
काठमाडौं । देशको शासकीय संरचना संघीय ढाँचामा गएसँगै राज्यका सबै निकायको खर्च भारीमा मात्र वृद्धि हुँदैछ । केन्द्रमा एउटा मात्र भएका संरचनालाई सातवटै प्रदेशसमा समेत विस्तार गर्नुपर्दा राज्यमाथि व्ययभार पनि त्यही अनुमापतमा वृद्धि हुने भएको छ ।
अब १० र २१ गते हुने चुनावबाट बन्ने संघीय संसद र प्रदेश संसदको खर्च अहिलेको तुलनामा तीन गुणाभन्दा बढी हुने देखिएको छ । राज्यका अरु निकाय जस्तै संघीयतमा गएसँगै संसदीय क्षेत्रको खर्चमा पनि भारी मात्रामा वृद्धि हुने भएको हो । अहिलेसम्म केन्द्रमा एउटा मात्र संसद भए पनि अब भने केन्द्रसहित सातवटै प्रदेशमा त्यस्तै किसिमको संरचना बन्दैछन् । सातवटै प्रदेशमा संसदीय संरचना बनेसँगै अहिलेसम्म केन्द्रमा संसदका लागि खर्च हुँदै आएको रकम भन्दा तीन गुणा बढी व्ययभार राज्य कोषमा थपिने भएको छ ।
अहिले केन्द्रमा एउटा मात्र संसद हुँदा वार्षिक एक अर्ब ७० करोड रुपैयाँ खर्च हुँदै आएकोमा अब त्यो खर्च बढेर ४ अर्ब २५ करोड रुपैयाँभन्दा माथि पुग्ने संसद सचिवालयले तयार पारेको अध्ययन समितिको ठहर छ । केन्द्रमा प्रतिनिसभाका दुई सय ७५ र राष्ट्रियसभाका ५९ गरी तीन सय ३ सय ३४ सांसद हुनेछन् भने सातवटा प्रदेशमा ५ सय ५० जना सांसद हुनेछन् ।
अब केन्द्रमा ३ सय ५० कर्मचारी आवश्यक हुनेछ भने प्रत्येक प्रदेशमा ५० जनाका दरले कर्मचारीको व्यवस्थापन गर्नुपर्ने सुझाव अध्ययन समितिले दिएको छ । जसअनुसार संघमा राष्ट्रियसभा र प्रतिनिधिसभा सञ्चालनका लागि झण्डै दुई अर्ब रुपैयाँ खर्च हुनेछ भने प्रदेशका लागि २ अर्ब ५५ करोड रुपैयाँ खर्च हुने संसद सचिवालयका प्रवक्ता एवं अध्ययन समितिका संयोजक भरतराज गौतम बताउनुहुन्छ ।
केन्द्रसहित सातवटै प्रदेशमा संसद चलाउनका लागि बैठक कक्ष, सचिवालय भवन, संसदीय दलको कार्यालय र पुस्तकालय आवश्यक पर्छ । तर, सरकारका कुनै पनि निकायले प्रदेशका लागि चाहिने भौतिक संरचना निर्माण गर्न लाग्ने खर्चको प्रक्षपण गरेका छैनन् । आवश्यक सबै पूर्वाधारहरुसमेतको खर्च हिसाब गर्दा नेपालमा संघीय प्रणाली निक्कै महंगो पर्नेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij