काठमाडौं । राजनीतिक तर्क र आधारविना नै माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो भने ओली सरकार ढलिसकेको अवस्थामा प्रधानमन्त्रीका सबैभन्दा अन्तिम उम्मेदवार मात्रै हुन् प्रचण्ड ।
काठमाडौं । सरकार ढाल्ने र नयाँ सत्ता गठबन्धन बनाउने प्रयासस्वरुप कांग्रेस नेतृत्व र माओवादी केन्द्रका एकथरी नेताहरुको भित्री सक्रियता पछिल्लो पटक बढेको छ । दिल्लीको भ्रमण सकेर फर्केपछि सरकार ढाल्न बैशाख तेस्रो साता चालेको निर्णायक कदमबाट थचारिएका कांग्रेस सभापति शेरबहादुर देउवाको अधैर्यतालाई उपयोग गर्न माओवादी केन्द्रका केही नेता सक्रिय देखिएका हुन् ।
कांग्रेस सभापति देउवा, नेताहरु बिमलेन्द्र निधि, प्रकाशशरण महत र वालकृष्ण खाँड लगायत र माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्मा सरकार परिवर्तनको खेलमा सक्रिय छन् । भेटवार्तामा कांग्रेस नेताहरुले सरकार परिवर्तनकै पक्षमा माओवादी रहेको हो भने पहिले सरकारलाई दिएको समर्थन फिर्ता लिएर अविश्वासको प्रस्ताव राख्न बारम्बार आग्रह गरिरहेका छन् । तर, आफ्नो नेतृत्वमा सरकार बन्ने पक्का नभई जनमानसमा लोकप्रिय रहेको सरकार ढालेर सरकारको लोकप्रियतामार्फत आर्जन गरेको राजनीतिक साख गिर्ने हो कि भन्ने आशंकामा माओवादी छ ।
कांग्रेस र माओवादी केन्द्रबीचको यही आशंकाले सरकार ढाल्ने दोस्रो प्रयासले सार्थक रुप लिन सकेको छैन । बरु, सम्पादकीय मार्फत बारम्बार राजनीतिक स्थायित्वको अमूर्त नारा दिने मुलधारका सञ्चारमाध्यमका लागि किन सरकार परिवर्तन भएन भन्ने छटपटीयुक्त ‘प्रोभोकेशन’का लागि बिकाउ पात्र बनिरहेका छन् ती नेताहरु ।
सरकार ढाल्ने कांग्रेसका बारम्बारका प्रयास असफल भए । ‘छिमेकी देशहरुसँग सम्बन्ध बिगारेको’ र ‘भूकम्प गएको एक वर्षसम्म पुनर्निर्माणको काम नगरेको’ भन्ने बनिबनाउ आरोप भन्दा केही छैन कांग्रेससँग । तर, कांग्रेस नेतृत्वका पालामा बिध्वंशक बनेको ‘मधेस’ आन्दोलन र भारतको नाकाबन्दीलाई राष्ट्रिय स्वार्थमा तलमाथि नपारी बिशाखापटनमको नयाँ बन्दरगाह उद्घाटन हुनु र उत्तरी छिमेकीसँगको पारवहन र ब्यापार सम्झौताले ‘छिमेकीसँग सम्बन्ध बिगारेका’ कांग्रेसको आरोप आफैं खण्डित भएको छ । भूकम्पपछिका ६ महिनासम्म ओच्छ्यान नै लगाएर सुतेको कांग्रेस सरकारले त्यसयताका सरकारका काममाथि गरेको विरोधको जग झन् कमजोर छ । त्यसैले सरकार ढाल्ने प्रयास जनमानसबाट सबैभन्दा आलोचित र अलोकप्रिय हुने कांग्रेस माओवादी दुबैलाई थाहा छ । सरकार ढाल्ने प्रयास थाल्दैका बखत उनीहरुबीच आशंका उत्पन्न हुनुको कारण पनि सरकारको लोकप्रियता नै हो ।
लोकप्रियताको जग बलियो भएको ओली सरकारबाट माओवादीलाई जति राजनीतिक लाभ छ, बनाउन खोजिएको गठबन्धनको यसअघि सार्वजनिक चरित्रले हुने क्षतिबारे राजनीतिमा चासो राख्ने प्राणी बेखवर छैनन् । तीन पटक प्रधानमन्त्री भएका ती देउवा र उनको लगाममा चल्ने सरकार ओली सरकारभन्दा कुन कामका लागि अब्बल होला ? यो धेरै दिमाग ख्याउनु पर्ने विषय होइन । वर्तमान सरकारमा सहभागिताबाट जस पाइरहेको माओवादीलाई उसकै नेतृत्वमा सरकार गठनको ललिपप देखाउँदा पनि देउवा असफल हुनुको कारण पनि यही हो ।
यद्यपी देउवा सत्ता खेलका दुई मोडल लिएर अघि बढिरहेका छन् । एउटा, उनी माओवादीलाई रिझाएर सकेसम्म आफ्नो नेतृत्वमा सरकार बनाउने । अर्काे, एमाले र माओवादी बाहेक नै बहुमत पुर्याएर आफ्नो नेतृत्वमा सरकार बनाउने । यी दुबै प्रयास देउवाले समानान्तर रुपमा चलाएका छन् ।
देउवाको पहिलो प्रयास माओवादीलाई पनि साथ लिएर सरकार बनाउने हो । त्यसो नगरे गैर कम्युनिस्ट सरकार बन्ने र ओली सरकारको लोकप्रिय विरासतले अर्काे चुनावमा कांग्रेसलाई ठूलो नोक्सान पुर्याउन सक्ने देउवाले बुझेका छन् । दुई कम्युनिस्ट एमाले र माओवादी सरकारबाट बाहिर रहने र ओली सरकारले गरेका थालनीको लोकप्रियता जनतामा बढ्दै जाने हो भने आउने चुनावमा बढरिनु पर्ने त्रासमा कांग्रेस छ । यसमा अर्काे जोखिमी के पनि छ भने त्यस्तो सरकार जस्तोसुकै बेला ढल्न सक्छ । चरम अविश्वासबीच पनि माओवादीलाई फकाउन कांग्रेस नेता त्यसै लागेका होइनन् ।
माओवादी कथं देउवाको आश्वासनको प्रभावमा परेन भने दोस्रो विकल्पमा पनि देउवा तयार छन् । सत्तामा पुग्न उनको अधैर्यता र छट्पटी जति बढ्दै जान्छ दोस्रो विकल्पको रफ्ता पनि त्यति नै बढाउादै लैजानेछन् देउवाले ।
उता माओवादीको समस्या अर्कै छ । कांग्रेस सत्ता परिवर्तन गर्न पहिले ओली सरकारलाई दिएको विश्वासमो मत फिर्ता गर भन्छ । अझ कांग्रेसको जोड अविश्वासको प्रस्ताव माओवादीले राख्नु पर्छ भन्ने छ । यसो गर्दा माओवादीलाई हुने समस्या दुईवटा छन् ।
एक, नयाँ गठबन्धन बनाउन वर्तमान गठबन्धन विरुद्ध अविश्वास प्रस्ताव राख्दा ओली सरकारमा सामेल भएर निर्माण गरेको लोकप्रिय छवि पुरै समाप्त हुनेछ । दुई, अविश्वास प्रस्ताव राखेर पहिल्यै सरकार ढालिदिंदा त्यसपछि देउवा नै सरकारको नेतृत्वका लागि अग्रसर भए भने सत्ताको निर्णायक खेलाडी भएर पनि फाल्तु जोक्कर हुने सम्भावना रहन्छ । यदि कांग्रेसले माओवादीकै नेतृत्वका लागि सहमति दियो भने पनि संसदमा गणितीय समीकरणका कारण त्यो सरकार कांग्रेसको निर्णायकत्व र निर्देशनबाट दायाँबायाँ हुन सक्ने छैन र कांग्रेसले चाहेका दिन ढल्नेछ । त्यस परिस्थितिमा अहिले बल्ल बल्ल आर्जन गरेको माओवादीको साख सधैंका लागि समाप्त हुनेछ । यो डरका कारण माओवादी अध्यक्ष प्रचण्ड जता पनि अर्थ लगाउन मिल्ने भाषण गर्दै हिंडिरहेका छन् ।
संसदीय गणितको खेलमा कांग्रेस र त्यसमाथि देउवा कति ‘इथिकल’ छन् वा छैनन् भन्ने कुरा बेग्लै छ । राजनीतिक तर्क र आधारविना नै माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो भने ओली सरकार ढलिसकेको अवस्थामा प्रधानमन्त्रीका सबैभन्दा अन्तिम उम्मेदवार मात्रै हुन् प्रचण्ड ।
माओवादी राजनीतिक बृत्तमा अर्काे एउटा चर्चा खुब चलेको छ । त्यो के हो भने अहिले सरकार परिवर्तनको खेलमा सर्बाधिक सक्रिय केन्द्रका नेताहरु महरा, वर्षमान र जनार्दन तीनै भाईलाई सबैभन्दा बढी त्रात्र अख्तियारमा परेको लडाकु शिविरको घोटाला मुद्दाकै छ । सरकार परिवर्तनको खेलमा अख्तियार फ्याक्टरलाई अदृश्य शक्तिकेन्द्रले प्रयोग गरेको पछिल्लो पटक बारम्बार चर्चा हुने गरेको पनि छ । के यी सबै सिधा र घुमाउरा परिदृश्यले मूर्त लिन सक्लान् ? मूर्त रुप लिन सकेनन् भने सरकार परिवर्तनको खेलमा लागेका रचनात्मक प्रतिपक्षी नेता शेरबहादुर देउवा फेरि थचारिनेछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij