काठमाडौँ । सरकारका कार्यकारी प्रमुखले नै एनसेलप्रति नरम बनिदिन करका हाकिमहरुलाई अनुरोध गरेको समाचार सार्वजानिक भइरहँदा आइतबार संसदको लेखा समितिले अर्थ मन्त्रालयलाई लाभकर उठाउन अल्टिमेटम दिएको छ ।
लामो समयपछि बसेको लेखा समितिको बैठकले उर्जा मन्त्रालय सम्हाल्न पुगेका जर्नादन शर्माले सभापति पद छोडेपछि गरेको यो महत्वपूर्ण निर्णय हो । एनसेलको शेयर खरिद/बिक्री प्रकरणमा भएको लाभमा लाग्ने पूँजीगत लाभकर तीन महिनाभित्र उठाउन अर्थ मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।
अर्थसचिव शान्तराज सुवेदी र आन्तरिक राजस्व कार्यालयका महानिर्देशक चुडामणि शर्माले सांसदले उठाएका प्रश्नको जवाफ दिएको बैठकमा सांसदहरुले एनसेलले तिर्नुपर्ने कर पूर्ण रुपमा भुक्तान नगरी फोरजी सञ्चालन प्रक्रिया रोक्न पनि माग गरेका थिए ।
आइतबारको बैठकले एनसेलको शेयर खरिद बिक्रीबापतको कर नउठाउने व्यक्तिमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दोहोर्याएर निर्देशन दिएको हो । स्मरणरहोस्, गत चैत १६ सम्ममा कर उठाउनका लागि समितिले यसअघि पनि निर्देशन दिएको थियो । एनसेलको कर सम्बन्धी विवादमा राष्ट्र बैंकका अधिकारीहरु समेत अख्तियारको छानबिनमा तानिएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij