२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

बुसान फिल्म फेस्टिभलमा ‘गुडबाई काठमाडौं’

बुसान फिल्म फेस्टिभलमा ‘गुडबाई काठमाडौं’

काठमाडौं । नेपाली चलचित्र गुडबाई काठमाडौं फिल्म दक्षिण एसियाकै प्रतिष्ठित फिल्म फेस्टिभल बुसानका लागि छनोट भएको छ । लामो समयदेखि निर्माणमा रहेको फिल्म ‘गुडबाई काठमाडौं’ सो फेस्टिभलबाट प्रदर्शनमा आउन लागेको हो ।

निर्माण सुरु भएको करिब ७ वर्षपछि प्रदर्शनका लागि तयार भएको फिल्म निर्माण पक्षले जनाएको छ । फिल्मलाई नवीन सुब्बाले निर्देशन गरेका हुन् । यो फिल्मको प्रदर्शनको सुरुवात सो महोत्सवमार्फत कोरियाबाट हुने भएको छ ।

फिल्ममा कर्मा, सुवर्ण थापा, निखिल गुरुङ, माल्विका सुब्बा, माला लिम्बू आदि कलाकारको अभिनय रहेको छ । राजेश गोङजु र शोभा चन्दको पटकथा रहेको फिल्मलाई शोभा चन्दले नै सम्पादन गरेकी हुन् । फिल्ममा सोहम ढकाल र पदम सुब्बाको लगानी रहेको छ ।

बुसान फिल्म फेस्टिभलमा छनोट भएको यो चलचित्र सोही फेस्टिभलका दिवंगत निर्देशकको नाममा स्थापित जिमजिसिओके अवार्डका लागि प्रतिस्पर्धामा रहेको यसका निर्देशक नवीन सुब्बाले जानकारी गराए । ‘विन्डो अन एसियन सिनेमा’ शीर्षकअन्तर्गत रहेको प्रतिस्पर्धामा भारत, चीन, जापान, थाइल्यान्ड, अफगानिस्तान, फिलिपिन्सलगायत देशका फिल्महरू सहभागी रहेका छन् । प्रतिस्पर्धामा विजेता बन्ने फिल्मले १० हजार डलरबराबरको पुरस्कार जित्नेछ । निर्देशक सुब्बाका अनुसार सो अवार्डका लागि एसियाबाट ५६ वटा फिल्म प्रतिस्पर्धामा रहेका छन् ।

आउँदो शुक्रबार यो चलचित्र बुसानमा वल्र्ड प्रिमियर हुँदै छ । निर्देशक नवीन सुब्बा बिहीबार फिल्मको वल्र्ड प्रिमियरका लागि कोरिया उड्दै छन् । उनले विश्वका केही प्रतिष्ठित अवार्डमा सहभागिता जनाइसकेपछि मात्र फिल्मको प्रदर्शन मिति तय गर्ने जानकारी दिएका छन् ।

फिल्म र सो महोत्सवबारे निर्देशक सुब्बाले भने, ‘बुसानबाहेक अन्य थुप्रै फेस्टिभलमा फिल्म पठाएका छौं । थुप्रै राम्रा फेस्टिभलले चासो देखाइरहेका छन् तर फाइनल भइसकेको छैन । व्यक्तिगत रूपमा भने बुसानमा फिल्मले कस्तो प्रतिक्रिया पाउँछ सोहीअनुसार बाँकी फेस्टिभल र नेपाल प्रदर्शनको पनि रणनीति बनाउने छौं ।’

एक दशकअघि देशमा विद्यमान जनयुद्धको पृष्ठभूमिमा यो चलचित्र निर्माण भएको हो । जसमा फरक फरक सपना बाँचेका तीन युवाको कथालाई समेटिएको छ । फिल्मले राजनीतिक द्वन्द्वका कारण युवाहरू कसरी आफ्ना सपना त्यागेर पलायन हुन बाध्य भए, त्यसको यथार्थ उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij