काठमाडौं । अष्टेलियाको सिड्नीस्थित म्याकडोनाल्ड रेस्टुरेन्टमा दुई जना नेपालीले एक जना युवतीलाई कुटपिट गरेका छन् । कुटपिट अभियोगमा प्रहरीले दुबै नेपाली युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पवन श्रेष्ठ र नोर्बु शेर्पा छन् । दुबैमाथि कुटपिट मुद्धा चलाइएको छ । उनीहरु मुक्त भएपनि प्रहरीले पासपोर्ट भने जफत गरेको छ । पर्यटक भिसामा गएका उनीहरुलाई फेब्रुअरीमा अदालतमा पेस गरिने भएको छ ।
प्रहरीका अनुसार, रेष्टुरेन्टमा गएका पवनले त्यहाँ उपस्थित एक महिलामाथि एक्कासी मुक्का हानेपछि बदलामा ती महिलाका केटा साथीले पनि पवनमाथि प्रतिआक्रमण गरेका थिए ।
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै याहु न्यूजले जनाएअनुसार, युवतीमाथि आक्रमण गर्ने पवनलाई ती युवतीका केटासाथीले मुक्का हान्दा उनी घाइते भएका थिए । उनको मुख रगताम्मे बनेको थियो । पवनलाई नोर्बुले साथ दिएका थिए ।
कुटाकुट चलिरहँदा रेष्टुरेन्टमा उपस्थित मानिसहरुले झगडा साम्य पार्ने कोसिस गरे सफल हुन सकेन । पछि प्रहरी आएर दुबैजना नेपाली युवालाई पक्राउ गरेको थियो ।
प्रहरीले ती दुई नेपाली युवा र केटीबीच कुनै चिनजान नभएको जनाएको छ । अपरिचित केटीमाथि नेपाली युवाहरु जाइलाग्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij