२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

निर्वाचनको मत सर्वेक्षण गरिए कारबाही हुन्छ: प्रमुख निर्वाचन आयुक्त

निर्वाचनको मत सर्वेक्षण गरिए कारबाही हुन्छ: प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई आधार मानेर कुनै माध्यम वा संस्थाले मत सर्वेक्षण गर्न नहुने बताएका छन्।

निर्वाचन आयोगमा आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त डा. यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पहिलो चरणको मतदान सम्पन्न भएको र दोस्रो चरणको मतदान यही मंसिर २१ गते हुन लागेको सन्दर्भमा निर्वाचनलाई लिएर मत सर्वेक्षण गरिनु निर्वाचन आचारसंहिताविपरीत हुने स्पष्ट पारे।

निर्वाचन आचारसंहितामा उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मत परिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न नहुने उल्लेख गरे।

एक प्रश्नको जवाफमा प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन आचारसंहिता विपरीत कसैले निर्वाचनलाई लिएर मत सर्वेक्षण गरेमा निर्वाचन आचारसंहिता उल्लंघन गरेबापतको कारबाही हुने जानकारी दिए।

उनले निर्वाचन आचारसंहिता विपरीत गरिने मत सर्वेक्षणबाट स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गराउने कार्यमा समेत नकारात्मक प्रभावपर्ने बताए।

प्रमुख आयुक्त डा. यादवले निर्वाचन आचारसंहिता विपरीत गरिने मत सर्वेक्षणलाई सञ्चारमाध्यममा स्थान नदिनसमेत सञ्चार माध्यमसँग आग्रह गरे। रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij