काठमाडौं । प्रजातन्त्र र फागुन ७ नेपाली इतिहासमा नबिर्सिइने शब्द हुन् । ७ फागुन २००७ मा १ सय ०४ वर्षे जहानियाँ राणाशासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको थियो । ७ फागुनमा भएको परिवर्तनको पृष्ठभूमिमा ०४६ र ०६२/६३ का परिवर्तन भए । राणाशासनको अन्त्यसँगै ०७ सालले परिवर्तनको ढोका खोल्यो । विश्लेषक हरि शर्मा ०७ सालमा भएको प्रजातन्त्र स्थापनाले परिवर्तनका लागि मार्ग खोलेको बताउँछन् ।
१ सय ४ वर्षे राणाशासनले राजालाई समेत नारायणहिटी दरबारमा अघोषित बन्दी बनाएपछि प्रजातन्त्र चाहनेले राजा त्रिभुवनलाई दरबारबाट विराटनगर वा पाल्पा लैजान खोजेका थिए । राजा त्रिभुवन दरबारबाट निस्केर भारतीय दूतावासमा शरण लिई हवाईजहाजबाट भारत पुगे । यसपछि, नेपालको राजनीतिले अचानक जटिल मोड लिएको ०७ सालको क्रान्तिमा सक्रिय राजनीतिज्ञ विश्वबन्धु थापा बताउँछन् ।
पाल्पामा राणा नै बडाहाकिम भएकाले राजा त्रिभुवन विराटनगर जानु उपयुक्त हुने सल्लाह दिइयो । विराटनगरमा प्रजातन्त्र पक्षधरकै बाहुल्य थियो । राजा दिल्ली गएपछि ०७ सालको क्रान्ति दिल्ली सम्झौतामा टुंगियो । राष्ट्रिय कांग्रेस गान्धीको अहिंसावादी विचारबाट प्रभावित थियो । त्यही वेलामा भारतमा नेपालको राणाशासनबाट वितृष्णा भएर पुगेका सुवर्णशमशेरलगायत राणाहरूकै सक्रियतामा नेपाल प्रजातन्त्र कांग्रेसको स्थापना भएको थियो । राष्ट्रिय कांग्रेससँग जनशक्ति थियो ।
प्रजातन्त्र कांग्रेस आर्थिक रूपमा सम्पन्न थियो । नेपालमा प्रजातन्त्र स्थापनाका लागि दुवै पार्टी मिल्नुपर्ने विचार आउन थालेपछि ०६ सालमा दुवै दल मिलेर नेपाली कांग्रेसको गठन गरियो । कांग्रेसले सशस्त्र क्रान्तिको आह्वान गरेपछि देशव्यापी रूपमा आन्दोलन चर्कियो ।
प्रजातन्त्र स्थापनाका लागि सशस्त्र क्रान्ति गर्नुपर्छ भन्ने प्रजातन्त्र कांग्रेसको विचारसँग राष्ट्रिय कांग्रेस सहमत भएर पार्टी एकीकरण भयो । एकीकरणपछि प्रजातन्त्र स्थापनाको आन्दोलनले गति लियो । राणा शासकले नियुक्त गरेका बडा हाकिमले क्रान्तिकारीसँग आत्मसमर्पण गर्न थाले ।
प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले १९९७ को माघमा बलिदानी दिए । प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई मृत्युदण्ड दिइएको थियो ।
२००० सालपछि स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेस र नेपाल राष्ट्रिय कांग्रेसको ०६ सालमा एकीकरणपछि नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा ७ फागुन २००७ मा प्रजातन्त्र स्थापना गरेको थियो । ०७ सालअघि पृथ्वीनारायण शाहले राज गरेको गोरखामा समेत विद्यालय थिएन । त्यसवेला नेपालकै हाराहारीमा रहेका कोरिया, मलेसिया र थाइल्यान्ड अघि बढे पनि नेपालमा प्रजातन्त्रको स्थायित्व हुन नसकेकैले हालसम्म पछि परेको राजनीतिज्ञ थापाको बुझाइ छ ।
राणाशासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भयो । प्रजातन्त्र स्थापना भएको घोषणा गरियो । तात्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो ।
प्रजातन्त्र स्थापना भए पनि ७ फागुनमा राजा त्रिभुवनले घोषणा गरेबमोजिम संविधानसभा निर्वाचन भएन । कांग्रेसका तर्फबाट सरकारमा सहभागी नेताहरूले राजीनामा दिएपछि राणा–कांग्रेस संयुक्त सरकार ढल्यो । कांग्रेस सभापति मातृकाप्रसाद कोइरालाको नेतृत्वमा सरकार गठन भए पनि निर्वाचन भने हुन सकेन ।
निर्वाचन गराउन कांग्रेसले ०१४ सालमा भद्र अवज्ञा आन्दोलन गर्नुप¥यो । आन्दोलनपछि संविधानसभा नभई संसदीय निर्वाचन गराउन दरबार तयार भयो । ७ फागुन ०१५ देखि पहिलो संसदीय निर्वाचन सुरु भयो । कांग्रेसले दुईतिहाइ बहुमत ल्याएपछि बिपी कोइरालाको नेतृत्वमा सरकारमा जाने निर्णय गरे पनि दरबारले नमान्दा समय लाग्यो ।
१ पुस ०१७ मा सेनाको शक्तिका भरमा जननिर्वाचित सरकारलाई अपदस्त गरेपछि प्रजातन्त्र पुनःस्थापनाका लागि लामो आन्दोलन सुरु भयो । ७ फागुन ०४६ मा प्रजातन्त्र दिवसको अवसर पारेर सुरु गरिएको आन्दोलनले २६ चैत मा सफलता पायो । प्रजातन्त्र पुनःस्थापना भयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij