रुपन्देहीको मोतिपुर क्षेत्रमा प्रस्ताव गरिएको मोतिपुर औद्योगिक करिडोर निर्माणको डिपिआरको तयारी भइरहँदा स्थानीयले भने आफूहरूसँग भएका सम्झौता कार्यान्वयन नगरे डिपिआर नै गर्न नदिने चेतावनी दिएका छन् ।
उनीहरुले आफुहरुलाइ सरकारले फसाएर सो स्थानबाट उठिबास लगाउन खोजेको दाबी गरेका छन् । ‘औद्योगिक क्षेत्र बिस्तार गर्दा आफूहरूसँग भएका पूर्व सम्झौता कार्यान्वयन नभए डिपिआर रोक्छौं, बरु हामीलाइ करिडोर नै चांहिदैन,’ प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्र प्रभावित बासिन्दाद्वारा गठित संघर्ष समितिका अध्यक्ष भीमप्रसाद न्यौपानेले भने ।
‘हामी इमान्दारिता देखाउने,सरकारले बेइमानी गर्ने,बस्ती उठाएर औद्योगिक क्षेत्र हामीलाइ आबश्यक छैन’ उनले भने । आफूहरूलाई कुनै जानकारी नदिई सरकारले औद्योगिक क्षेत्रको जग्गाको लालपूर्जा निकालेको भन्दै स्थानीय रुष्ट भएका हुन् ।
आफूहरूलाई बिस्थापित गर्न खोजिए कडा संघर्षका कार्यक्रम अगाडि बढाउने स्थानीय बाबुराम घिमिरेले बताए ।
प्रस्तावित क्षेत्रमध्ये रानीगञ्ज शिवनगरमा २ हजार ३ सय ५०, फर्साटिकरमा २ सय ८१, अमुवामा ९०, हरिहरपुरमा १ सय ४१, जनसंघर्ष टोल रानीगंजमा २ सय ६१ घरधुरीहरू, गरि ३ हजार १ सय २३ घरधुरी नै प्रभावित हुनेछन् ।
३ वटा विद्यालय, अन्य क्लवहरु औद्योगिक क्षेत्र निर्माण गर्दा प्रभावित हुने घिमिरेको भनाइ छ । त्यस क्षेत्रका जनताहरू बस्ती बचाउ अभियानमा निरन्तर संघर्षमा छन् ।
स्थानीयहरुले आफूहरूसँग भएका सम्झौता कार्यान्वयन गरी औद्योगिक क्षेत्रको लागि जग्गा व्यवस्थापन गर्न सरकारलाई आग्रह गरे । सरकारले साविकको मोतिपुर (हाल बुटवल) १९ र फर्साटिकर गाविसको ८ सय विगाहाभन्दा बढी जग्गामा औद्योगिक क्षेत्र स्थापनाको काम अगाडि बढाएको छ ।
यो जग्गामध्ये करिब ३ सय विगाहा जग्गामा बसोवास गर्दै आएका जनताहरू प्रभावित हुने देखिएको छ । सरकार पक्ष, बुटवल उद्योग वाणिज्य संघ र प्रभावित क्षेत्रका बासिन्दाबीच भोगचलन गर्दै आएको जग्गा र घरहरूलाई बिस्थापित नगर्ने, विद्यालय, क्लब संघ/संस्था, वनको २५ प्रतिशत जग्गालाई राखेर औद्योगिक क्षेत्र निर्माण गर्ने सम्झौता भएको प्रभावित क्षेत्रका स्थानीय बताउँछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij