
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका समकक्षी शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गरेर बधाई दिएका छन् ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले यसको जानकारी दिएका छन् । यद्यपी उनले दुई प्रधानमन्त्रीबीच के कुराकानी भयो भन्नेबारेमा आफूलाई जानकारी नभएको बताएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि फोन गरेको उनले जानकारी दिए ।
भारतीय विदेश मन्त्रालयमा आयोजित साप्ताहिक प्रेस बिफ्रिङमा प्रवक्ताले यस्तो जानकारी दिएका थिए ।
यता नेकपा एमालेले पनि भारतीय प्रधानमन्त्री मोदीले एमाले अध्यक्ष ओलीलाई टेलिफोन गरेर तीनवटै निर्वाचन सम्पन्न भएको खुसी व्यक्त गरेको जनाएको छ ।
एमालेका सचिव विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् ।
“निर्वाचनमा वाम गठबन्धनको ठूलो सफलताका लागि अध्यक्ष ओलीलाई वधाइ तथा शुभकामना दिँदै महामहिम मोदीजीले यस सफलताले नेपालमा लोकतन्त्रलाई सुदृढ बनाएको तथा निर्वाचनमा हासिल परिणाम र गठबन्धनको जीतले नेपालमा राजनीतिक स्थायित्व कायम हुने र आर्थिक विकास हुने विश्वास व्यक्त गर्नुभयो,” ज्ञवालीले विज्ञप्तिमा भनेका छन्, “उहाँले सरकार गठन लगत्तै भारत भ्रमणका लागि अध्यक्ष ओलीलाई निमन्त्रणा गर्दै आफू उहाँलाई स्वागत गर्न आतुर रहेको र नयाँ सरकारसँग सहकार्य गर्न प्रतिक्षारत रहेको बताउनुभयो ।”
ओलीले पनि अब आफ्नो ध्यान स्थायित्व, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक विकासमा केन्द्रित भएको बताउँदै यसका लागि छिमेकीहरुसँग सुसम्बन्ध कायम गरिने बताएका थिए ।
खास गरी भारत र चीनसँग शान्ति र समृद्धिका लागि सहकार्य गरिने बताउँदै उनले भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गर्दै सरकार गठन लगत्तै औपचारिक निमन्त्रणापत्र पत्र पठाइने बताएका थिए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि मोदीले साढे ४ बजे टेलिफोन गरेर बधाई दिएको दाहालको सचिवालयले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij