काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार नियुक्त गरेका चारजना मन्त्री र चारजना राज्यमन्त्रीको शपथ शनिबार कतिबेला हुने भन्ने अनिश्चित भएको छ । बिहान ११ बजे शपथ ग्रहण गर्नेगरी प्रधानमन्त्री कार्यालयले शुक्रबार नै पत्र पठाए पनि राष्ट्रपति कार्यालयले शपथ केही ढिलो गर्ने तयारी गरेको छ ।
निर्वाचन आचारसंहिता जारी भइसकेपछि प्रधानमन्त्रीले मन्त्रीपरिषद विस्तार गर्ने निर्णय गरेकोमा निर्वाचन आयोग असन्तुष्ट रहेकाले आयोगसँग छलफल गरेर मात्र शपथ ग्रहणको समय तय गर्ने राष्ट्रपति कार्यालयले तयारी गरेको हो । राष्ट्रपति कार्यालयको उच्च श्रोतका अनुसार शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसँग भेट गर्दै हुनुहुन्छ ।
उहाँसँगको भेटपछि मात्र शपथको समय तय हुनेछ । ‘कार्यकारी प्रधानमन्त्रीले थपेका मन्त्रीलाई शपथ नगराउने कुरा राष्ट्रपतिले सोच्नै नसक्ने कुरा हो’ श्रोतले भन्यो ‘तर यसबारेमा प्रमुख निर्वाचन आयुक्तले परामर्श गर्न चाहेकाले भेटपछि मात्र समय तय हुनेछ ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राप्रपाका चारजना मन्त्री र चारजना राज्यमन्त्री थप्दै मन्त्रीपरिषद बिस्तार गर्ने निर्णय गर्नुभएको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij