२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

८८ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्द सूची

८८ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्द सूची

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ भाग लिन भन्दै निर्वाचन आयोगमा दर्ता गरेका सबै दलले आइतबार निर्वाचन आयोगमा सूची बुझाएका छन् ।

आगामी मंसिर १० र २१ गते हुने तय भएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि दलहरुले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्द सूची पेश गरेका हुन् ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आयोगमा दर्ता भएका ८८ वटै राजनीतिक दलहरुले दुवै तहको निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची आयोगमा बुझाएको बताए ।

आइतबार साँझ आयोगको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी यादवले केही ढिलाई गरेर भएपनि सबै राजनीतिक दलहरुले उत्साहका साथ धैर्यतापूर्वक समानुपातिक उम्मेदवारहरुको बन्द सूची बुझाएको जानकारी दिए ।

निर्वाचन आयोगले समानुपातिक तर्फको उम्मेदवारको सूची बुझाउन आइतबार विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्मको समयसीमा तोकेको थियो । तर, ठूला दलहरु काँग्रेस, एमाले, माओवादी केन्द्र लगायतका राजनीतिक दलहरुले भने निर्धारित समय भन्दा ढिला सूची बुझाएका हुन् । आयोगले निर्धारण गरेको समयभित्र ३० दलले मात्रै सूची बुझाएका थिए ।

सबै भन्दा पहिलो समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची राष्ट्रिय यथार्थवादी पार्टी, नेपालले बुझाएको पनि आयोगले जनाएको छ । त्यसैगरी, दोस्रोमा नेपाल समाजवादी पार्टी (लोहियाबादी) ले उम्मेदवारको बन्द सूची बुझाएको थियो ।

दलहरुले समानुपातिकतर्फको उम्मेदवारको सूची बुझाउँदा कम्तिमा ५० प्रतिशत महिला हुनुपर्ने कानुनी व्यवस्था छ । प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन आचारसंहिता उलंघन नगर्न पनि सरकार र राजनीतिक दलहरुलाई पुनः आग्रह गरेका छन् ।

प्रत्येक दलले प्रदेश सभाका लागि २ सय २० र प्रतिनिधि सभाका लागि १ सय १० जना समानुपातिक तर्फको उम्मेदवारी दिनुपर्ने आयोगले जनाएको छ । आयोगले समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची सच्याउन कात्तिक १२ गतेसम्मको समय तोकेको छ । समानुपातिक उम्मेदवारको अन्तिम सूची आगामी मंसिर ३ गते प्रकाशित गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij