२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

अमेरिकी राष्ट्रपति ट्रम्प चीनमा

अमेरिकी राष्ट्रपति ट्रम्प चीनमा

दक्षिण कोरियाबाट भने, ‘उत्तर कोरिया क्रूर तानाशाह’


बेइजिङ । एसियाली देशको ११ दिन लामो भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजधानी बेइजिङ पुगेका छन् । राष्ट्रपति निर्वाचित हुनुअघि र पछि समेत चीनविरुद्ध कडा अभिव्यक्ति दिएका ट्रम्पको यो पहिलो चीन भ्रमण हो । उनले चीनको व्यापार असमान भएको भन्दै चीनको चर्को आलोचना गरेका थिए भने चीनले संवेदनशील मान्ने ‘एक चीन नीति’ मा बहस हुनुपर्ने बताएपछि चीन रुष्ट बनेको थियो ।

चीन भ्रमणका क्रममा ट्रम्पले चीनसँगको व्यापार तथा उत्तर कोरियाको परमाणु कार्यक्रमका कारण उत्पन्न तनावका विषयमा गम्भीर छलफल गर्ने अनुमान गरिएको छ । परमाणु कार्यक्रमका कारण प्योङयाङमाथि संयुक्त राष्ट्रसंघ र अमेरिकाले कडा प्रतिबन्ध लगाएको छ ।

पछिल्ला प्रतिबन्धलाई चीनले समेत साथ दिए पनि अमेरिका चीन, उत्तर कोरियाविरुद्ध अझै कडा रूपमा प्रस्तुत होस् भन्ने चाहेको छ । ट्रम्पले उत्तर कोरियामाथि थप दबाब दिन चिनियाँ राष्ट्रपति सी जिनपिङलाई मनाउने प्रयास गर्नेछन् । चीनको राजधानी बेइजिङमा जिनपिङले ट्रम्पलाई भव्य स्वागत गरेका थिए ।

चीन आगमनअघि ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको खुलेरै प्रशंसा गर्दै उनको ठूलो राजनीतिक जितपछि उनलाई भेट्न चाहेको बताएका थिए । चिनियाँ कम्युनिस्ट पार्टीको हालै सम्पन्न महाधिवेशनबाट सी दोस्रो कार्यकालका लागि पार्टी महासचिव र राष्ट्रपतिमा निर्वाचित भएका थिए । महाधिवेशनले उनको विचारलाई संविधानमा सामेल गर्ने निर्णय गर्दै माओजत्तिकै हैसियत प्रदान गरेको छ ।

उत्तर कोरिया ‘क्रूर तानाशाह’:ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई क्रूर तानाशाह भएको टिप्पणी गरेका छन् । बुधबार बिहान दक्षिण कोरियाको संसद्लाई सम्बोधन गर्दै उनले सो टिप्पणी गरेका हुन् । एसियाको भ्रमणका क्रममा आइतबार जापान पुगेका उनी मंगलबार जापानबाटै दक्षिण कोरिया पुगेका हुन् । आफ्नो एसिया भ्रमणका क्रममा प्रायः उत्तर कोरियाका विरुद्धमा निकै आक्रामक बन्दै आएका राष्ट्रपति ट्रम्पले बुधबार बिहान दक्षिण कोरियाली संसद्लाई सम्बोधन गर्दै अमेरिकालाई कमजोर नठान्न पनि उत्तर कोरियालाई चेतावनी दिएका छन् ।

उनले भने, ‘उत्तर कोरियाजस्ता क्रुर र तानाशाहले अमेरिकालाई कमजोर ठान्ने होइन, आवश्यक पर्दा अमेरिकाले पनि देखाइदिन सक्छ ।’ २४ वर्षपछि पहिलो पटक अमेरिकी राष्ट्रपतिको हैसियतमा कोरिया पुगेका ट्रम्पले उत्तर कोरियाको चर्को आलोचना गरेका हुन् । उनले उत्तर कोरियालाई अत्याचारी, क्रूर र तानाशाही शासकको संज्ञा पनि दिए ।

उनले उत्तर कोरियालाई एक्लो बनाउन विश्वका सबै देशलाई आग्रह गरे । उनले चीनलाई पनि उत्तर कोरियाका कारणले विश्वमा मानवीय सभ्यता र शान्तिमाथि नै धावा बोलिरहेको अवस्थामा उसलाई साथ नदिन आग्रह गरेका थिए । उनले उत्तर कोरियाविरुद्धमा संसद्मा कडा सम्बोधन गरिरहँदा दक्षिण कोरियाका सांसदहरूले निकै उत्साहित भएर ताली ठोकेका थिए ।
एसिया भ्रमणको मुद्दा उत्तर कोरिया

उनको एसियाको भ्रमणको मुद्दा विशेषतः उत्तर कोरिया बनेको छ । उत्तर कोरियाको आणविक कार्यक्रम उनको मुद्दा बनिरहेको उनका जापान र दक्षिण कोरिया भ्रमणका अभिव्यक्तिहरूले पनि देखाएको छ । राष्ट्रपति ट्रम्पले मंगलबार मात्र पनि उत्तर कोरियालाई आफ्ना सबै परमाणु हतियारहरू परित्याग गरेर वार्ताको टेबलमा आउन र सबै विषयमा छलफल गर्न आह्वान गरेका थिए ।

राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा मंगलबार मात्र गरेको सम्बोधनमा अमेरिकाले प्योङयाङका विरुद्धमा सेना परिचालन गर्ने अवस्था नआओस् भनेर पनि सोचिरहेको दाबी गरेका थिए । एसिया भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनसँग पत्रकार सम्मेलनमा बोल्दै सो धारणा राखेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि भने आवश्यक परेमा उत्तर कोरियाका विरुद्धमा अमेरिकाले आक्रमण पनि गर्न सक्ने चेतावनी दिएका थिए । उनी एसियाका पाँच देशको भ्रमणमा छन् । तर यी सबै देशको भ्रमणमा पनि उनको मुद्दा उत्तर कोरिया र विशेषगरी यसको परमाणु हतियारको महत्वाकांक्षा बनेको छ । दक्षिण कोरियाको राजधानी सोलमा आयोजित सो विशेष पत्रकार सम्मेलनमा ट्रम्प र मुन नै उत्तर कोरियाका विरुद्धमा खनिएका थिए ।

उनीहरूले उत्तर कोरियाका सामु परमाणु हतियारविहीन बन्नु बाहेकको अर्काे विकल्प नरहेको कुरा बारम्बार दोहो¥याएका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले सुरुमै उत्तर कोरिया वार्ताको टेबलमा आएर सबै आफ्ना कुरा राख्ने र शान्तिपूर्ण रुपमा अघि बढ्न सकेमा मात्र उत्तरका लागि हित हुने सुझाव प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij