काठमाडौं । देशभर ७ सय १९ स्थानीय तह हुने भएको छ । स्थानीय तह पुनःसंरचना आयोगले स्थानीय तहको संख्या टुंगो लगाएर शुक्रबार सरकारलाई प्रतिवेदन बुझाएको छ । सरकारले आयोगको प्रतिवेदन बुझेपछि गाविस र नगरपालिकाको रूपमा रहेका स्थानीय निकाय अब संविधानबमोजिम स्थानीय तह बनेका छन् । यसअघि देशभरि २ सय १७ नगरपालिका र ३ हजार १ सय ५७ गाविस थिए ।
तीनै स्थानीय निकायहरूलाई पुनःसंरचना गरी आयोगले ७ सय १९ स्थानीय तह निर्धारण गरेको हो । अब मुलुकभर ४ महानगरपालिका, १२ उपमहानगरपालिका, २ सय ४१ नगरपालिका र ४ सय ६२ ओटा गाउँपालिका भएका छन् ।संघीयतासहितको संविधान जारी भएपछि स्थानीय निकायको पुनःसंरचना गर्नका लागि संविधानबमोजिम नै गत १ चैतमा आयोग गठन गरिएको थियो ।
आयोगले एक वर्षभित्रमा प्रतिवेदन दिने संवैधानिक व्यवस्था भए पनि सरकारले पटकपटक छिटो प्रतिवेदन दिन आग्रह गर्दै आएको थियो ।स्थानीय निर्वाचन गरेपछि मात्रै संविधान कार्यान्वयन अघि बढ्ने भएकाले निर्वाचनका लागि छिटो प्रतिवेदन दिन आयोगप्रति सरकारको आग्रह थियो ।
‘संविधानतः एक वर्षको अवधि भए पनि चुनावका लागि छिटो प्रतिवेदन दिन सरकारबाट पटक पटक सुझाव आएको थियो,’ शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाउँदै आयोगका अध्यक्ष बालानन्द पौडेलले भने, ‘सरकारलाई सघाउने हिसाबले नै हामीले पनि छिटो गरीकाम ग¥यौं ।’
आयोगले देशभरिको जिल्लागत स्थानीय तह तथा गाउँपालिका र नगरपालिकाको सीमा, केन्द्र, वडा विभाजन र नामकरणसहितको १ हजार ७ सय १८ पृष्ठ लामो प्रतिवेदन बुझाएको हो । प्रतिवेदन नेपाली कागजमा तयार पारिएको छ ।
गाउँपालिका ५ देखि २१ वडासम्मको बनाइएको छ भने नगरपालिका ९ देखि ३५ वडासम्मको बनाइएको छ । करिब १० महिना लगाएर तयार पारिएको प्रतिवेदनलाई १६ भागमा बाँडिएको छ । प्रतिवेदन तयार पार्ने क्रममा ५० हजारभन्दा बढी मानिस सहभागी भएको आयोगले जनाएको छ ।
७ सय १९ ओटै स्थानीय तहको जीआईएस प्रणालीको आधारमा तथ्यांक राखिएको छ । यही कारण तत्काल स्थानीय तहको निर्वाचन गर्न सरकारले चाहेको खण्डमा तथ्यांकको अभाव नहुने अध्यक्ष पौडेलको दाबी छ ।उनले अबको १० दिनभित्रै निर्वाचनका लागि आवश्यक सम्पूर्ण तथ्यांक मिलाइदिने प्रतिबद्धतासमेत व्यक्त गरे ।
‘नयाँ संरचनाको गाउँपालिका र नगरपालिका भएपछि निर्वाचन आयोगलाई तथ्यांक संकलन गर्न गाह्रो पर्छ कि भन्ने पनि छ,’ आयोग अध्यक्ष पौडेलले भने, ‘तर आयोगको तर्पmबाट के सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्छौं भने हामी टिम नै बसेर ८/१० दिनभित्रमा सबै तथ्यांकहरू मिलाइदिन सक्छौं, निर्वाचन आयोगलाई तथ्यांकको कारण अप्ठेरो पर्ने छैन ।’
आयोगले विशेष, संरक्षित र स्वायत्त क्षेत्र निर्धारण कार्य अब दोस्रो चरणमा गरिने जनाएको छ । विशेष, संरक्षित र स्वायत्त क्षेत्र राजनीतिक तथा प्रशासनिक युनिट नहुने भएकाले यसलाई दोस्रो चरणमा टुंगो लगाइनेछ ।
आयोग अध्यक्ष पौडेललका अनुसार आयोगले अब स्थानीय तहको सांगठिक संरचना, वित्तीय संरचना, केन्द्र, प्रदेश र स्थानीय तहबीचको समन्वयको ढाँचा, काठमाडौं उपत्यकाको एकीकृत विकासको ढाँचालगायत विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउने छ ।
संविधान कार्यान्वयनमा कोसेढुंगा : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तह पुनःसंरचना आयोगले प्रतिवेदन बुझाउनु संघीयता र संविधान कार्यान्वयनको कोसेढुंगा भएको बताएका छन् ।
उनले आयोगको प्रतिवेदन तयार हुनु संविधान कार्यान्वयनको दृष्टिकोणले महत्तवपूर्ण कदम भएको बताए । ‘आयोगले प्रतिवेदन बुझाएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘यो असाध्य संवेदनशील र दूरगामी महŒव राख्ने दस्तावेजको रूपमा छ र संविधान तथा संघीयता कार्यान्वयनको सन्दर्भमा यो एउटा कोसेढुंगा नै हो भन्ने मैले ठानेको छु ।’ उनले सत्ता पक्ष, प्रतिपक्ष र आन्दोलनरत दलहरूका नेतासँग छलफल गरी एक हदसम्म सबैलाई विश्वासमा लिएपछि नै आयोगको प्रतिवेदन बुझिएको पनि बताए ।
‘स्थानी तहको प्रतिवेदन तयार पार्ने सन्दर्भमा सरकारमा भएका पार्टी, प्रतिपक्ष र आन्दोलनरत दलहरूसँग पटकपटक छलफल भएको छ र समझदारी बनाइएको छ,’ दाहालले भने, ‘खासगरी संविधान संशोधनको सन्दर्भमा सर्वोच्चको पैmसलापछि अब संसद्को अवरोध हट्ने, सबै चिज प्रक्रियामा अगाडि जाने र निर्वाचनको मिति छिटै घोषणा गरेर निर्वाचनतिर जाने वातावरण बन्नेछ भन्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु ।’ आयोगको प्रतिवेदन बुझेपछि उनले प्रतिवेदन कार्यान्वयनमा लान आवश्यक अध्ययन गरी सरकारलाई सुझाव दिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशनसमेत दिए ।
सिंहले राखे फरक मत
शुक्रबार आयोगले सरकारलाई प्रतिवेदन बुझाए पनि आयोगका सदस्य सुनिलरञ्जन सिंहले प्रतिवेदनप्रति ४ बुँदे फरक मत राखेका छन् । उनले तराई मधेसमा त्यहाँको जनसंख्याको आधारमा स्थानीय तह निर्धारण नगरिएको भन्दै प्रतिवेदनप्रति असहमति जनाएका छन् ।
‘आयोगद्वारा बहुमतले निर्धारण गरिएको गाउँपालिका र नगरपालिकाको संख्या तराई मधेस क्षेत्रमा जम्मा जनसंख्याअनुसार गाउँपालिका र नगरपालिकाको संख्या निर्धारण नगरिएकाले मेरो फरक मत छ,’ सिंहको फरक मतमा उल्लेख छ । उनले आयोगले विशेष, संरक्षित र स्वायत्त क्षेत्रको निर्धारण अहिले नै नगरी अपुरो प्रतिवेदन दिइएकोमा पनि असहमति जनाएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij