nepal
काठमाडौं । नेपाल मलेसियामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटको सेमिफाइनलबाट बाहिरिएको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा अफगानिस्तानसँग ७ विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
मलेसियाको किनरारा ओभलमा नेपालले दिएको १०४ लक्ष्य अफगानिस्तानले २० ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । योसँगै अफगानिस्तान पहिलोपटक एसिया कपको फाइनलमा पुग्न सफल भएको छ ।
यता, पहिलो पटक सेमिफाइनलमा पुगेको नेपालको फाइनल पुग्ने सपना सकिएको छ । अब अफगानिस्तानले उपाधिका लागि आइतबार पाकिस्तानको सामना गर्नेछ ।
नेपालले दिएको मध्यम लक्ष्य टेष्ट मान्यता पाइसकेको अफगानिस्तानले सहजै पुरा गर्यो । २४ रन बनाउदा ओपनर इब्राहिम जाद्रानलाई ३ रनमा गुमाएको अफगानिस्तानको लागि अर्का ओपनर रमुनुल्लाह गुर्बाजले अर्धशतकीय पारी खेल्दै जित दिलाए ।
सन्दिप लामिछानेको बलमा क्याच आउट भएका गुर्बाजले ६५ बलमा ९ चौका र २ छक्कासहित ७१ रन बनाए ।
त्यस्तै अफगानिस्तानका अब्दुल रासोल १२ रनमा अविजित रहदा इक्रम अली खिलले १८ रन जोडे । नेपालका सन्दिप लामिछाने, कमल सिंह एरी र पवन शार्रफले समान एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले २८ ओभरमा अलआउट हुँदै १०३ रन बनाएको थियो । अफगानिस्तानको किफायती बलिङसामु नेपालका अनिल कुमार साहले अर्धशतक बनाउनुबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन ।
मात्र ९ रन जोड्दा २ विकेट गुमाएको नेपालको लागि अनिलले ५७ बलमा ७ चौका र १ छक्कासहित ५० रन बनाए । नेपालका साहब आलम ७ रनमा अविजित रहे ।
त्यस्तै नेपालका लागि पवन शार्रफले ८, सन्दिप लामिछानेले ७ तथा कप्तान दिपेन्द्र सिहं ऐरी र भिम सार्कीले समान ६ – ६ रन जोडे । यस्तै आसिफ शेख सुन्य रनमा आउट हुँदा रोहित कुमार पौडेल ४ र जितेन्द्र सिंह १ रनमा बनाएर पेभेलियन फर्किए ।
नेपाललाई कम स्कोरमा अफगानिस्तानका मुजिब उर रहमानले एक्लैले ६ विकेट लिए भने अहमद कमवालले २ विकेट लिए ।
प्रतियोगितामा नेपाल समूह ए को उपबिजेता बन्दै सेमिफाइनल पुगेको हो भने अफगानिस्तान समूह बी को बिजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग २ विकेटको हार बेहोरेको थियो । बाँकी दुई खेलमा उत्कृष्ट पुनरागमन गर्दै भारतलाई १९ र आयोजक मलेसियालाई ८ विकेटले पराजित गरेको थियो ।
अफगानिस्तानले पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने श्रीलंकासँग ६१ रनले पराजित भएको थियो । आफ्नो अन्तिम खेलमा भने युएईलाई १३४ रनले पराजित गरेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij