
काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरण अन्तर्गत नेपाल र हङकङबीचको दोस्रो खेल हुने सम्भावना न्यून भएको छ । आइतबार आएको सामुद्रिक आँधी (टाईफुन ८ ) र त्यसपछि लगातार वर्षा जारी हुँदा नेपाल र घरेलु टोलीबीचको खेल हुने सम्भावना न्यून भएको हो ।
नेपाल र हङकङबीच नेपाली समयअनुसार ६ः४५ मा सुरु हुनुपर्ने थियो । तर, पटक पटक वर्षा भए पनि मङककमा तय भएको खेल तत्काल नहुने भएको हो । हङकङ क्रिकेटका अनुसार अहिले खेल हुने क्षेत्रमा भारी वर्षा परिरहेको छ । जसको कारण ओभर छुट्टाएर पनि खेल हुने सम्भावना कम रहेको छ । आज खेल नभएको खण्डमा दुबै टोलीले १–१ अंक पाउनेछन् ।
यसअघि नेपाल र हङकङबीचको दोस्रो खेल आइतबार नै तय भए पनि सामुद्रिक आँधी (टाईफुन ८ ) को कारण सोमबार (रिजर्भ डे) सारिएको थियो ।
शुक्रबार भएको पहिलो खेलमा भने नेपाल घरेलु टोलीसँग ८३ रनले पराजित भएको थियो । पहिलो खेलमा ब्याट्सम्यान चल्न नसक्दा नेपाल पराजित भएको थियो ।
घरेलु टोलीविरुद्धको पहिलो हारसँगै नेपालको विश्वकप छनोट खेल्ने सम्भावनामा समेत धक्का लागेको थियो । सन् २०१८ मा हुने विश्वकप छनोटमा स्थान बनाउनका लागि नेपाललाई यो खेल निकै महत्वपूर्ण रहेको छ । छनोटमा स्थान बनाउन च्याम्पियनसिपको अन्तिम चारमा पर्नुपर्ने हुन्छ ।
छनोटको अन्तिम ४ मा स्थान बनाउनका लागि नेपाललाई अबको सबै खेलमा जित हात पार्नैपर्ने चुनौती रहेको छ ।
च्याम्पियनसिपको शीर्ष ४ मा नपर्ने टोली डिभिजन २ मा घटुवा हुनेछ । डिभिजन २ बाट शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउने प्रावधान रहेको छ ।
च्याम्पियनसिपको अन्तिम तथा सातौं चरणमा नेपालले युएईसँग डिसेम्बरमा उसैको मैदानमा खेल्दैछ ।
च्याम्पियनसिपमा नेपाल छैटौं स्थानमा छ भने हङकङ नेपाल भन्दा दुई स्थान माथि चौथो स्थानमा उक्लेको छ । नेपालको ११ खेलबाट ८ अंक रहेको छ । हङकङको भने ११ खेलबाट १३ अंक रहेको छ । तालिकाको शीर्ष स्थानमा नेदरल्याण्ड र दोस्रो स्थानमा पपुवा न्युगिनी छन् । तेस्रो स्थानमा स्कटल्याण्ड र पाँचौ स्थानमा केन्या रहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij