२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

धुलो र धुवाँ हटाउनेलाई मत दिन्छौँ

धुलो र धुवाँ हटाउनेलाई मत दिन्छौँ

काठमाडौं । ‘कतिन्जेल खाने धुलो र धुवाँ !’‘दलका नेता हो यो सडकमा कति राजनीति गर्छौ?’

सेतो फ्लेक्समा कालो अक्षरमा लेखिएका यी चोटिला ब्यानर कङ्लकी–नागढुङ्गा सडकका ठाउँ ठाउँमा झुन्डेका छन्। स्थानीय पीडितका नाममा झुन्ड्याएका ब्यानर मुनिबाट अहिले दैनिक हजारौँ यातायातका साधन ओहोर दोहोर गर्दछन्।

सो सडकखण्डको अधिकांश खण्ड काठमाडौं निर्वाचन क्षेत्र नं १० अन्तर्गत पर्छ। त्यही सडकको दूरावस्था स्थानीय निकायको निर्वाचनमा स्थानीय उम्मेदवारका लागि चुनावी दाउपेच बनेको थियो। अहिले पनि सडकको विषय नै सो क्षेत्रका लागि चुनावी मुद्दा बन्ने भएको छ। चन्द्रगिरी नगरपालिका–१० का ७४ वर्षीय राजेश नकर्मी धुलो र धुवाँ हटाउने उम्मेदवारलाई आफ्नो मत दिने बताउनुहुन्छ। स्थानीय समाजसेवीसमेत रहेका नकर्मी भन्छन्, “सडक विस्तार र सुधारको विषयमा हिँड्दा हिँड्दै जुत्ता नै फाटिसक्यो, कति नेताका ढोका ढोका चाहारौँ कुरा गरी साध्ये छैन। दश वर्ष भो खै कहिले बन्ला?”

सडक विस्तारको विषयमा अदालतमा परेका धेरै मुद्दाको छिनोफानो भएको छैन। क्षेत्र नं १० अन्तर्गत कीर्तिपुर, दक्षिणकाली नगरपालिकासहित र चन्द्रागिरी नगरपालिकाका वडा नं २ देखि ११ वडा पर्दछन्। वि.सं. २०६४ र २०७० का संविधानसभा निर्वाचनमा जस्तै यस पटकको निर्वाचनमा पनि सो क्षेत्र चर्चाको उत्कर्षमा पुगेको छ। कुन दलका कुन उम्मेदवारले मतदाताका मन जिती निर्वाचनलाई आफ्नो पक्षमा ल्याउँछन् भन्ने विश्लेषण चिया पसलदेखि सार्वजानिक स्थानमा आआफ्नै रुपमा चल्न थालेको छ।

दोस्रो संविधानसभाको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अत्यधिक मतले पराजित गरेपछि नेपाली कांग्रेसका युवानेता राजेन्द्रकुमार (राजन) केसी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा सर्वाधिक चर्चाको शिखरमा पुगे। तर पहिलो संविधानसभाको निर्वाचनमा युवानेता केसी अध्यक्ष प्रचण्डद्वारा नै पराजय हुनु परेको थियो। निर्वाचन आउन २७ दिन बाँकी रहँदा सो क्षेत्रका कूल ७१ हजार २०१ मतदाता अहिले पर्ख र हेरको अवस्थामा रहेका छन्।

नेपाली कांग्रेसले तेस्रोपटक युवा खेलकुदमन्त्रीसमेत भएका केसीलाई नै तेहर्‍याएको छ। वाममोर्चाले हितमान शाक्यलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ।

प्रमुख रुपमा ती दुई पार्टीका दुई उम्मेदवारमध्ये एकले नै निर्वाचनलाई बाजी मार्नेछन्। खासगरी दक्षिणकाली र चन्द्रागिरि नगरपालिका काठ नगरपालिका रुपमा परिचित छन्। नयाँ ती दुई नगरपालिका नाम मात्रका नगरपालिका हुन्। पूर्वाधार सडक, खानेपानी जस्ता विकासका दृष्टिकोणले बत्तीमुनिका अँध्यारोका रुपमा रहेका छन्। उच्च राजनीतिक चेत र परिवर्तनको संवाहकका रुपमा कीर्तिपुरवासीलाई हेरिन्छ।

ती दुवै उम्मेदवार आन्तरिक निर्वाचन परिचालन समिति गठन गर्दै चुनावी रणनीतिका साथ जनताको घरदैलो शुरु गरिसका छन्। मन्त्री केसी आफूले जनताको सुखदुःखमा सधैँ साथ र सहयोग दिएकाले निर्वाचनमा जनताले मत दिई आफ्नो विजय हुने दाबी गर्छन्। उनी भन्छन्, “यो निर्वाचन लोकतन्त्र चाहने कि साम्यवाद ल्याउने बीचको प्रतिस्पर्धा हो।”

वाममोर्चाका उम्मेदवार शाक्य काठमाडौंका क्षेत्र दशका जनता परिवर्तनका संवाहक भएकाले परिवर्तनका पक्षमा आफूलाई मत दिने विश्वास व्यक्त गर्छन्। उनी भन्छन् “नेकपा (माओवादी) र नेकपा (एमाले) पार्टी मिल्दा लोकतन्त्र खतरामा हुँदैन, झन् बलियो हुन्छ।” रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij