पोखरा । नेकपा (क्रान्तिकारी माओवादी) को पहिलो राष्ट्रिय सम्मेलन आजबाट पोखरामा सुरु हुने भएको छ ।
सम्मेलनको क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले उदघाटन गर्ने कार्यक्रम छ ।
‘साम्राज्यवाद, विस्तारवाद र सामन्तवादका विरुद्ध नयाँ जनवादी क्रान्तिको तयारी गरौं ! दक्षिणपन्थी संशोधनवादको भण्डाफोर गर्दैै नयाँ एकतावद्ध र क्रान्तिकारी पार्टीको निर्माण गर्न ऐतिहासिक राष्ट्रिय सम्मेलन सफल पारौं !’ भन्ने मूल नारासहित सुरु भएको सम्मेलनले परिवर्तित राजनीतिक अवस्थाबारेमा आफ्नो पार्टीको धाराणासमेत तय गर्नेछ ।
सम्मेलनले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि फौजी कार्यदिशासहितको पार्टीको आगामी रणनीति तय गर्ने पार्टी प्रवक्ता हरिभक्त कँडेल ‘प्रतिक’ ले जानकारी दिए ।
नेपालमा जनयुद्धको नेतृत्व गरेका प्रचण्ड–बाबुरामले धोका दिएर प्रतिक्रियावादी कित्तामा पुगेपछि नयाँ जनवादी क्रान्ति पूरा गर्ने जिम्मेवारी आफूहरुको भएकाले अब क्रान्ति पूरा गर्नका लागि फौजी हस्तक्षेपसहितको कार्यनीति तय गर्न लागेको प्रवक्ता कँडेलले जानकारी दिए ।
वि.सं. २०७२ सालमा परि थापा नेतृत्वको नेकपा (एकीकृत) सँग पार्टी एकतापछि बनेको क्रान्तिकारी माओवादीको यो पहिलो राष्ट्रिय सम्मेलन हो । सम्मेलनमा केन्द्रीय समितिद्वारा पारित पार्टी अध्यक्ष मोहन वैद्य ‘किरण’ को पार्टीको रणनीति, कार्यनीति, कार्यक्रम र कार्यदिशासहितको राजनीतिक प्रतिवेदन छलफलपछि पारित गर्नेछ ।
राष्ट्रिय सम्मेलनमा देशभरीबाट आयोजक
सहित ४ सय प्रतिनिधि र ५० पर्यवेक्षकको सहभागिता रहने पार्टी प्रवक्ता कँडेलले जानकारी दिए । मध्याह्न १२ बजेदेखि राष्ट्रिय सम्मेलनको औपचारिक उद्घाटन सुरु हुनुअघि केन्द्रीय समितिको बैठक बसिरहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij