
काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जनाएको छ । ६ लाख ३ हजार ७६० मतदाता र १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा ३२० मतदानस्थल र ७३१ मतदान केन्द्र तोकिएका छन् । त्यसमध्ये १४१ संवेदनशील र १७९ मतदानस्थल सामान्यमा राखिएको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले जानकारी दिए ।
पाँच हजार प्रहरी परिचालन
दोस्रो चरणमा निर्वाचन हुन लागेमध्ये मतदाताका हिसाबले सबैभन्दा ठूलो जिल्ला हो काठमाडौं । प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार मतदानका दिन निर्वाचन सुरक्षाका लागि पाँच हजार प्रहरी परिचाल गरिनेछ । “निर्भय वातावरणमा चुनाव सम्पन्न गराउन कुनै कसर बाँकी राख्नेछैनौँ । मतदानस्थलको सुरक्षालाई ध्यानमा राखेर आवश्यकताअनुसार सुरक्षा फौज बोलाउन सक्ने गरी सुरक्षा व्यवस्था मिलाएका छौँ,” उनले जानकारी दिए, “केही ठाउँमा सशस्त्र प्रहरी, केही ठाउँमा नेपाली सेनाको आधार शिविरसमेत छन्, सुरक्षा व्यवस्था चुस्त बनाएका छौँ ।”
मतदान अधिकृत मतदानस्लथमा
काठमाडौँका सबै मतदान केन्द्रबाट यसअघि लिन छुटेका र पछि थपिएका मतदाताको परिचयपत्र वितरण भइरहेको क्षेत्रीय निर्वाचन अधिकृत विनोदकुमार दाहालले जानकारी दिए । उनका अनुसार सम्बन्धित केन्द्रका मतदान अधिकृतहरूले सर्वदलीय बैठक बोलाउने, मतदान गर्ने ठाउँ बनाउने काम गरिरहेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij