२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

मोदीको भ्रमण तयारी अन्तिम चरणमा

मोदीको भ्रमण तयारी अन्तिम चरणमा


काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वैशाख २८ गतेदेखि हुने नेपालको दुईदिने राजकीय भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री मोदी भारत बिहारको पटनाबाट जनकपुर आउनुहुनेछ । त्यहाँ केही समय बिताएपछि काठमाडौँ आउनुहुने मोदीलाई टुँडिखेलमा स्वागत गर्नुका साथै गार्ड अफ अनर पनि दिइनेछ ।

प्रधानमन्त्री मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गर्नुहुनेछ । सोही दिन प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता र छलफल हुनेछ ।

सोही क्रममा दुवै देशका प्रमण्डलबीच औपचारिक बैठक हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले जानकारी दिनुभयो । त्यसपछि दुवै देशका प्रधानमन्त्रीले अरुण तेस्रो जलविद्युत् आयोजनाको संयुक्त रूपमा बटम थिचेर शिलान्यास गर्नुहुनेछ ।

प्रधानमन्त्री ओलीले विशिष्ट पाहुनाको सम्मानमा शुक्रबार रात्रिभोज आयोजना गर्नुहुनेछ । वैशाख २९ गते बिहानै प्रधानमन्त्री मोदी मुक्तिनाथको दर्शनका लागि मुस्ताङ जानुहुनेछ । उक्त दिन मुक्तिनाथ क्षेत्रमा सर्वसाधारणको आवागमनमा निषेध गरिएको जानकारी स्थानीय प्रहरीले दिएको छ ।

मुक्तिनाथको दर्शन गरेर काठमाडौँमा फर्कनुभएपछि मोदीलाई काठमाडौँ महानगरपालिकाले नागरिक अभिनन्दन गर्नेछ । कार्यक्रम सकिएपछि प्रधानमन्त्री मोदी स्वदेश फर्किने प्रवक्ता पौड्यालले जानकारी दिनुभयो ।

प्रवक्ता पौड्यालले केही कार्यक्रम थपघट हुुनसक्नेसमेत बताउनुभयो । भ्रमण अवसरमा प्रधानमन्त्री मोदीसित राजनीतिक दलका नेताले भेटघाट गर्ने कार्यक्रमसमेत छ तर त्यसको औपचारिक जानकारी भने अहिलेसम्म दिइएको छैन ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन आर्यालले भेटघाट कार्यक्रमका बारेमा छलफल चलिरहेको जानकारी दिनुभयो ।

मोदीको सवारी सुरक्षार्थ भारतीय सेना र नेपाली सेनाको हेलिकोप्टर परिचालन हुनेछन् । नेपाली सेनाका अनुसार त्यसका लागि भारतीय सेनाको तीनवटा हेलिकोप्टर नेपाल आउँदैछ । प्रधानमन्त्री मोदीको सुरक्षाका लागि गृह मन्त्रालयले जनकपुर, काठमाडाँैदेखि मुस्ताङको मुक्तिनाथसम्म सुरक्षाव्यवस्था प्रभावकारी बनाइएको जानकारी दिएको छ ।

गृहप्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले जनकपुर, काठमाडौँ र मुस्ताङ मुक्तिनाथसम्मको आवश्यक सुरक्षाव्यवस्था मिलाइसकेको बताउनुभयो । “गृह मन्त्रालयले सुरक्षाको सम्पूर्ण तयारी पूरा गरिसकेको छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij