
डोटी । डोटीमा प्रदेश राजधानीको माग गर्दै चार दिनदेखि आमहड्ताल जारी रहेको छ।
आमहड्तालको चौँथो दिन आज पनि यातायातका साधन, बजार तथा सरकारी कार्यालय, गैह्रसरकारी संघसंस्था, शिक्षण संस्था सबै बन्द रहेका छन्।
एकहप्ता शान्तिपूर्ण आन्दोलन गरेको संघर्ष समितिले बुधाबारबाट आमहड्ताल गरेको थियो।
संघर्ष समितिले शनिबार पनि डोटीका विभिन्न ठाउँहरुमा सिठ्ठी बजाउँदै जनप्रदर्शन गर्नुका साथै दबाबमूलक सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ। सिठ्ठी जुलुसपछि सांस्कृतिक कार्यक्रममा परिणत भएको कार्यक्रममा दर्जनौँ स्थानीय कलाकार तथा स्रष्टाले आफ्नो कलामार्फत दबाब दिएका थिए।
चार दिनदेखि सडक, बजार सबै बन्द गरिएका छन्। जसले डोटी हुँदै सुदूरपश्चिमका पहाडी जिल्ला र तराई जिल्लातर्फ जाने यात्रुहरु पैदल हिँडेर जान बाध्य भएका छन्।
बन्दमा कुनै पनि गाडीहरुमा तोडफोड नभए पनि बन्दको अवज्ञा गर्ने एम्बुलेन्स, मोटरसाइकललगायत सवारी साधन नियन्त्रणमा लिएको छ । बन्दकर्ताले अछामबाट बिरामीको बाहना बनाउँदै डडेल्धुरातर्र्फ यात्रु लैजाँदै गरेको उपक्षेत्रीय अस्पताल डडेल्धुराको एम्बुलेन्सलाई समेत नियन्त्रणमा लिएका थिए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij