२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

चार दिनअगावै भित्रियो मनसुन

चार दिनअगावै भित्रियो मनसुन

काठमाडौं । यसपटकको मनसुन गत वर्षभन्दा ४ दिनअगावै नेपाल भित्रिएको छ। अंग्रेजी महिनाको जुन १० तारिखमा नेपाल भित्रिने मनसुन गत वर्ष २ दिन ढिलो नेपाल प्रवेश गरेको थियो भने यसपटक छिट्टै भित्रिएको छ।

शुक्रबार बिहान पूर्वी भेगको झापा र आसपासका जिल्लामा मनसुन प्रवेश गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ‘यसपटक मौसमी क्यालेन्डरभन्दा अघि नै मनसुन भित्रिएको छ’, महाशाखाका मौसमविद् सुवास रिमालले भन्नुभयो– ‘मनसुनी वायु मध्यमस्तरको भएकाले देशैभर फैलिन भने केही दिन लाग्नेछ।’

गत वर्ष जुन १२ मा भित्रिएको मनसुन सन् २०१६ मा ५ दिन ढिलो गरी शुरू भएको थियो। त्यसै गरी २०१५ मा ३ दिन र २०१४ मा १० दिन ढिलो गरी शुरू भएको थियो। मनसुन बंगालको खाडी दक्षिण भारत हुँदै क्रमशः म्यानमार, भारतकै कोलकाता, सिक्किम, बंगलादेश हुँदै मुलुकको पूर्वी भेगबाट भित्रिने गर्छ।

दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोप)ले दक्षिण एसियामा सबैभन्दा पहिला भारतको केरलामा मे ३० तारिखमा मनसुन शुरू हुने ‘मौसमी क्यालेन्डर’ तय गरेको छ।

यसपटक त्यहाँ ४ दिनअगावै गत मे २६ तारिख (जेठ १२) मा सक्रिय बनेको मनसुन क्रमशः अन्यत्र फैलिएको थियो। साधारणतया अंग्रेजी महिनाको जुनदेखि सेप्टेम्बरसम्मको ४ महिनालाई दक्षिण एसियाली मनसुन अवधि मानिन्छ। करिब ४ महिनाको अवधिमा नेपालमा वार्षिक वर्षाको ८० प्रतिशतका वर्षा हुने जल तथा मौसम विज्ञान विभागको तथ्यांक छ।

विगतका वर्षभन्दा यसपटक नेपालका अधिकांश भेगमा औसतका हाराहारीमा वर्षा हुने सास्कोपको ठहर छ। मनसुन अवधिमा मुलुकको औसत वर्षाको मात्रा १४ सय ९६ दशमलव ७ मिलिमिटर हो भने काठमाडौंको वार्षिक औसत वर्षा १४ सय ५४ दशमलव ८ मिलिमिटर हो। विश्व मौसम संगठनको अगुवाइमा दक्षिण एसियाका मौसमविद् आबद्ध ‘सास्कोप’ले हरेक वर्ष मनसुन अघि र पछिको गतिविधि विश्लेषण गर्दै आएको छ।

मौसमविद्हरू सरदर वर्षाको ९० देखि १ सय १० प्रतिशतसम्मलाई सामान्य र सोभन्दा कम अथवा बढी झरी भएमा क्रमशः न्यून र अधिक वर्षाका रूपमा बुझ्ने गर्छन्।

यसपटक अधिकांश भेगमा औसत वर्षाको मात्रा नाघ्ने मौसमविद्को आकलन रहेकाले आकाशे झरीका भरमा हुने रोपाइँ र अन्य कृषि उपजको उत्पादन बढ्ने अनुमान गरिएको छ। हिन्द र प्रशान्त महासागरसहित दक्षिण एसियाको समग्र मौसमी अवस्था विश्लेषण गरेर सास्कोपका विज्ञले मनसुनी दृष्टिकोण बनाउने गर्छन्।

मनसुन अवधिमा मुलुकको औसत वर्षाको मात्रा १४ सय ९६ दशमलव ७ मिलिमिटर हो भने काठमाडौंको वार्षिक औसत वर्षा १४ सय ५४ दशमलव ८ मिलिमिटर हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij