्त सडकखण्डअन्तर्गतको तोपेखोलामा आज ११ः५० बजेको समयमा ठूलो पहिरो खसेर पुनः सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पानी परिरहेको र पहिरो खस्ने क्रमसमेत नरोकिएकाले अहिले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको प्रहरीले जनाएको छ ।
-पश्चिम दाङको बबई गाउँपालिका–५ मा पर्ने टवाङ्खोलामा आज आएको बाढीले ना१ख १८६१ नंको यात्रुबाहक बस बगाएको छ । स्थानीयवासी तथा प्रहरीले उद्धार गरेकाले बस बगाएपनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए । सो बस बगालेबाट तुलसीपुरतर्फ आउँदै थियो । दुई दिनदेखि परेको अविरल वर्षाका कारण दाङको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण तुलसीपुर, घोराही र लमही सडकखण्डमा पर्ने एक दर्जन खहरे खोलामा बाढी आउँदा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । आज बिहान ठूला गाडी छिटफुटरुपमा सञ्चालन भए पनि दिउँसो भने खोलामा पानीको बहाव बढेपछि बन्द रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
-सांसदहरुले अबिरल बर्षा संगै मुलुकका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम बढेको भन्दै जीउधनको सुरक्षाको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसदहरुले केन्द्र, प्रदेश र स्थानीय तहमा रहेका दैवीप्रकोप उद्धार समितिलाई तयारी अवस्थामा राख्न सरकारको ध्यानाकर्षण गराए । सांसद केदार सिग्देलले तनहुँ जिल्लाको भिमादन नगरपालिका वडा नम्बर ६ र शुक्ला गण्डकी नगरपालिका वडा नम्बर ४ को भिमाद बजार र पुलचोक बस्तीलाई सेती नदीको कटानले जोखिम बनाएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए ।आकाशमा बादल देखिना साथ स्थानीहरु बस्ती छाडेर रुख मुनि बस्न बाध्य भएको भन्दै उनले बर्षा सुरु भएसंगै जुनसुकै बेला पनि ती बस्ती नदीको भेलमा पुग्न सक्ने जोखिम रहेकाले तत्काल त्यस क्षेत्रका स्थानीयको जीउ धनको सुरक्षाको व्यवस्था मिलाउन सरकारसंग माग गरे ।
-विरल वर्षाका कारण वीरगन्जको जनजीवन कष्टकर बनेको छ । वर्षापछि आएको बाढीका कारण विभिन्न स्थानहरु डुबानमा परेको स्थानीय प्रशासनले जनाएको छ । वीरगंजको मुर्ली बगैचा, श्रीपुर, पानीट्यांकी, आदर्शनगर, नगवा, जिल्ला प्रशासन कार्यालय पर्सा परिसर, लगायतका वडाहरु डुबानमा परेको हो । निरन्तरको भईरहेको बर्षाले कतिपय स्थानमा पानी घर भित्र पस्न थालेपछि सर्वसाधारण डबान पर्ने डरले त्रसित भएका छन् । गतबर्ष आएको बर्षासँगैको बाढीले मध्यतराईमा जनधनको निकै क्षति भएकोले यस पटक पनि त्यस्तो घटना दोहोरिन सक्ने सर्वसाधारणहरुलाई चिन्ताले सताएको छ । हिजो सांझदेखि परेको पानीले वीरगन्ज महानगरपालिकाको विभिन्न भाग पनि जलमग्न भएका छन् ।
-अविरल वर्षासँगै बगेको पहिरोका कारण यहाँको म्यागङ गाउँपालिका–४ साविक किम्ताङ गाविसको वडा नं ७ का १७ परिवार विस्थापित भएका छन् । पहिरोले ११ रोपनी क्षेत्रफल खेतीयोग्य भूमि बगाउँदै बस्तीतर्फ झरेपछि स्थानीय प्रशासनले उनीहरुलाई आज उद्धार गरी चन्द्रदेवी माध्यमिक विद्यालयमा स्थानान्तरण गरेको हो । विसं २०२८ देखि बग्दै गएको पहिरोबाट पीडित किम्ताङबासीलाई यसवर्ष वर्षा शुरु हुनुपूर्व नै बलच्युङ र खरबारीबाट झरेको पहिरोले बस्तीमा क्षति पु¥याएकाले त्यहाँ रहेका १७ घरधुरीका करीब १०० जनालाई सुरक्षित स्थानमा सारिएको गाउँपालिका उपाध्यक्ष शान्ति गुरुङले जानकारी दिए । उनका अनुसार शुक्रबार रातिदेखि बग्न शुरु गरेको पहिरोले खेत बगाएर आइतबार राति बस्तीसम्म पुगेकाले उनीहरुलाई आज विद्यालयमा स्थानान्तरण गरिएको हो । पहिरोले घरमा क्षति पु¥याउन थालेपछि गाउँपालिका र वडा कार्यालयको पहलमा पहिरो पीडित सूर्यमान तामाङ, बुद्धे तामाङ, हरिप्रसाद घले, दलबहादुर तामाङ, देसीमायाँ तामाङ, फुलबहादुर तामाङ, धनसिंह तामाङ, सिंकर तामाङलगायतका परिवार विद्यालयमा आश्रित छन् । पहिरोले घरमा क्षति पु¥याएको निमा लामा तामाङ, मोई घले, सोनम तामाङ, आइतराम तामाङ, कमानसिंह तामाङ, आइतमान तामाङ, गंगामायाँ घले, छन्त लामा तामाङ र धनमायाँ घलेको परिवारलाई पनि विद्यालयमा सारिएको छ ।
-दुई दिनदेखि लगातार परेको वर्षाका कारण वीरगञ्ज नगरपालिकाको आधादर्जन वडा डुबानमा परेका छन् । महानगरपालिकाले समयमै नालीको सरसफाइ नगराएको र लगातार परेको वर्षाको पानी नाली बाहिरै रुमल्लिदा श्रीपुर, मुर्ली, नगवा, कुम्हाल टोल, प्रगतिनगर लगायतका वडाका बस्ती डुबानमा परेका हुन् । वर्षाको पानी घरमै पसेपछि सर्वसाधारणलाई खाना बनाउनसमेत समस्या भएको वीरगञ्ज महानगरपालिका–११ श्रीपुर निवासी मनोज महतोले बताए । सडकको पानी जम्मा भएकाले विद्यार्थीलगायत सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । पानीको अभाबमा धानको रोपाइँ मात्र २ प्रतिशत भएको यस जिल्लामा दुई दिनदेखि परेको आकासे पानीले रोपाइँ हुने वातावरण बन्दै गएपछि यहाँका किसान हर्षित भएका छन् ।
-अविरल वर्षाले वैजनाथ गाउँपालिकाको वनकटुवास्थित जेठी नालामा आएको बाढीले बगाउँदा आज एकजना बेपत्ता भएका छन् । नालाको बाढीले बगाउँदा वैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलबहादुर बुढा बेपत्ता भएको प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिए । बुढाको खोजी भइरहेको छ । आइतबार साँझदेखि भइरहेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँ जलमग्न भएका छन् ।
-आइतबार रातिदेखि परेको वर्षासँगै आएको बाढीका कारण भरतपुर, माडी, ठोरी हुलाकी सडक अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय माडीले दिएको जानकारी अनुसार खहरे खोलामा आएको बाढीका कारण माडी नगरपालिका–३ र ६ जोड्ने रौतनी खोलाको पुल भाँच्चिदा सवारी आवागमन बन्द भएको हो । पुल भत्किँएसँगै भरतपुर माडी–ठोरी खण्डमा सवारी सञ्चालन हुन सकेका छैनन् । इलाका प्रहरी कार्यालयसँगै रहेको सो पुल बिहान ९ बजे भत्किएको प्रहरीले जनाएको छ । माडी क्षेत्रमा वर्षा नरोकिएका कारण खोलामा पानीको बहाब उच्च भएको छ ।
-गातारको अविरल वर्षाका कारण सिरहाको मिर्चैयामा पानी जमेकाले जनजीवन प्रभावित भएको छ । गत शनिबारदेखिको वर्षाका कारण मिर्चैयाको केन्द्रबिन्दु मानिने थाना चोक, बजार एरिया र कटारी चोकलगायतका स्थानमा पानी जमेकाले आवतजावतमा समस्या भइरहेको छ । नालाको उचित व्यवस्थापनको अभावमा पानीको निकास नहुँदा पूर्व पश्चिम राजमार्गमा समेत पानी जमेकाले सवारीसाधन आगमनमा समस्या भइरहेको हो । मिर्चैयाको थाना चोक एरिया र बजार एरियाको अधिकांश घरमा पानी पसेको छ । वर्षाले मिर्चैयाका सडक तथा बाटो जलमग्न र हिलाम्य भएको छ । नगरभित्र ढल तथा पानी निकासको लागि नालाको उचित व्यवस्थापन नहुँदा सामान्य वर्षा हुँदा पनि पानी सडकमै जम्ने गरेकाले हिलाम्य हुने गरेको छ । अविरल वर्षाका कारण जिल्ला मिर्चैयाको साथै गोलबजार, लहान, सुखीपुर, कल्याणपुर, बस्तीपुर, धनगढीमाई, सिरहा सदरमुकामलगायत ग्रामीण क्षेत्रको सडक हिलाम्य र जलाम्य भएको छ ।
-आइतबार साँझदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपास क्षेत्र जलमग्न भएको छ । निरन्तर वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत बेलासपुर, धम्बोझी, सेतु विक चोक, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँलगायत स्थानमा पानी जमेर आवतजावतमा समस्या भएको छ । पानी जमेपछि बिहानै विद्यालय तथा कलेज जाने विद्यार्थी जान सकेका छैनन् भने पैदलयात्रीलाई अप्ठेरो भएको छ । नेपालगञ्जका विभिन्न सडक तथा नाली निर्माणको कार्यले ढल निकासको व्यवस्थापन नहुँदा पानीको मुहान थुनिएर पानी जमेको हो । वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । वर्षाले नदीमा बाढी आउने जोखिमले स्थानीय त्रसित बनेका हुन् । बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न जिल्ला विपत् व्यवस्थापन समितिले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सर्तकता अपनाउन आग्रह गरेको छ । बाँकेको कुसुममा राप्ती नदीको पानीको सतह दुई मिटर पुगेको छ । कुसुममा साढे पाँच मिटर सतह पुग्ने बित्तिकै राप्ती नदीको तल्लो तटीय क्षेत्रका दर्जनौँ गाउँ डुब्छन ।
-नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि बिहान ५ः१० बजेदेखि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएकोमा पुन बिहान ८ बजे ठुलो चट्टान खसेपछि दुई तर्फी नै बन्द भएकोछ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ती स्थानमा ठुलो पहिरो गएकाले बाटो अवरुद्ध भएको हो । पहिरो पन्छाउन थालिएको भए पनि पानी परिरहेकाले पन्छाउन कठिन भएको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ । सरकारले उच्च जोखिममा रहेका भनिएको सडकखण्डमध्ये यो एउटा सडकखण्ड हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुई कालोपत्रे भएको भए पनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिम पूर्ण रहेको छ ।
-सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरो गएपछि बुटवल तानसेन सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखि परेको वर्षाका कारण आइतबार राति करीब ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा पर्ने हेडबक्स नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । सडकमा लेदो माटो र ढुंगासहितको पहिरो निरन्तर खस्ने क्रम नरोकिएकोले वर्षाका कारण पहिरो हटाउने कार्य अझै शुरु भएको छैन । सामान्य वर्षा हुने बित्तिकै सिद्धार्थ राजमार्गको उक्त क्षेत्रमा पहिरो खस्ने भएकाले यो राजमार्ग निक्कै जोखिमपूर्ण मानिन्छ । यस वर्षमात्र उक्त क्षेत्रमा पहिरोका कारण यसअघि राजमार्ग करीब चार पटक अवरुद्ध भइसकेको छ । पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट बुटवल आवतजावत गर्ने सवारीसाधन बाटोमै रोकिएका छन् ।
सम्बन्धित समाचार:
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij