
काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले नेपाली सेनालाई उच्च मनोबल तथा हौसलाका साथ नेपाल सरकारले दिएको जिम्मेवारी बहन गर्न निर्देशन दिएकी छन् । आज नेपाली सेनाको मुख्यालय जंगी अड्डा भ्रमणको क्रममा राष्ट्रपति भण्डारीले सो निर्देशन दिएकी हुन् ।
राष्ट्रपति भण्डारीले नेपाली सेनाले हालसम्म निर्वाह गरेको भूमिकाको प्रंशसा गर्नुहुँदै यो जिम्मेवारीलाई सदाझै बहन गर्न आग्रह गरेकी थिइन् । कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षाको महत्वपूर्ण जिम्मेवारी बोकेको सेनालाई आवश्यक सहयोग गर्न रक्षा मन्त्रालय तथा नेपाल सरकार सदैव सकारात्मक रहेको बताएका थिए ।
कार्यक्रममा प्रधान सेनापति राजेन्द्र क्षत्रीले स्वागत मन्तव्य राख्नुहुँदै नेपाली सेनाको सवलीकरण, सुदृढिकरण र सांगठनिक विकास तथा पारम्परिक मर्यादा अक्षुण्ण राख्नको लागि नेपाल सरकारबाट प्राप्त सहयोग तथा भूमिका महत्वपूर्ण रहेको र नेपाली सेनाले सदैव राष्ट्रिय स्वार्थलाई सर्वोपरि राखी कार्य गर्दै आएको दाबी गरेका थिए ।
उक्त कार्यक्रममा राष्ट्रपति कार्यालय तथा रक्षामन्त्रालयका पदाधिकारीहरु लगायत नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij