२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

कसरी हुन सक्छ नेपालको विकास

कसरी हुन सक्छ नेपालको विकास

हाइड्रो कन्सल्ट ईन्जिनियरिङका प्रमुख कार्यकारी अधिकृत मनोहर श्रेष्ठ नेपालमा निर्माण हुने अायाेजनाकाे निम्ति नेपालीहरू नै सक्षम भइसकेकाे कारण स्वदेशी परामर्लाशदाता कम्पनीलार्इ नै  प्रोत्साहन दिनुपर्ने बताउँछन् ।

श्रेष्ठका अनुसार नेपालमा ठूला प्रोजेक्ट शुरु गर्ने योजना बनाउने क्रममा ती योजनाको सम्भाव्यता अध्ययन, मुल्याङ्कन लगायतको निम्ति पछिल्ला बर्षहरुमा विदेशी कन्सल्टेन्सी फर्महरुलाई विशेष ग्राह्यता दिने गरिएको छ । तर सबैभन्दा नेपालमा नै सञ्चालनमा रहेका कन्सल्टेन्सी फर्महरुलाई नै विशेष ग्राह्यता दिनु आवश्यक रहन्छ । नेपालमा नै भएका कन्सल्टेन्ट फर्महरु पनि १÷२ सय मेघावाटका आयोजनाहरु निर्माणको निम्ति सफल नै भइसकेका छन् ।

उनै श्रेष्ठले नेपालकाे समृद्दिकाे निम्ति गर्नुपर्ने कामहरूलार्इ यसरी विष्लेषण गर्छन् ।

दक्षता अभिवृद्धि ः–

नेपालमा सञ्चालनमा रहेका कन्सल्टेन्सी फर्महरु पनि पछिल्लो समय क्षमतावान् बन्दै गएका भएपनि समयानुकुल उनीहरुको क्षमता विकासको निम्ति तालिम तथा दक्षता अभिवृद्धिको निम्ति वर्कशपहरु पनि सञ्चालन गर्नु आवश्यक छ । शैक्षिक जनशक्तिहरुको यस क्षेत्रमा प्रवेश बढ्दै गएको भएपनि सैद्धान्तिक ज्ञान भएका जनशक्ति एकैपटक कार्यस्थलमा खटेर काम गर्नको निम्ति शुरुमा निकै नै गाह्रो हुन सक्छ । यसकारण उनीहरुलाई व्यावहारिक क्षमता विकासको निम्ति तालिमहरु पनि सञ्चालन गर्नुपर्ने आवश्यकता रहन्छ ।

क्षमतावान् नेतृत्वको खाँचो ः

पछिल्लो समय नेपालमा पनि विभिन्न नयाँ परियोजना बन्ने क्रममा छन् । राम्रा परियोजनाको निम्ति नेपालमा लगानीको स्रोत जुटाउन अबका दिनमा गाह्रो छैन । तर त्यस परियोजनालाई राम्रो तवरले सञ्चालन गर्नको निम्ति भने क्षमतावान् नेतृत्वको आवश्यकता पर्छ । कुनै संस्थालाई राम्रो तवरले हाँक्नको निम्ति संस्थामा आवद्ध सबैजना मानिसहरु क्षमतावान् नै हुनु जरुरी रहन्छ । तर आयोजना बन्ने क्रममा पहिले नेपाली लगानीलाई नै आकर्षित गर्नुपर्छ । यदि नेपाली लगानी अपुग हुने अवस्था आयो भने मात्र आर्थिक स्रोत जुटाउनको निम्ति विदेशी लगानीकर्तालाई गुहार्नुपर्छ ।

युवा पलायन रोक्न स्वदेशमै अवसर ः–

पछिल्ला बर्षहरुमा नेपालबाट राम्रो अवसर नभएको कारणले रोजगारीको निम्ति शैक्षिक जनशक्ति विदेशिने प्रचलन निकै नै बढेको छ । उनीहरुलाई यहीँ नै रोक्नुपर्छ । यसको निम्ति उनीहरुलाई नेपालमा नै अवसर प्रदान गरिनुपर्छ । यो काम त्यतिबेला सम्भव हुन्छ, जतिबेला नेपालमा थुप्रै विकासका आयोजनाहरु बन्न सक्छन् । अहिलेको अवस्थामा नेपालमा यस्ता विकासका कामहरु ठूलो सङ्ख्यामा हुन सकेका छैनन् । यसकारणले अध्ययन सकिएपश्चात् रोजगारीको निम्ति बाहिरिनुको विकल्प छैन । यद्यपि नेपालमा अध्ययन पश्चात् केही समयको निम्ति थप ज्ञान हासिल गर्ने उद्धेश्यले नेपाली विद्यार्थीहरु विदेशमा जान चाहन्छन् भने हामीले उनीहरुलाई भने रोक्नुहुँदैन । उनीहरुले अध्ययन पश्चात् विदेशमा सिकेको ज्ञान, सीप र अनुभवलाई नेपालमा नै प्रयोग गर्न सक्थे । तर –अहिले भने यस्तो अवस्था छैन । नेपालबाट बाहिरिएका अधिकांश युवाहरु अध्ययन पश्चात् जीवन जिउने ठाउँको रुपमा विदेशलाई नै रोज्ने गरेका छन् ।

सम्भावित क्षेत्रहरुको खोजी

(क) जलविद्युत ः ऊर्जाको भरपर्दो स्रोत

जलविद्युतलाई नेपाल जस्तो मुलुकको निम्ति ऊर्जाको भरपर्दो माध्यमको रुपमा लिन सकिन्छ । ऊर्जालाई विकासको पुर्वाधार अन्र्तरगत निकै नै महत्वपुर्ण स्रोतको रुपमा पनि लिने गरिन्छ । यसकारण देशका अन्य सम्पुर्ण क्षेत्रको समेत विकास गर्नको निम्ति पनि ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राख्नु आवश्यक छ । जलविद्युत ऊर्जाको दिगो र भरपर्दो माध्यम समेत भएको हुनाले नेपालमा जलविद्युत आयोजनाहरुको स्थापना तथा विकास गर्नु अपरिहार्य छ । अहिलेको अवस्था सम्म आइपुग्दा नेपालका सबैजसो राजनीतिक दलले समेत यस कुरालाई राम्रोसँग बुझेका छन् । यसैकारण हुनुपर्छ, चुनावी घोषणापत्रमा समेत जलविद्युत उत्पादनलाई प्राथमिकतामा नै राखेको अवस्था छ ।

प्रयाप्त ऊर्जाको निम्ति आवश्यक छ इनर्जी मिक्सिङ ः

नेपालले पछिल्लो समय वैकल्पिक ऊर्जाका स्रोतहरुलाई पनि प्राथमिकतामा नै राख्दै आएको छ । यस अन्र्तरगत सौर्य ऊर्जा, थर्मल प्लान्ट, गोवर ग्यास, वायु ऊर्जा लगायत रहेका छन् । यी विभिन्न स्रोतका ऊर्जालाई विभिन्न परिवेश र अवस्था अनुरुप उपयोग गर्न सकिन्छ । नेपालमा अहिलेको अवस्थामा यी विभिन्न प्रविधिको प्रयोग गरेर इनर्जी मिक्सिङमा जाने हो भने हाम्रो आवश्यकता बमोजिमको ऊर्जा उपलब्ध हुन सक्छ । विगतको तुलनामा नेपालमा सौर्य ऊर्जा पनि हाल सुलभ दरमा नै उपलब्ध हुन सकेको अवस्था छ । यद्यपि नेपालमा यसलाई ठूलो परिणाममा उत्पादन गर्न सकिएको छैन । ऊर्जा प्राप्तिका अन्य विभिन्न माध्यम हुँदाहुँदै पनि विशेष जोड दिनुपर्ने मुख्य स्रोत भनेको जलविद्युत नै हो ।
(ख) कृषि ः

यदि नेपालको राम्रो तवरले विकास गर्ने हो भने नेपालमा जलविद्युतको अलावा कृषि क्षेत्र पनि राम्रो सम्भावना भएको क्षेत्र हो । नेपाललाई कृषिप्रधान देशको रुपमा पनि लिने गरिएको छ । तर नेपालमा कृषिमा युवा पलायन बढ्दो छ । कृषिमा कसरी शैक्षिक र जागरुक युवालाई आकर्षण गर्ने भन्ने कुरा निकै नै महत्वपूर्ण विषयको रुपमा रहेको छ । नेपालमा कृषिको विकास विना अन्य कुनै पनि हिसाबले हामी आत्मनिर्भर हुन सक्दैनौं । यसैकारणले गर्दा नेपालका युवाहरुलाई कृषिमा आकर्षित गर्न सक्ने नयाँ प्याकेजहरु ल्याउनु जरुरी छ ।

(ग) पर्यटन ः

नेपालको अर्को राम्रो सम्भावना भएको क्षेत्र पर्यटन हो । यद्यपि यस क्षेत्रको जुन तवरले विकास हुनुपर्ने हो, अहिले सम्म त्यस किसिमले पर्यटन क्षेत्रको विकास हुन सकेको छैन । पर्यटनसँग जोडिने हवाई सेवा अहिले पनि नेपालमा निकै महँगो छ । अधिकांश नेपालीहरु अर्थात आन्तरिक पर्यटकले यस सेवाको प्रयोग गर्न सक्दैनन् । यसको अलावा नेपालमा आउने विदेशीहरुको निम्ति पनि नेपाल महँगो गञ्तव्य बन्न पुगेको छ ।

(घ) अन्य ः

नेपालमा अहिले जलविद्युत आयोजनाहरु बढी चर्चामा रहने गरेका छन् । तर नेपालको भौगोलिक परिवेश र संरचना बमोजिम सबै ठाऊँमा जलविद्युतको मात्र सम्भावना छ भन्ने कुरा हुँदैन । कृषिमा आधारित आयमूलक कामहरु, पशुपालन, उद्योग लगायतको पनि नेपालमा राम्रो सम्भावना छ । तर नेपालमा यस्ता कृषि परियोजनातर्फ भने हाम्रो ध्यान जान सकेको पाईंदैन । फलफूल, जुस, डेरी, लगायतका उत्पादनहरुको पनि नेपालमा राम्रो सम्भावना छ । यसको अलावा परिवारमा आधारित पर्यटन, पर्यापर्यटन लगायतका विभिन्न किसिमका पर्यटनहरु नेपालमा निकै राम्रो सम्भावना बोकेका क्षेत्र बन्न सक्छन् । यसलाई वृहद रुपमा अघी बढाउनु जरुरी छ ।

स्थानीय आयोजनामा स्थानीयकै सहभागिता –ः

पछिल्लो समय नेपालमा जलविद्युत निर्माण हुने क्रममा स्थानीय जनताले पनि आफ्नो स्वामित्व खोजिरहेका छन् । उनीहरुलाई पनि सहभागी बनाउनको निम्ति नयाँ–नयाँ योजनाहरु ल्याउनु जरुरी छ । स्थानीय स्तरमा बन्ने आयोजनाबाट त्यहाँको स्थानीय समुदायको हितलाई पनि ध्यान दिनु जरुरी छ । यसो भएको खण्डमा आयोजनालाई अघी बढ्न पनि सजिलो हुन्छ । आयोजना दीर्घकालिन हुन सक्छ । स्थानीय समुदायलाई पनि फाइदा हुने र उनीहरुमा समेत अपनत्व महसुस हुने हुनाले कसरी उक्त आयोजनालाई सफल बनाउने भन्ने भावना जागृत हुन जान्छ ।

अधिक आयोजना ः अधिक विकासको अवधारणा

अहिले नेपालमा जलविद्युत आयोजना बनिरहेका ठाउँलाई नै हामीले हे¥यौं भने पनि पहिले बाटोघाटो, खानेपानी लगायतका सुविधाहरु उपलब्ध नभएको ठाऊँमा पनि आयोजनाकै कारण बाटोघाटो र खानेपानीको पहुँच विस्तार भएको छ । ऊर्जाको पहुँच पुगेको छ । यसबाहेक स्थानीय तहमा नै विभिन्न किसिमका सानातिना मीलमेसिनहरु सञ्चालन हुने अवस्था सिर्जना भएको छ । यति मात्र होइन मान्छेको सोच्ने क्षमता, काम गर्ने तरिका लगायतका बानी व्यहोरामा समेत परिवर्तन आएको हामीले पाएका छौं ।

विकासमा हुने राजनीतिको प्रभावमा न्यूनीकरण ः

नेपालमा अहिले पछिल्ला बर्षहरुमा जलविद्युत उत्पादन बढ्ने क्रममा नै भएपनि त्यहाँबाट उत्पादित जलविद्युतको वितरणको निम्ति भने प्रसारणलाइनको अभाव छ । यसले गर्दा नेपालमा उत्पादित विद्युत पनि सही तवरले वितरण हुन सकेको छैन । यसको मुख्य दोष हाम्रो नेतृत्ववर्ग नै हो ।
जलविद्युत उत्पादन पश्चात् नेपालमा वितरणको निम्ति प्रशारण लाइन कुन ठाऊँमा राख्ने भन्ने बारे धेरै पहिले बनेका योजनाहरु अहिलेलाई समेत त्यत्ति नै सान्दर्भिक छन् । तर नेपालमा सबैभन्दा दुख लाग्दो कुरा भनेको अधिकांश योजनाहरु कागजमा मात्र सीमित रहनु हो । यसले गर्दा पनि नेपालको राम्रो तवरले विकास हुन सकेन ।

इमान्दारीता ः–

यदि सही तवरले देशको विकास भएको हेर्ने इच्छाशक्ति हुने हो भने असम्भव भन्ने कुरा केही पनि हुँदैन । यद्यपि कामको जिम्मेवारी लिएका व्यक्तिहरुले भने जिम्मेवारीपुर्वक काम गर्नु जरुरी छ । हामी जुन ठाउँमा रहेर काम गरेका छौं, आफ्नो स्थानबाट इमान्दारीपुर्वक काम गर्ने हो भने नेपालको विकास हुनको निम्ति लामो समय लाग्दैन ।

अन्तर निकाय सहकार्य आवश्यक ः–

अहिलेको अवस्थालाई हेर्ने हो भने अधिकांश आयोजनाहरु दीर्घकालिन सोच बमोजिम बन्न सकेका छैनन् । यसो हुन नसक्नुमा दुइ वा सो भन्दा बढी व्यक्ति÷संस्था बीच जुन तवरले सहकार्य र समन्वय हुनुपर्ने हो, त्यो सहकार्य हुन नसक्नु पनि अर्को पक्ष हो । यसले गर्दा पनि नेपालमा एकपटक बनेका आयोजना÷पुर्वाधार आ–आफ्नो स्वार्थ बमोजिम भत्काउने÷लथालिङ्ग पार्ने गरेको पाइन्छ । उदाहरणको रुपमा सडकलाई नै लिन सकिन्छ । काठमाडौंमा कुनै सडक निर्माण पश्चात् केही महिनामा नै दूरसञ्चार प्रदायक, केवल सेवा प्रदायक, खानेपानी, ढल लगायतका विभिन्न संस्थाहरुले पटक पटक सडक भत्काउने काम गर्दै आएको हामीले देखेका छौं ।

उत्कृष्टलाई सराहना र दोषीलाई दण्ड ः

पछिल्लो समय नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङले नेपाललाई लोडसेडिङमुक्त बनाउनको निम्ति पहल गर्नुभयो, त्यसैको फलस्वरुप अहिले काठमाडौंका बासिन्दाहरुले लोडसेडिङकको महसुस गर्नुपरेको छैन । विस्तारै नेपालभर नै लोडसेडिङमुक्त बनाउने योजनामा हुनुहुन्छ ऊहाँ ।आखिर अहिले सम्म लोडसेडिङमा बाह्रै महिना बसिरहेका नेपालीहरुको निम्ति यो आश्चर्यको कुरा जस्तो लाग्नु स्वभाविक थियो तर अहिले वास्तविकता बनेको छ । यसले गर्दा मानिसहरुलाई थप जाँगरको साथ काम गर्नको निम्ति उनी प्रेरणाको पात्र समेत बनेका छन् । तर उनको विरोध गर्ने समूह पनि निकै सक्रिय छ । यदि उनले राम्रो काम गर्ने इच्छाशक्ति राख्दा पनि विरोध गर्ने हो भने उनीजस्ता राष्ट्रप्रेमी नेतृत्वको मनोबल कसरी बढ्ला ?
व्यवस्थापनमा चुस्तता हुने हो र नेतृत्व लिन सक्ने हो भने असम्भव लाग्ने काम पनि सम्भव हुँदो रहेछ । तर अहिले सम्म कसैमा पनि यसरी काम गर्ने इच्छाशक्ति नभएको कारणले गर्दा नै नेपालीहरुले बत्तीमुनि अँध्यारोमा बस्नुपरेको कुरा अहिले सबैजसोले महसुस गरेका छन् ।

राजनीतक नियुक्तिलाई नभई क्षमताको कदर अपरिहार्य ः

अहिले सम्मको अवस्थालाई हेर्ने हो भने नेपालमा अधिकांश माथिल्लो तहका मानिसहरुको नियुक्ति राजनीतिक विचारको आधारमा हुने गरेको छ । ‘राम्रोलाई साइड लगाएर हाम्रोलाई नै स्थान दिनुपर्छ’ भन्ने मान्यता नेपालको विकासको निम्ति सबैभन्दा ठूलो बाधक हो । प्रतिष्पर्धात्मक तवरले माथिल्लो तहमा पुग्ने र उसलाई कुनै अप्ठ्यारो नपार्ने किसिमले काम गर्ने अवसर दिइने हो भने मात्र सही अर्थमा नेपालको विकास हुन सक्छ । यसकारण कुनै पनि राज्यको माथिल्लो तहमा रहने मन्त्री सचिव लगायतका तहका मानिसहरु पनि प्राविधिक नै हुनु जरुरी छ । आफूलाई जुन क्षेत्रको बारेमा राम्रो ज्ञान छ, त्यही क्षेत्रमा नै राम्रो गर्न सक्ने हो । जबरजस्ती आफूलाई थाहा नभएको क्षेत्रमा आसिन गरेर त सम्बन्धित व्यक्तिले केही काम गर्न पनि सक्ने अवस्था रहँदैन । यस कुरालाई पनि विशेष महत्व दिनु जरुरी छ ।

अबको बाटो ः आर्थिक विकास

अबका दिनमा हाम्रो ध्यान आर्थिक विकासमा नै हुनुपर्छ । अव हामीले अपनाउने विकासको बाटो भनेको औद्योगिक विकास हो । अहिले विश्व सूचना र सञ्चारको माध्यमले जुन गतिले हिँडिरहेको छ, नेपालमा पनि हामी त्यही तवरले हिँड्नु जरुरी छ । यसको निम्ति नेपालमा निकै राम्रो सम्भावना भएको क्षेत्र हो जलविद्युत ।

विश्वमा नै नेपालमा जलविद्युत उत्पादनको प्रयाश निकै पहिले भएको मानिन्छ । नेपालमा जलविद्युतको क्षेत्रमा भएको लगानीको इतिहास निकै लामो छ । विश्वमा सर्वप्रथम अमेरिकामा सन् १८८२ मा जलविद्युत उत्पादन शुरु भएको पाइन्छ । त्यसको २९ बर्ष पछि नै नेपालको फर्पिङमा जलविद्युत उत्पादन शुरु भएको हो । तर नेपालमा यस पश्चात् निरन्तर रुपमा जलविद्युत उत्पादनले गति पाउन भने सकेन । नेपालमा जलविद्युत उत्पादनको इतिहास १ सय बर्ष भन्दा लामो भएपनि पछिल्ला केही दशक देखि यस क्षेत्रमा निजी क्षेत्रको प्रवेश भए पश्चात् भने जलविद्युत उत्पादनको कामले गति लिएको छ ।

तुलनात्मक रुपमा निजी क्षेत्र सफल ः राज्यले पनि सिक्न सक्छ
अहिलेको अवस्थामा नेपालमा राम्रो काम गर्न चाहने मानिसलाई राम्रो स्थानमा रहन नदिने परिपाटी विकास भएको छ । यसले गर्दा पनि नेपालमा राज्य मातहत हुने काममा लगानीको तुलनामा प्रतिफल निकै नै कम छ । खासगरी यो समस्या सरकारी सबैजसो संस्थाहरुमा कायम छ । तर नेपालमा निजी क्षेत्रमा भने यस किसिमको अवस्था नभएको र काम चोर प्रवृत्ति नभएको कारणले गर्दा निजी क्षेत्र तुलनात्मक रुपमा बढी सफल देखिएको हो ।

कमिसनतन्त्र ः विकासको बाधक

नेपालमा पछिल्लो समय कमिसनको लोभमा मात्र काम गर्ने प्रचलन भएको कारणले गर्दा नेपालले आशातित रुपमा उपलब्धिमुलक काम गर्न नसकेको हो । हामीले कोरियालाई र नेपाललाई पनि दाँजेर हेर्न सक्छौं । १९७० को दशकमा नेपाल र कोरियाको अवस्था एकै किसिमको रहेको नेपाल अहिले रोजगारी तथा उत्पादनको निम्ति विदेशमा नै निर्भर बन्दै गएको छ । कुनै समय नर्वेजियनहरुले नेपाललाई महँगो देश भन्ने अवस्था पनि थियो । तर अहिले परिस्थिति फेरिएको छ । नर्वेजियनहरुको र नेपालको अवस्थामा आकाश पातालको नै अन्तर छ ।

जोखिमको बीचमा सफल बन्दै निजी क्षेत्र ः–

अहिले नेपालमा निजी क्षेत्रबाट लगानी गर्नको निम्ति विभिन्न समस्याहरु हुँदाहुँदै पनि जोखिम उठाएर लगानी गरिरहेका छन् । यद्यपि निजी क्षेत्रमा भएको लगानीको प्रतिफल पनि राम्रो छ । यस्तो अवस्थामा नेपालमा सम्भावना नै नभएको होइन ।

यद्यपि ती सम्भावनाहरुको राम्रो तवरले व्यवस्थापन गर्नमा भने कमजोरी छ । जलविद्युतको नै कुरा गर्ने हो भने पनि नेपालमा निजी क्षेत्रबाटै उत्पादन हुँदै आएको जलविद्युत पनि प्रत्येक बर्ष बढ्दै गएको छ । उर्जा उपयोगकै कुरा गर्ने हो भने पनि नेपालमा प्रतिव्यक्ति उर्जा उपभोग छिमेकी देशहरुको तुलनामा पनि निकै नै कम छ । प्रतिव्यक्ति आय पनि नेपालीहरुको निकै नै कम छ । यस्तो अवस्थामा नेपालको विकासको निम्ति हामीले यी विकसित देशहरुबाट सिकेर त्यसै बमोजिम अघी बढ्नु जरुरी छ । हामी आशावादी हुने हो भने असम्भव हुने भन्ने हुँदैन ।

भारत र चीन ः नेपालको निम्ति व्यापक सम्भावना

नेपाल भारत र चीन जस्ता ठूला देशको बीचमा छौं । यो नेपालको निम्ति फाइदाको कुरा पनि हो । नेपालमा पर्यटन, जलविद्युत लगायतका पुर्वाधारको क्षेत्रमा भारत र चीनलाई लगानीको निम्ति आह्वान गर्नु जरुरी रहन्छ । अहिलेको अवस्थामा कुनै पनि देशले अर्को देशसँग हात थापेर माग्नु हुँदैन । यसो हुने हो भने कमजोर नै ठहरिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij